काठमाडौं, ३० भदौ । सर्जिओ एग्युरोको हृयाट्रिकको मदतमा म्याानचेष्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा सुखद सुरुवात गरेको छ ।
बुधबार राति भएको खेलमा सिटीले बोरुसिया मोनचाङलेबाचलाई ४-० गोल अन्तरले हराएको हो । अघिल्लो दिनको खेल वर्षाका कारण एक दिन पछि सरेका कारण सिटीको घरेलु मैदानमै भएको खेल भएपछि झण्डै ३२ हजार दर्शक मात्र रंगशालामा उपस्थित थिए ।
खेलको आठौं मिनेटमा एग्युरोल गोल गर्दै सिटीलाई अग्रता दिलाए । खेलको २८ औं मिनेटमा दोस्रो गोल गरेका उनले ७७ औं मिनेटमा पेनाल्टी गोलमार्फत हृयाट्रिक पुरा गरे ।
खेलको अतिरिक्त समयमा इहिनाचोले गोल गरेपछि म्यानचेष्टर सिटी ४-० ले विजयी भएको छ ।
लिसेस्टर जित्यो, टोटनहृयामको हार
प्रिमियर लिग च्याम्पियन लिसेस्टरले पनि सुखद सुरुवात गरेको छ । क्लबकै इतिहासमा पहिलो च्याम्पियन्स लिग खेल खेलेको लिसेस्टरले क्लब बर्गलाई ४-० ले हराएको छ ।
बर्गको घरेलु मैदानमा र्भको खेलमा लिसेस्टरका लागि ओब्राइटनले एक र महरेजले दुई गोल गरे ।
अर्को इंग्लिस क्लब टोटनहृयाम भने हारेको छ । टोटनहृयामले फ्रान्सेली क्लब मोनाकोसाग २-१ को हार व्यहोरेको हो ।