नियमसंगत तिङलालाई नगरपालिकामा गाभिएको छ : संयोजक कार्की

Facebook Debugger

नेपालको नयाँ संविधान जारी भएपछि संविधानको कार्यान्वयन गर्नको लागि ३ वटा निर्वाचन सम्पन्न भैसकेका छन् । स्थानीय तहको नाम, केन्द्र र भुगोलको विषयमा देशव्यापी विभिन्न स्थानीय तहमा आन्दोल र विरोध भए । कतिपय क्षेत्रमा निर्वाचन नै बहिस्कार भयो । जसमा सबैभन्द बढी चर्चा पाएको थियो सोलुखुम्बु जिल्लाको साविकको तिङला गाविसले ।

स्थानीय तह, प्रदेशसभा र प्रतिनिधीसभाको निर्वाचनमा समेत ‘नो भोट’ गरेका तिङलाबासीको माग अन्ततः सम्बोधन भएको छ । कामचलाउ सरकारले नै भए पनि उनीहरुको माग पूरा गरेको छ । करिब एक वर्ष अघिदेखि गाउँपालिकाको केन्द्र अपायक परेको भन्दै आन्दोलनमा उत्रिएका तिङलाबासीले विभिन्न समस्याको डटेर सामना गरे । अन्ततः उनीहरुको जित भएको छ । संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका उनीहरुको आन्दोलनलाई विफल बनाउनको लागि संघर्ष समितिका संयोजक लगायत अन्य सदस्यहरुलाई अपहरणको मुद्धामा हिरासतमा समेत राखियो । तर आन्दोलन सकिनुको सट्टा झन सशक्त बन्दै गयो । स्थानीय तहको निर्वाचनपछि संयोजक सहित सबै जना हिरासत मुत्त भए ।
साविकको तिङला गाविसलाई सोलुदुधकुण्डमा समायोजन गर्ने सरकारको निर्णयपछि तिङलाबासीमा खुशीयाली छाएको छ । भोट हालेर आन्दोलनमा लागेको भन्दा भोटै नहाली आन्दोलन गरिरहेको तिङलाबासीको माग कसरी पूरा भयो ? यसैको सेरोफेरामा रहेर आन्दोलन संघर्ष समितिको संयोजक बालकुमार कार्कीसँग सगरमाथा अनलाईनको प्रधानसम्पादक बुद्धवीर बाहिङले गरेको कुराकानीको मुख्य अंश ।
भोट नहालेपनि तपाईहरुको जित भएको छ ? यसलाई कसरी लिनु भएको छ ?
हार र जीत भन्दा पनि हामीले न्याय प्राप्त गरेका छौं । के मानेमा न्याय प्राप्त गरेका छौं भने जुन हिसाबले हामीलाई प्रशासनिक सेवा निलनको लागि टाढा हुने गरी जुन गाउँपालिकामा लगेर गाभेको थियो र त्यसको केन्द्र नेचाबेतघारी तोकेको थियो । त्यत्तिखेरदेखि हाम्रो संघर्ष र आन्दोलन शुरु भयो । र हाम्रो संघर्ष के का लागि भन्दा न्यायका लागि हो । त्यसैले अहिले हामीले प्रशासनिक रुपमा न्याय प्राप्त गरेका छौं । तपाईले जुन प्रशङ्ग जोड्नु भएको छ । भोट नहाले पनि तपाईहरुको जित भयो भन्ने कुरा, मूलतः हामी निर्वाचन विरोधी होइनौं । हामीलाई मतदान गर्ने रहर थियो, तर मतदान गर्ने वातावरण सिर्जना गर्न सकेन राज्यले ।
भोट नहालेर ठीक गरेछौं जस्तो लागेको छ की भोट हालेरै आन्दोलन गरेको भए पनि हुने थियो भन्ने लागेको छ ?
