म्याग्दी, २७ भदौ । म्याग्दीको बाबियाचौर–५ मा करिब डेढ करोडको लागतमा खानेपानी आयोजना निर्माण भएको छ ।
खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयमार्फत एक करोड ३५ लाख १५ हजारको लागतमा बाबियाचौर खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको हो ।
सरकारको रु ९६ लाख ८९ हजार अनुदान र उपभोक्ताको ३८ लाख २६ हजार बराबरको श्रमदानमा निर्माण भएको खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयले जनाएको छ ।
तीव्र रुपमा बस्ती र बजार विस्तार भइरहेको बाबियाचौरमा यसअघि सार्वजनिक धारामा लाइन बस्नुपर्ने, पाइपमार्फत घरमा पानी लैजाने गर्दा मर्मत सम्भारमा कठिनाइ हुनुका साथै स्थानीयवासीलाई दुःख र असुविधा थियो ।
“मुहानमा निजी पाइप जोडेर पानी ल्याउन समेत रातिसम्म पालो कुर्नेपर्ने समस्या थियो” स्थानीयवासी यामुना पाण्डेले भने “घर घरमा जडान भएको धारामा पर्याप्त पानी आउन थालेपछि धेरै सहज भएको छ ।”
सल्यान र भाइवाङको मुहानबाट ल्याएको पानी ५० हजार लिटर क्षमताको मुख्य ट्याङ्कीमा सङ्कलन र प्रशोधन गरी वितरण गरिएको छ । न्यूनतम आठदेखि दश हजार लिटर पानी उपभोग गरेबापत रु १०० का दरले शुल्क निर्धारण गरिएको छ ।
घरघरमा धारा जडान भएपछि समयको बचत, सुविधा र व्यवस्थापन तथा आयोजनाको दिगो सञ्चालनमा सहयोग पुगेको छ । आर्थिक वर्ष २०७१७२ मा सुरु भएको आयोजना अनुमानितभन्दा कम खर्च र एक वर्ष अघिनै सम्पन्न भएको हो ।
२०७४ असारमा सम्पन्न गर्ने सम्झौता भए पनि उपभोक्ताको सक्रियताका कारण गत असारमै सञ्चालनमा आएको खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयका प्रमुख इन्जिनियर शेखरचन्द्र केसीले बताए ।
आयोजनाको रु एक करोड ५३ लाख सात हजार लागत अनुमान गरिएको थियो । ठेक्कामार्फत काम गर्दा कर, ठेकेदारको मुनाफा र प्रशासनिक खर्चबापत हुने राज्यको लगानी उपभोक्ताबाट काम गर्दा बचत भएको हो ।