एकीकृत घुम्ती शिविरमा पन्ध्र सय बढीलाई सेवा

0 Shares

फलेवास (पर्वत), २८ भदौ । सेवाप्रदायक कार्यालयबाट प्रवाह हुने सेवा सुविधा नागरिकलाई स्थानीयस्तरमै उपलब्ध गराउने उद्देश्यले आयोजित एकीकृत घुम्ती शिविरमा एक हजार ५०० भन्दा बढीले सेवा लिएका छन् ।

सदरमुकामसम्म आएर सेवा लिन नसकेका जिल्लाका छवटा गाविसलाई लक्षित गरी सोमबार थापाठाना गाविसमा सञ्चालन भएको शिविरमा एक हजार ५०० भन्दा बढीले सेवा लिएका हुन् ।

जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण, जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको नामावली सङ्कलन, महिला तथा बालबालिका कार्यालयबाट अपाङ्गता परिचयपत्र र ज्येष्ठ नागरिक परिचयपत्र वितरण त्यसैगरी निःशुल्क स्वास्थ्य शिविर, बिरुवा वितरण, बीउबिजन वितरणलगायतका सेवा नागरिकलाई प्रवाह गरिएको थियो ।

शिविरमा १३६ जनाले नागरिकता लिएका छन् भने अपाङ्ग परिचयपत्र २३ र ज्येष्ठ नागरिक ८५ जनाले लिएका छन् । सोमबारबाटै पहिलोपटक जिल्लामा ज्येष्ठ नागरिक परिचयपत्र वितरण गर्न सुरु गरिएको हो ।

त्यसैगरी पशु स्वास्थ्य शिविरमा १९८, निःशुल्क स्वास्थ्य शिविरमा १६५ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । त्यस्तै जिल्ला कृषि विकास कार्यालयबाट ४१० जना कृषकलाई बीउबिजन वितरण र कृषिसम्बन्धी समस्याको परामर्श, खानेपानीबाट १५ जना र जिल्ला आयुर्वेद औषधालयद्वारा सञ्चालन गरिएको शिविरमा ३२५ जनाले सेवा लिएको राष्ट्रिय अनसुन्धान अधिकृत विष्णु पण्डितले जानकारी दिनुभयो ।

त्यसैगरी जिल्ला भू–संरक्षण कार्यालय, जिल्ला वन कार्यालय, मालपोत, नापीलगायतका कार्यालयबाट पनि बिरुवा वितरणलगायतका अन्य सेवा प्रवाह भएका थिए ।

सदरमुकामसम्म पुगेर सेवा लिन नसक्ने अपाङ्ग, असहाय, गरिब जनताको आवश्यकतालाई लक्षित गरी शिविर आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिनुभयो । उहाँका अनुसार वार्षिक कार्यक्रमअन्तर्र्गत यस वर्षको पहिलो घुम्ती शिविर थापाठानामा गरिएको हो । उक्त शिविरबाट जिल्लाको थापाठाना, शङ्करपोखरी, भँगरा, कार्कीनेटा, ठूलीपोखरी र खौलालाकुरीका बासिन्दा लाभान्वित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार