राजविराज, २५ भदौ । सप्तरीको हनुमानगर योगिनी माई नगरपालिका– ६ मा शुक्रबारदेखि पशुहाट सुरु भएको छ ।
नगरपालिकाले आयोजना गरेको पशुहाटमा पहिलो दिन विभिन्न क्षेत्रबाट करिब एक हजार ५०० गाई, गोरु, भँैसी र बाच्छाबाच्छी हाटमा खरिद बिक्रीका लागि आएको नगरपालिका पशुहटिया संयोजक हेमन्त जैनले जानकारी दिनुभयो ।
सप्तरीको पुरानो सदरमुकाम समेत रहेको हनुमानगर योगिनी माई नगरपालिका– ६ मा करिब १५ कठ्ठाको क्षेत्रफलमा पशुहाट सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
सो पशुहाटमा सप्तरी, सुनसरी र नेपाल–भारत सीमा क्षेत्रका मधुवानी, सुपोल र अररिया जिल्लाका पशु व्यवसायी खरिद बिक्रीको लागि आउने अनुमान गरिएको छ ।
महसुल नतिर्नेको विद्युत काटियो
यसैगरी लामो समयदेखि विद्युत् महसुल नतिर्ने ८९ ग्राहकको विद्युत् लाइन काटिएको विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र राजविराजले जनाएको छ ।
लाइन काटिएकालाई कानुन बमोजिम कारबाही प्रक्रिया समेत अगाडि बढाइएको केन्द्रका प्रमुख रामउद्गार साहले बताउनुभयो । साथै कारबाहीमा परेका २४ ग्राहकबाट रु १२ लाख २६ हजार असुलसमेत गरिएको बताइएको छ ।
त्यस्तै सप्तरीमा रु २४ करोड ४७ लाख भन्दा बढी विद्युत् महसुल बक्यौता रहेको र करिब ६० प्रतिशत विद्युत् चुहावट समेत भइरहेकाले त्यसलाई सुधार गर्नका लागि विशेष अभियान सुरु गरिएको कार्यालयका प्रमुख साहले जानकारी दिनुभयो ।