हाम्रो कुरा क्लियर छ । हामी निर्वाचन विरोधी होइनौं । स्वभावैले नेपालको नागरिक भएको हैसियतले, नेपाली नागरिक भएको हैसियतले हामी मतदान गर्न उत्सुक पनि थियौं, इच्छुक पनि थियौं । तर दुर्भाग्यवस राज्यले त्यो वातावरण सिर्जना गर्न सकेन । नेपाल सरकारले तत्कालिन समयमा त्यो परिस्थितिको सिर्जना गर्न सकेन । त्यस कारणले हामीले हाम्रो एजेण्डालाई शसक्त्त बनाउन, हाम्रो एजेण्डालाई दरिलो ढंगले प्रस्तुत गर्न र हामी मुद्धाबाट कतिपनि बिचल्लित छैनौं है भन्ने र हाम्रो एकता देखाउनका निमित्त हामीले निर्वाचन बहिस्कार गरेका हौं ।
नेपालका धेरै गाउँपालिकामा तपाईहरुको जस्तै समस्या थियो, तर उनीहरु निर्वाचनमा सहभागी भएर पनि माग पूरा भएन नी ? यसलाई कसरी लिनु भएको छ ?
हाम्रो जस्तै मुद्धा भएको, हाम्रो जस्तै समस्या भएको धेरै ठाउँ छन् । उहाँहरु आफ्नो मुद्धामा अडिक रहन सक्नु भएन, आउने जनप्रतिनिधीहरुसँग प्रशस्त छलफल गर्न सक्नु भएन, त्यो उहाँहरुको कुरा भयो । र हाम्रै सन्दर्भमा के हो भने आउने जनप्रतिनिधीहरुलाई पनि भनेका थियौं । जुन जितेका सांसदहरुसँग हामीले भेटघाट ग¥यौं, हामी मूलतः निर्वाचन विरोधी होइनौं । राज्यले हाम्रो माग सम्बोधन गर्न सकेन । र हामीले हाम्रो मुद्धा सशक्त बनाउनका लागि नै निर्वाचन बहिस्कार गरेका हौं भनेर आफ्ना कुरा राखिउ । र मलाई लाग्छ, त्यही जगमा, त्यही आधारमा हाम्रो माग पूरा भएको हो ।
तपाईहरुको आन्दोलनमा स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका राजनैतिक दलका नेताहरुले सहयोग गर्नु भएको छ, उहाँहरुलाई के भन्नु हुन्छ ?
उहाँहरुले जुन जुन हिसाबले हामीलाई सहयोग गर्नु भएको छ । हामीप्रति सहानुभूति राख्नु भएको छ । हाम्रप्रति माया, ममता र स्नेह देखाउनु भएको छ । हिजो ज जसले सहयोग गर्नु भएको छ, माया गर्नु भएको छ । हामीप्रति सहानुभूति राख्नु भएको छ, स्नेह राख्नु भएको छ, उहाँहरुको सहयोग, उहाँहरुको गुण तिङ्लालीले कहिल्यै पनि बिर्सने छैन, र त्यो आवश्यका परेको बेला उहाँहरुलाई त्यो गुण हामी चुक्ता गर्छौं । उहाँहरुको त्यो गुण हामी फर्काउछौं ।
काम चलाउ सरकारले गरेको निर्णय गठबन्धनको सरकारले मान्यता दिन्छ ? तपाईलाई के लाग्छ ?
हामीले न्याय प्राप्तको लागि आन्दोलन गरेका हौं । कसैको पक्ष वा विपक्षमा आन्दोलन गरेका होइनौं । त्यसैले प्रक्रियाबद्ध ढंगको हाम्रो मागहरु छ, हाम्रो एजेण्डाहरु छ । कसरी प्रक्रियागत ढंगले आएको छ भने हामीलाई जुन गाउँपालिका र नेपाल सरकारले राखेको त्यो गाउँपालिकाले हामीलाई दुई तिहाई बहुमतले निर्णय गरेको छ । लिनेले पनि पनि सर्वसम्मत निर्णय गरेको छ । जिल्ला विकास समन्वय समितिले २०७३ साल मंसिर १० गतेको निर्णय पनि सोलुदुधकुण्ड नगरपालिका वडा नं. ८ कायम गरी पठाएको थियो तिङलालाई । पछि नेपाल सरकारले राजपत्रमा प्रकाशित गर्दा गलत भएको कारणले गर्दा नेचासल्यान गाउँपालिका भएको । र दुवै स्थानीय तहबाट सर्वसहमत सिफारिस भएर आइसकेपछि फेरी यसलाई सोलुदुधकुण्ड नगरपालिकाम लैजानु पर्छ भनेर सरकारले जुन सिफारिस ग¥र्यो । त्यही प्रक्रियाबाट आएको प्रक्रियागत ढंगले निर्णय भएको कुरा अब उल्टिन्छ भन्ने मलाई लाग्दैन । किन लाग्दैन भने संविधान बमोजिम हाम्रो निर्णय भएको छ । त्यही संविधानको धारा ५५ मा टेकेर संक्रमणकालिन व्यवस्थामा प्रदेश सरकार मन्त्रीपरिषद गठन नहुञ्जेल प्रदेश सरकारको अधिकार स्वतः केन्द्रीय सरकारले पाउने भन्ने प्रावधान भए बमोजिम हाम्रो निर्णय भएको छ । र यो उल्टिन सक्दैन, उल्टिदैन । र यो भोली स्पष्ट बाम गठबन्धनको सरकार आएपछि उल्टाउँछौं भन्ने जो कसैलाई हामी भन्न चाहन्छौं अब त्यस्तो हुँदैन । त्यो भयो भने उहाँहरुको लागि पनि दुर्भाग्य हुन्छ ।

आन्दोलनकै क्रममा हिरासतमा समेत बस्नु भयो ? अहिले तपाईहरुको पक्षमा निर्णय आएको छ ? त्यो बेलाको आन्दोलनको क्षण र अहिलेको निर्णय आउँदा कस्तो महशुस भएको छ ?
