हामीले थोरै मेहनत गर्दा पनि पुरानो जनमत फर्काउन सक्छौं : सभापति बस्नेत

फेरी ५ वर्षपछि सोलुखुम्बु नेपाली कांग्रेसको किल्ला हुन्छ

Facebook Debugger

नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला समिति बैठक भर्खरै सकिएको छ । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधीसभाको निर्वाचनको समीक्षा गर्दै कांग्रेसको बैठक सकिएको हो । तीनै तहको निर्वाचनमा नराम्ररी पराजय बेहोरेको नेपाली कांग्रेसले सोलुखुम्बुमा अन्तरघातले पराजय बेहोरेको निष्कर्ष निकाल्दै बैठक सकिएको छ ।

वि. सं. २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनबाट नेपाली कांग्रेस सोलुखुम्बुको आन्तरिक विवाद छताछुल्ल हुँदै बाहिरिएको थियो । जुनबेला जिल्ला सभापति आङगेलु शेर्पाले तत्कालिन नेकपा माओवादीका उम्मेदवार गोपाल किरातीलाई भोट माग्दै हिडेको भन्ने कतिपय कांग्रेसकै नेताहरुले आरोप लगाएका थिए । त्यसेबेलादेखिको आन्तरिक विवाद नेपाली कांग्रेस सोलुखुम्बुमा अझैसम्म कायमै छ । आन्तरिक विवादका कारण यस पटकको निर्वाचनमा पनि पराजय भोग्नु परेको नेताहरुको भनाई छ ? पराजयपछि सोलुखुम्बुमा नेपाली कांग्रेसको भूमिका के रहन्छ ? नेपाली कांग्रेसको किल्ला मानिएको सोलुखुम्बुमा अबको निर्वाचनमा फेरी जनमत आफ्नो पक्षमा पार्न सक्छ त ? अबको राजनीतिक यात्रा नेपाली कांग्रेसले कसरी तय गर्छ ? भन्ने विषयमा सगरमाथा अनलाईनका प्रधान सम्पादक बुद्धवीर बाहिङ राईले नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोद बस्नेतसँग गरेको कुराकानीको मुख्य अंश ।
तीनै तहको समीक्षा गर्दै भर्खरै जिल्लास्तरीय बैठक सकिएको छ, के के छलफल र निर्णय गर्नुभयो ?
अहिले तत्कालै हामीले प्रदेशसभा र प्रतिनिधीसभाको निर्वाचनको समीक्षा गरेका हौं । स्थानीय तहको समीक्षा यसभन्दा अगाडिनै गरिसकेका थियौं । स्थानीय तह समेतलाई जोडेर अहिले केन्द्रीय कार्य समितिमा प्रतिवेदन बुझाउने गरी पार्टीको बैठकमा छलफल भयो । मूलतः नेपाली कांग्रेस पार्टी सोलुखुम्बु जिल्लामा २०४८ सालदेखि निर्वाचित हुँदै आएको हो । यद्यपी २०६४ सालमा संविधानसभाको पहिलो निर्वाचनमा हामी पराजित भएका हौं, भने २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा पनि पछि नै परेका हौं । २०७० सालमा फेरी दोस्रो संविधान सभामा निर्वाचित भैसकेपछि अहिले २०७४ सालको निर्वाचनमा हामी फेरी पछि प¥यौं । यसको कारण के हो भन्ने कुराको व्यापक समीक्षा गरियो ।
यसरी नेपाली कांग्रेस पछि पर्नुको कारण के के रहेछन् त ?
सरसरती हामीले दुई तीनवटा कुराहरुलाई निष्कर्षको रुपमा ल्याएका छौं । पहिलो त हामीले स्थानीय तहको निर्वाचनमा राम्रो गर्न सकेनौं । त्यो हाम्रो पार्टीको नितान्त आन्तरिक कारणले गर्दाखेरी स्थानीय तहमा राम्रो गर्न सकेनौं । यसको कारण पनि हाम्रो केन्द्रीय समिति हो भन्ने हाम्रो निष्कर्ष हो । किनभने उम्मेदवारको टिकट वितरण स्थानीय स्तरमै गर्न सकेनौं । देशभरिको स्थानीय तहको टिकट पार्टीको केन्द्रीय समितिले बाड्यो, र त्यो नितान्त उम्मेदवारी दर्ता गर्नु पर्ने अवस्थामा आइपुग्दाखेरी उम्मेदवारी फाइनल भयो । त्यसैले हामीले संक्षेपमा भन्नुपर्दाखेरी स्थानीय तहको निर्वाचनमा पार्टी एक ढिक्का भएर निर्वाचनमा जान सकेन, दोस्रो पार्टीले स्थानीय तहको उम्मेदवारी चयन अत्यन्त ढिला ग¥र्यो । यी दुई वटा कारण गर्दाखेरी हामी स्थानीय तहमा पराजित भयौं । स्थानीय तहको पराजयको छाँयाँ प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनमा प¥र्यो ।
