शिवप्रसाद ढुङ्गाना/ओखलढुंगा, २९ भदौ । थानीय तह पुुनर्संरचना प्राविधक सहयोग समितिले ओखलढुंगामा ११ ओटा स्थानीय तह बनाउन प्रस्ताव गरेको छ । सर्वदलीय सहमतिका आधारमा समितिले एक नगरपालिका र १० गाउँ पालिकासहित ११ ओटा स्थानीय तह बनाउने प्रस्ताव गरेको हो ।
एक नगरपालिका र ५० गाविस रहेको ओखलढुंगामा विभिन्न राजनीतिक दलका फरक फरक प्रस्ताव आएपनि समितिले एक हप्ता लगाएर सहमति कायम गरेको ओखलढुंगाका प्रमुख इञ्जिनियर माधवप्रसाद भट्टराईले बताए ।
यस अघि नेपाली काँग्रेसले १७, एमाले र माओवादी केन्द्रले ११ ओटा स्थानीय तह बनाउन प्रस्ताव गरेका थिए । राजनीतिक दलहरुसहितको बैठकले १० गाउँ पालिकाको केन्द्र र वडा समेत तोक्ने निर्णय भएको छ । ५० गाविसलाई भुगोल र जनसंख्या र सेवा प्रवाहमा सहजताका हिसवाले १० ओटा गाउँपालिकामा समावेश गर्ने र बरुणेश्वर गाविसको वडा नं. ८ लाई सिद्धिचरण नगरपालिकाको वडा नं. ३ मा समावेश गर्ने निर्णय भएको बैठकमा सहभागी नेकपा एमालेका प्रचार विभाग प्रमुख तीर्थ सुवेदीले जानकारी दिए।
प्रस्तावित संरचना अनुसार पूर्वमा दियाले, पोखरे, कुइभीर, सेर्ना, रातमाटे र माम्खा गाविस समेटेर ९ वडाको चिसंखुगढी गाउँपालिका, केन्द्र खानीभञ्ज्याङ रहने, ठूलाछाप, तलुवा, मोली र भदौरे मिलाएर ६ वडाको निसंखे केन्द्र रहने कोटकडेनी गाउँपालिका, कुन्तादेवी, हर्कपुर, श्रीचौर, प्राप्चा र बरुणेश्वर गाविस मिलाएर ८ वडाको रामपुर केन्द्र रहने शिवदुती गाउँपालिका बनाउने प्रस्ताव गरिएको छ ।
त्यस्तै पात्ले, विगुटार, जन्तरखानी र रागादीप गाविस मिलाएर ५ वडाको विल्दु केन्द्र रहने टक्सार गाउँपालिका, खिजीफलाटे, खिजीकाति, खिजीचण्डेश्वरी, रगनी, रावादोलु भुसिंगा र पोकली वडा नं ८ र ९ मिलाएर ८ वडाको खिजीफलाटे केन्द्र रहने खिजीदेम्बा गाउँ पालिका, पोकली, टारकेराबारी, गाम्नाङ्टार, यसम, सिंहदेवी र नर्मदेश्वर मिलाएर ९ वडाको गाम्नाङ्टार केन्द्र रहेको हिमगंगा गाउँपालिका बनाउन प्रस्ताव छ ।
त्यसै गरि रानीवन, फेदिगुठ, फुलबारी, कालीका, विलन्दु र पलापु मिलाएर ९ वडाको घोराखोरी केन्द्र रहने चम्पादेवी गाउँपालिका, बलखु, मुलखर्क, सिस्नेरी, कटुञ्जे र च्यानम मिलाएर च्यामक केन्द्र रहने १० वडाको ककनी गाउँपालिका, थाक्ले, माधवपुर, मानेभञ्ज्याङ र टोक्सेल गाविस मिलाएर मानेभञ्ज्याङ केन्द्र रहने सातसल्ले गाउँपालिका र बेतीनी, केत्तुके, उबूँ, वाक्सा गाविस मिलाएर केत्तुके केन्द्र रहने लिब्जु गाउँपालिका बनाउने प्रस्ताव गरिएको छ ।
स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले तयार गरेको प्रस्ताव दलहरुको सहमति जुटेपछि गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सख्या तथा सिमाना निर्धारण आयोगमा पेश गरिएको जिल्ला विकास समितिले जनाएको छ । आयोगले ओखलढुंगामा बढीमा ६ गाउँ गाउँपालिका र एक नगरपालिकासहित सात स्थानीइ तह बनाउन मापदण्ड तोकेको थियो । आयोगको मापदण्डले जिल्लाका सबै क्षेत्र समेट्न नसक्ने भन्दै सर्वपक्षीय सहमतिमा समितिले ११ स्थानीय तह बनाउन प्रस्ताव गरेको हो ।
विस्तृत तालिकामा हेर्नुहोला