हाम्रो पक्षमा निर्णय भएको दिनलाई म जिन्दकीको सबैभन्दा खुशी भएको दिन ठानेको छु । किनभने म २०÷२२ वर्षको अल्लारे केटा, सामान्य भाषामा भन्दा त्यो लेबलबाट ५ हजार तिङलाबासीको नेतृत्व गर्ने जुन मलाई अवसर दिनु भयो । त्यहाँबाट आन्दोलनको नेतृत्व गर्दागर्दै एकाध व्यक्तिहरुले हामी माथि हिलो छ्याप्ने र हामी माथी दुर्घटना निम्त्यार हाम्रो आन्दोलनलाई कमजोर पार्ने कोशिस गर्नु भएको थियो । त्यसैको फलस्वरुप उहाँहरुले स्थानीय तहको निर्वाचनमा कसैलाई आलु, मुला किने झै फिक्स प्राइजमा मान्छे किनेर लैजाने कोशिस गर्नु भयो । त्यो मान्छेलाई हामीले अपहरण गरिउ भन्ने जुन आरोप छ, हामीले अपहरण गरेको होइन । त्यो मान्छेको इच्छा, चाहना र भावना नहुँदा नहुँदै जबरजस्ती लगियो । अपहरणको शैलीमा फिल्मी स्टाइलमा उसलाई लगियो । ऊ गयो । उसले हामीलाई भन्यो, मलाई यहाँबाट जसरी पनि मुक्त गर्नु प¥र्यो, भनेपछि हामीले त्यसलाई रेक्यूगरी उद्दार ग¥र्यौं । त्यही क्रममा उहाँले राज्यशक्तिको आडमा स्रोत, साधन, सम्पत्तीको पहुँचमा उहाले हामीमाथी जुन गलत आरोप लगाएर हिरासतसम्म बस्ने स्थिति सिर्जना गर्नु भयो । मैले कुनै अपराध र हामीसँग हिरासतमा बस्ने कुनै साथीहरुले कुनै जघन्य अपराध गरेका होइन । नागरिकका निम्ति संघर्ष गरेर, र त्यही संघर्षको क्रममा हामी हिरासतमा बसेको हो । म कत्ति पनि दुःखी छैन, किनभने संघर्ष गर्ने क्रममा हामीमाथी जे जस्ता समस्याहरु आएका थिए, ती सबै समस्यालाई भुलेर, ती सबै पिडालाई भुलेर अब सुन्दर, समृद्ध अहिलेको साविकको तिङला र सोलुदुधकुण्ड नगरपालिका बनाउनु पर्छ । त्यो अभियानमा सबै लाग्नु पर्छ भन्ने मलाई लाग्छ र म त्यो पिडाको रुपमा होइन, त्यसलाई पाठको रुपमा लिनु पर्छ भन्ने लागेको छ ।
स्वायत्त तिङला गाउँपालिका हुनु पर्छ भनेर आन्दोलनमा उत्रिनु भएको थियो ? तर सोलुदुधकुण्डमै तिङलालाई गाभे पनि हुन्छ भनेर विकल्पको रुपमा एजेण्डा सार्नु भयो ? अब तपाईहरुको आन्दोलन सकिएको हो की फेरी तिङला स्वायत्त गाउँपालिकाको लागि लड्नु हुन्छ ?
शुरुमा विषयवस्तु उठान गर्दै गर्दा मुद्धा एजेण्डा उठान गर्दै गर्दा र आन्दोलनको शुरुवात गर्दै गर्दा तिङला स्वायत्त गाउँपालिका संघर्ष समिति भनेर गठन गरियो र त्यो संघर्ष समितिको संयोजक म हो । र त्यही क्रममा हामीले आन्दोलन गर्दै गर्दा के भयो भन्नु हुन्छ भने हामीले आन्दोलन शुरु गरिउ, संविधानमा संरक्षित विशेष र स्वायत्त गाउँपालिका बनाइने भन्ने प्रावधान राखिएको थियो । र त्यो प्रावधानमा उहाँहरुले के भन्नु भयो भने यो विशेष संरक्षित र स्वायत्त भन्ने गाउँपालिका दिन सकिदैन । र दिने सम्भावना पनि छैन । यो धार्मिक, साँस्कृतिक, ऐतिहासिक क्षेत्रलाई हेरेर, त्यसलाई स्वायत्त क्षेत्र दिने । त्यसमा राज्यले केहि बजेट दिने । राज्यले केहि कार्यक्रम दिने । त्यो बाहेक प्रशासनिक अधिकार केहि पनि नहुँने भनेसकेपछि हामीले खोजेको प्रशासनिक अधिकार सहितको स्वायत्त गाउँपालिका खोजेको हो । हामीले प्रशासनिक अधिकार नपाइसकेपछि नेचासल्यान वडा नं. ६ भनेर सबै कामकाजको लागि नेचानै जानु पर्ने, र त्यसको स्वायत्त क्षेत्र लिन खोजेका होइनौं । ठीक छ त्यो हुन सक्दैन भने नजिकमा हुने स्थानीय तहमा समायोजन गर्नुस भन्नु भयो । त्यसैले हामीसँग नजिक रहेको भौगोलिक रुपले आर्थिक, सामाजिक, साँस्कृतिक हिसाबले सोलुदुधकुण्ड नगरपालिका भएकाले नगरपालिकालाई उपयुक्त ठानेका हौं ।
हिजो आन्दोलन गर्दैगर्दा राजनैतिक विचारभन्दा माथी उठेर एजेण्डामा प्रतिबद्ध भएर एक भएर लाग्नु भयो, अब राजनैतिक रुपमा एक भएर लाग्नु हुन्छ की आ आफ्नो राजनैतिक आस्थाका साथ जानुहुन्छ ?
हिजो आन्दोलन गर्दै गर्दा हाम्रो भित्रि इच्छा भनेको सबै एक ठाउँमा भएर जाऊ । एकताबद्ध भएर जाऊ । राजनैतिक सिद्धान्तका आधारमा राजनैतिक पार्टीका आधारमा दलगत आधारमा, कोही फरक पार्टीमा होला । र एजेण्डागत हिसाबले विकास र समृद्धिका लागि परिवर्तन र न्यायका लागि हामी सबै एक ठाउँमा उभियौं । एक ठाउँमा बस्यौं । र त्यसलाई दलीय हिसबामा प्रस्तुत गर्दा दलीय हिसाबमा जाऊ । होइन भने सामाजिक रुपमा एक ठाउँमा उभियौं । हाम्रो हिजो पनि त्यही हो । सामाजिक रुपमा हामी एक ठाउँ उभियौं । दलीय हिसाबले त्यो भित्र आ आफ्नो दलको प्रतिनिधित्व हुन्थ्यो । र भोली पनि हामी त्यही ढंगले जान्छौं । दलीय हिसाबले कोही एउटा पार्टीको होला, कोहि अर्को पार्टीको होला । पार्टी फरक होला तर सामाजिक हिसाबले हामी एक ठाउँमा उभिन्छौं । अबको बाँकी समय पनि सामाजिक रुपमा एक ठाउँ उभिएर त्यसलाई न्याय र समृद्धिका हिसाबले, विकास र परिवर्तनका हिसाबले त्यसलाई हामी एक ठाउँ लिएर जान्छौं ।

Published On:  1492पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार