काठमाडौँ, २९ भदौ । नेपालको राजनीतिक विकास क्रममा राजनीतिज्ञ प्रभुनारायण चौधरीले पु¥याएको महत्वपूर्ण योगदानको स्मरण गरिएको छ ।
प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानले उहाँको सातौँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सहभागीले चौधरी कम्युनिस्ट आन्दोलनका नेता तथा सामाजिक सुधारका अगुवा भएको विचार व्यक्त गरेका हुन् ।
एनेकपा (माओवादी)का नेता दीनानाथ शर्माले उत्पीडित वर्ग, समुदाय तथा सर्वहारा वर्गका नेताका रुपमा चौधरीलाई आफूले बुझेको बताउँदै उहाँको चिन्तनले मुलुकमा सामाजिक न्याय तथा समानतामूलक समाज निर्माणमा योगदान गरेको स्मरण गर्नुभयो ।
सांसद जितेन्द्रदेवले लगनशील स्वभावका चौधरीले सम्पन्न परिवारमा जन्मेर पनि अन्याय अत्याचारका विरुद्ध सङ्घर्ष गर्नुभएको विचार व्यक्त गर्दै उहाँ सबैका लागि निष्ठा र आदर्शको प्रेरणाको स्रोत भएको बताउनुभयो ।
प्रतिष्ठानका उपाध्यक्ष शान्ता चोधरीले देश र जनतालाई स्वतन्त्र र सम्पन्न बनाउनका लागि स्वर्गीय चौधरीले लोकतन्त्रको स्थापना गर्नुपर्ने विचार फैलाउँदै निरंकुश शासनका विरुद्ध जनमत सिर्जना गर्नुभएको स्मरण गर्नुभयो ।
विसं १९९९ मा सुनसरीको बकलौरी गाविसमा जन्मनुभएका चौधरीले नेकपा संयुक्त माक्र्सवादीका संस्थापक अध्यक्ष भई जिम्मेवारी बहन गर्नुभएको थियो ।
विसं २०२५ मा झोरा आन्दोलनको नेतृत्व गर्दै जेल पर्नुभएका चौधरी पटक–पटक गरी १७ वर्ष जेल बस्नुभएको थियो । कानुनमा स्नातक चौधरी विसं २०१५ देखि नेपाल कम्युनिस्ट पार्टीको सदस्य बन्नुभएको थियो ।
उहाँको स्मरणमा आज एभिन्युज टेलिभिजनका क्यामेरामेन किशोर चौधरी, गायिका उमा शाह लगायतलाई सम्मान गरिएको थियो ।