‘प्रदेशको नाम सगरमाथा उपयुक्त’ : प्रमुख सचेतक राजभण्डारी

Facebook Debugger

सोलुखुम्बुबाट प्रदेशसभा सदस्य निर्वाचित बुद्धिकुमार राजभण्डारी एमाले संसदीय दलको प्रमुख सचेतक चयन भएका छन् । व्यवस्थापनमा स्नातक उनले २०३८ मा अखिल छैठौंबाट राजनीतिक यात्रा सुरु गरेका थिए ।
२०४० मा नेपाल कम्युनिस्ट पार्टीको चौथो अधिवेशनबाट जिल्ला सचिव निर्वाचित उनी २०४७ मा जनमोर्चाको जिल्ला सचिव भए । जनमोर्चाबाट २०४९ मा तत्कालीन सल्लेरी गाविसको वडाअध्यक्ष निर्वाचित राजभण्डारी २०५१ मा एमाले प्रवेश गरेका थिए । प्रदेशको विकास, अन्य दलसँग समन्वयलगायत विषयमा राजभण्डारीसँग लीलाबल्लभ घिमिरे र देवनारायण साहले गरेको कुराकानी ।
सगरमाथा भएको जिल्लाबाट प्रतिनिधित्व गर्दा कस्तो अनुभूति भएको छ ?
गर्व महसुस भएको छ । सगरमाथा भएको जिल्लाबाट प्रतिनिधित्व गर्दा जनताको हितमा त्यतिकै उच्च दृष्टिकोण लिएर काम गर्न प्रेरित भइएको छ । विश्वको अग्लो ठाउँ सोलुका जनताले पनि मलाई उच्च दृष्टिकोणसाथ जनताका पक्षमा काम गर्न निर्देश गरिरहेका छन् ।

संसदमा अन्य दलसँग कसरी समन्वय गर्नुहुन्छ ?
सबै दलसँग समन्वय गरेर सहमति र सहकार्यमा काम गर्छौं । सदनमा अत्यन्तै सदभावपूर्ण वातावरणमा अघि बढ्ने भूमिका निर्वाह गर्छु । दुई तिहाइ बहुमतलाई जनताको अपेक्षा पूरा गर्न उपयोग गर्छौं । दलको बैठकले दिएको निर्णयअनुसार सबैसँग सहकार्य गरेर अगाडि बढ्ने छौं ।
सोलुखुम्बुबाट आउँदा प्रदेशको भौगोलिक अवस्थालाई कसरी हेर्नु भएको छ ?
सोलुखुम्बुबाट विराटनगरसम्मको भौगोलिक अवस्था निकै फरक छ । संसारको सबभन्दा अग्लो ठाउँबाट यहाँ आउँदा कठिनाइ महसुस हुनु स्वाभाविकै हो । हिमाली जिल्लाको चिसोबाट यहाँको गर्मी र धूलो उड्ने ठाउँमा गाह्रो हुन्छ । अहिले अस्थायी प्रदेश राजधानी विराटनगर छ र स्थायी राजधानीका रूपमा अन्त कतै सारिए पनि इटहरीभन्दा माथि जाने अवस्था नभएकाले यहींको वातावरणमा मिलेर बस्नुको विकल्प छैन ।
प्रदेशको केन्द्रसँग जोडिन सोलुखुम्बुलाई कत्तिकोसहज छ ?
फाप्लु र लुक्ला–विराटनगर हवाई यातायात सुरु भएपछि एक हिसाबले नजिकै अनुभव हुनेछ । अब संघीय संरचनामा सडक यातायातबाट सोलुखुम्बुलाई यहाँसँग जोड्न सके खासै टाढा रहँदैन । बाटो नभएर र हवाईजहाज नचलेर कतिपय जिल्ला टाढा भएका हुन् । त्यसैले अब चाँडोभन्दा चाँडो हिमाल–पहाड–तराईका जिल्लाहरू सडक सञ्जालमा जोड्नतिर ध्यान केन्द्रित हुनुपर्छ । यति भएपछि हिमाल–पहाड–तराईबासीलाई संघीयताको साँचो रूपमा महसुस हुने छ । विराटनगर विमानस्थलबाट प्रत्येक जिल्लामा हवाई सेवा सञ्चालन गर्नुपर्छ ।
भारत–चीन जोड्ने सडकहरू कहिलेसम्ममा बनिसक्छ ?
प्रदेश र संघीय सरकारले काम गर्न थालेपछि २र३ वर्षमा सडकहरू निर्माण हुन्छ । सिरहाको माडर–मिर्चैया–कटारी–हलेसी महादेव हुँदै सुनकोशीको तिरैतिर चीनसँग र रानीदेखि किमाथांका सडकले भारत र चीन जोड्नेछ । नाम्चेको नाङपालादेखि सुरुङ मार्गमार्फत चीनको तिब्बत जोड्न सक्यौं भने त्यसको लाभ तत्काल लिन सकिन्छ । यसले हिमाल–पहाड–तराईलाई पनि जोड्न मद्दत पुग्छ ।
प्रदेश समृद्धिमा हिमाली क्षेत्रको उपयोग कसरीगर्न सकिन्छ ?
सोलुखुम्बुमा मात्रै वर्षेनी ७ लाख पर्यटक भित्रन्छन् । थ्रि स्टार होटलहरू खुलेका छन् । हजारौंले रोजगारी पाएका छन् । अबको ५ वर्षमा ७ लाख पर्यटकको संख्यालाई ७० लाख र्पुयाउन सक्ने प्रदेश सरकारको लक्ष्य हुनुपर्छ । त्यसका लागि सडक बाटो निर्माण गर्नुको विकल्प छैन । सडक सञ्जाल निर्माण गर्न सक्यौं भने पर्यटन व्यवसायले यो प्रदेश मात्रै होइन देश नै समृद्ध हुने दुई मत छैन । त्यसैले प्रदेश सरकारले ५ वर्ष्भित्रमा हिमाल–पहाड–तराई मधेसलाई सडक सञ्जालमा जोड्ने योजना प्राथमिकताका साथ ल्याएर कार्यान्वयनमा लग्नुपर्छ । अनि समृद्धि सहज हुन्छ ।
प्रदेशको स्थायी राजधानी र नामकरणबारे तपाईंको दृष्टिकोण के छ ?
विश्वको सर्वोच्च सिखर सगरमाथा भएको जिल्लाबाट प्रतिनिधित्व गरिरहेको र सगरमाथा शब्दलाई कुनै भाषा, धर्म, जात, क्षेत्रलाई छुँदैन किनकि सगरमाथाको देश भनेर नेपाललाई नै विश्वमा चिनिरहेको छ । त्यसैले यस प्रदेशको नाम सगरमाथा प्रदेश नै राख्नु उचित हुन्छ । प्रदेश राजधानीको विषयमा छलफल भइरहेको छ । विराटनगर, इटहरी र धनकुटालाई समेटेर लग्नुपर्छ जस्तो पनि लाग्छ ।
साभार : ईकान्तिपुर

Published On:  2785पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार