व्यवस्थापिका–संसद् शून्य समय

0 Shares

काठमाडौँ, २९ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको सफलताको कामना गर्दै विभिन्न जिल्ला अस्पतालमा चिकित्सक र औषधिको व्यवस्था तथा भूकम्पपीडितको आवासको लागि अनुदान रकम वितरण कार्यलाई तीव्रता दिन माग गर्नुभएको छ ।

शून्य समयमा पहिलो वक्ताको रुपमा सांसद बलराम अधिकारीले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा राष्ट्रको आवश्यकता र जनताको भावनाअनुरुप आफ्ना समकक्षीसँग कुरा राख्न सुझाव दिँदै रासायनिक मल सबै नाकाबाट नेपाल भित्र्याउन सकिने व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद भक्तबहादुर विश्वकर्माले परराष्ट्र मन्त्रालयले विदेशस्थित आफ्ना कुटनीतिक नियोगको नाम राख्दा ‘नेप्लिज’को साटो नेपाली राख्ने कार्य राम्रो भएको भनी प्रशंसा गर्दै सगरमाथाको नाम पनि जुनसुकै भाषामा सगरमाथा नै राख्न सरकारलाई सुझाव दिनुभयो ।

सांसद भरतकुमार शाहले प्रधानमन्त्रीको भारत भ्रमणको सफलताको कामना गर्दै आगामी दसैँमा सहरबाट आफ्नो स्थायी घर जान चाहने सर्वसाधारणका लागि यातायातको राम्रो प्रबन्ध मिलाउन सुझाव दिनुभयो ।
‘‘भारतका विभिन्न स्थानमा रोजगारी गरेर दसैँको छुट्टिमा नेपाल आउँदा सीमा नाकामा भारतीय सीमा सुरक्षा बलले दुःख दिने घटना प्रत्येक वर्ष हुने भएकाले प्रधानमन्त्रीले भारत भ्रमणमा रहँदा यो विषयलाई प्राथमिकताका साथ उठाउनुपर्छ’’ उहाँले भन्नुभयो ।

सांसद भवानी खापुङले तेह्रथुमको हेल्थपोस्टमा आवश्यक दरबन्दी र औषधिको व्यवस्था गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अर्का सांसद भेषकुमारी रावल भट्टराईले उपदपुरको कटारी र गाईघाट अस्पताल व्यवस्थित गर्न माग गर्नुभयो ।

सांसद भुटनीदेवी खवासले महिला स्वयम्सेविका कार्यबोझका कारण धेरै नै मारमा परेको हुँदा उनीहरुलाई सुविधा थप्न र सङ्ख्या बढाउन माग गर्नुभयो ।

सांसद ममतादेवी गिरीले सुदूरपश्चिम क्षेत्रका सीमा नजिकका गाउँमा भारतीय सीमा सुरक्षा बल र भारतीय नागरिक नेपाली बस्तीमा पसेर अत्याचार गर्दै आएको हँुदा त्यस्ता घटनालाई रोक्न सरकार चनाखो हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

सासद मीठू मल्लले प्रधानमन्त्रीको भारत भ्रमणको सफलताको कामना गर्नुका साथै रुकुम जिल्ला अस्पतालमा विशेषज्ञ महिला चिकित्सक र औषधिको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद यज्ञराज सुनुवारले भूकम्प पीडितलाई आवास सुविधा दिने कामलाई तीव्र तुल्याउन सुझाव दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार