निस्दी गाउँपालिकाको बजेट ३७ करोड

0 Shares

रामपुर पाल्पा, ३ असोज । निस्दी गाउँपालिकाको प्रथम गाउँसभाले आर्थिक वर्ष ०७४÷०७५ को बजेट सार्वजनिक गरेको छ । गाउँसभाले गाउँपालिकाका लागि ३६ करोड ९५ लाख ६७ हजार ७४३ बराबरको बजेट स्वीकृत गरेको हो ।
कुल बजेटमध्ये गाउँपालिकाले नेपाल सरकारबाट निःशर्त अनुदानबाट १७ करोड ९९ लाख ६१ हजार, सशर्त अनुदानबाट १४ करोड ८८ लाख ९७ हजार, गत वर्षको वडाको मौज्दातबाट ७४ लाख ३२ हजार ६३, आन्तरिक राजस्वबाट १५ लाख र सामाजिक सुरक्षाअन्तर्गत तीन करोड १७ लाख ७७ हजार ६८० गरी रकम जुटाउने लक्ष्य राखेको छ ।
गाउँपालिकामा कृषिको सम्भावना रहेकाले जनतालाई कृषिमा आत्मनिर्भर बनाई आयआर्जन बढाउन बाली विकास कार्यक्रम, माटो सुधार कार्यक्रम, वीजवृद्धि, फलफूल विकास कार्यक्रमलगायतका कार्यक्रम सञ्चालनको गाउँपालिकाले एक करोड १६ लाख ९२ हजार विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए । पूर्वाधार निर्माणअन्तर्गत सडक निर्माण र स्तरोन्नतिका लागि चार करोड ४९ लाख ९० हजार रकम विनियोजन गरिएको बताए ।
गाउँपालिकाले सिँचाइका लागि ५४ लाख २५ हजार, पुल पुलेसाको लागि ३५ हजार, विद्युत् विस्तारका लागि नौ लाख ५० हजार, भवन निर्माणमा ६० लाख पाँच हजार, कार्यालय व्यवस्थापनमा ६६ लाख ६० हजार विनियोजन गरेका छ ।
यसैगरी, पर्यटन विकासको लागि १० लाख, सहकारी विकासको लागि ११ लाख ५० हजार, पशु विकासका लागि ४८ लाख ५५ हजार ११७, लक्षित वर्गका लागि ७६ लाख ५० हजार, खानेपानीको लागि ८९ लाख ९० हजार, शिक्षाको लागि ६५ लाख र स्वास्थ्यको लागि ४० लाख विनियोजन गरेको पनि गाउँपालिकाका अधिकृत कल्पना अर्यालले जानकारी दिए ।
गाउँपालिकाका प्रवक्ता मेखबहादुर सुनारीले गाउँपालिकाले सडक निर्माणतर्फ वडा कार्यालय र गाउँपालिका केन्द्र जोड्ने सडक विस्तार तथा स्तरोन्नतिलाई प्राथमिकता दिएको बताए । गाउँपालिकाका सबै वडासम्म सडक सञ्जाल विस्तार गर्ने रणनीति लिएको पनि बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार