लाहोर उपनिर्वाचनमा पाकिस्तानीको उल्लेखनीय सहभागिता

0 Shares

पाकिस्तान, १ असोज । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफमाथि परिवारको समुद्रपार व्यवसायमा सम्लग्नता भएको कारण अयोग्य ठहर गर्दै पाकिस्तानी अदालतले फैसला सुनाएपछि खाली हुन आएको लाहोरको एनए–१२० सीटमा आइतबार भएको उपनिर्वाचनमा उल्लेख्य सहभागिता भएको छ ।

उक्त निर्वाचन क्षेत्रमा पूर्व प्रधानमन्त्री शरीफका धर्मपत्नीसहित ४४ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । शरीफलाई अदालतले अयोग्य ठहर गरेपनि पाकिस्तानी जनताको नजरमा शरीफ प्रिय रहेको प्रमाणित गर्ने उद्देश्यले पूर्व प्रधानमन्त्रीले आफ्नै परिवारबाट उम्मेदवारी दिनुभएको पाकिस्तानी राजनैतिक विश्लेषकले जनाएका छन् ।

शरीफको राम्रो पकड रहेको भनिने उक्त निर्वाचन क्षेत्रमा क्रिकेट खेलबाट राजनीतिमा प्रवेश गरेका इमरान खानको दल तेहरीक आई इन्साफका यसमिन रशिद पनि प्रतिस्पर्धामा रहेका छन् । मिल्ली मुश्लिम लिगका शेख याकुव तथा हफिद् सइदले नेतृत्व गरेको जमात उत दावा पनि निर्वाचन प्रक्रियामा सहभागी रहेका छन् ।

निर्वाचन विहान ८ बजे शुरु भै साँझ ५ बजेसम्म शान्तिपूर्वक रूपमा नै मतदान भएको पाकिस्तानी अधिकारीले जनाएका छन् ।

निर्वाचनका क्रममा केही केन्द्रमा सामान्य विवाद देखिएपनि सवै केन्द्रमा निर्वाचनसम्पन्न भएको पाकिस्तानी अधिकारीले जनाएका छन् । मतदान सकिए लगत्तै मतगणनाको तयारी भएको र केहीबेरमा मतगणना प्रक्रिया अघि बढाइने अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार