ओखलढुंगा, २५ भदौ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा जन्तरखानी गाविसमा भूकम्प पीडितका सवाल र सरोकारवाला निकायले प्रवाह गरेको सेवा विषयक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । जन्तरखानी गाविसका सचिव लालबहादुर सुनुवारको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा भुकम्प पीडितहरुले गाविसमा दर्ता गराएका गुनासा सुनुवाइ गर्न जिल्ला स्तरीय गुनासा सुनुवाइ समितिमा पठाउने निणय गर्दै तत्काल कार्यन्वयन गर्ने प्रतिबद्धता सरोकारवाला निकायले गरेका छन् ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधी, वडा नागरिक मञ्च, महिला समुह, नागरिक सचेतना केन्द्र, पुनः निर्माण प्राधिकरणका इन्जिनियर र जन्तरखानी गाविसका भुकम्प पीडितहरुको उपस्थिति रहेको थियो । भुकम्प पीडितहरुले राखेका सवालका विषयमा गाविस सचिव सुनुवार, प्राविधिक सहायक इद्ध मगर, पुनः निर्माण प्राधिकरणका इन्जिनियर विकास सिंह लगायतले जवाफ दिएका थिए । कार्यक्रममा गाविस सचिव सुनुवारले गाविसको आर्थिक वर्ष ०७२÷०७३ को गाविसको आम्दानी तथा खर्चको विवरण सार्वजनिक समेत गरेका थिए ।
भुकम्प पीडितहरुले निर्माण गरिसकेका घरको अनुगमन गरि प्राविधिकहरुले अनुदानका लागि सिफारिस गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । पुनः निर्माण प्राधिकरणका इन्जिनियर विकास सिंहले निमार्ण भएका र निर्माणाधीन घरहरुको अनुगमन गरि आवश्यक सहयोग गर्ने बताए ।
जन्तरखानी गाविसका २ सय ७९ लाभग्राही मध्ये २ सय १३ परिवारको खातामा पहिलो किस्ताको रकम निकासा भइसकेको र बाँकी परिवारको प्राविधिक समस्याले रोकिएकाले समाधान गर्ने काम भइरहेको गाविसले जनाएको छ ।
भुकम्प पीडितका सवालमा इन्सेकको सार्वजनिक सुनुवाइ
7
Shares