प्रतिनिधी सभा र प्रदेशसभाको निर्वाचनमा पनि पार्टीले विशेष गरी सोलुखुम्बु जिल्लाको सन्दर्भमा उम्मेदवारी मिलाउन सकेन । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारी मिलाउन सकेन भन्ने हाम्रो निकर्ष हो ।
तुलानात्मक रुपमा हेर्दा पार्टीको मत घटेको छैन, व्यक्तिको मत मात्र घटेको छ, के यो व्यक्तिबादी चरित्र हाबी भएर यस्तो नतिजा आएको हो ?
हो त्यै भएर मैले भन्दैछु, उम्मेदवारी पनि महत्वपूर्ण विषय हुन आयो । पार्टी महत्वपूर्ण विषय हुनु पर्ने दलीय व्यवस्थामा हैन, यद्यपी होइन रहेछ । उम्मेदवारी पनि मिल्नु पर्दो रहेछ भन्ने निष्कर्ष निस्कियो । किनभने पार्टीले लोकप्रिय मत त पायो । तर त्यही मत उम्मेदवारलाई जाँदाखेरी चाँही कम प्राप्त भयो । भन्दाखेरी त उम्मेदवार ती बसेर काम गर्नुपर्ने, जनताकैबीचमा काम गरिरहेको हुनुपर्ने, अब त्यसले क्षेत्र, भूगोल, समुदायको सामुदायिक प्रतिनिधित्व पनि मिल्नु पर्ने रहेछ नी त भन्ने देखियो । त्यसैले व्यक्ति पनि यो निर्वाचनमा प्रधान भयो ।
तपाई जिल्ला सभापति हुँदा तीन तहको निर्वाचन सम्पन्न भयो ? तर पार्टीले सोचे जस्तो नतिजा ल्याउन सकेन । बैठकमा तपाईको आधिकारीक धारणा कस्तो राख्नु भयो ?
तीन वटा कुराले हामी पछि प¥र्यौं भन्ने हो । एउटा त के हो भने स्थानीय निर्वाचनमा राम्रो गर्न सकेको भए प्रदेश र प्रतिनिधीसभामा राम्रो हुन सक्थ्यो । दुई, गठबन्धन बन्यो । दुई वटा ठूला पार्टीको गठबन्धन बन्यो । र सबैलाई के लाग्यो भने गठबन्धनले स्थायी सरकार दिन्छ । ठीकै छ त स्थायी सरकार दिन्छ भने हामीले किन मत नहाल्ने भन्ने स्वतन्त्र रुपमा रहेका मतदाताहरु, जो कुनै पार्टीसँग आबद्ध छैनन् । त्यो मतदाताको समाजमा एउटा हिस्सा छ । उनीहरुले स्थायी सरकारका लागि मतदान गरे । र विश्वस्त पनि के भए भने अब उनीहरुले सरकार बनाउँछन् । नेपाली कांग्रेसले त सरकार बनाउन सक्दैन । त्यसैले स्थायी सरकारको पक्षमा नै दिउ न त एक चोटी ? स्थानीय तह पनि उनीहरुनै निर्वाचित भएका छन् । तीनै तहमा उनीहरु निर्वाचित हुन्, न त, केहि गरी हाल्छन् की ? भन्ने पनि रह्यो । दोस्रो चाँही आन्तरिक बेमेल । हामीले पूर्ण व्यवस्थापन गर्न सकेनौं । पार्टीमा विनोद बस्नेत सभापति होइन जिल्लामा भन्ने साथीहरुले नै टिकट लिएर आए ।
यसको एउटा व्यवस्थापन गरेर जसरी एउटा बहसको विषय बनिरहेको थियो । त्यो अन्त्य नभैकनै निर्वाचनमा जानु प¥र्यो । त्यसको पनि असर रह्यो । अर्को चाँही के हो भने म स्वयं आफै पनि उम्मेदवारको आकांक्षी । र यसले पाउनु पथ्र्यो । यसैले जिल्लामा काम गरिरहेको छ, यहि बसिरहेको छ, यसले वर्षौंदेखि काम गरेको हो । यसले पनि पाउनु पथ्र्यो भन्ने पार्टीका ठूलो एउटा पंक्ति जो आफैमा पनि असन्तुष्ट रह्यो । ती साथीहरुलाई पनि चित्त बुझाउन उम्मेदवार साथीहरुले ढिलो भयो । किन भने मन माँझिदा, छलफल गर्दा ढिलो भयो । त्यो कारण पनि एउटा महत्वपूर्ण फ्याक्टरको रुपमा रह्यो । अब अलिकति त सोलुखुम्बुको निर्वाचनको सन्दर्भमा हामीले देखेको कुरा के हो भने शान्ति सुरक्षाको स्थिति पनि कमजोर रह्यो । केहि बुथहरुमा खुल्लाम रुपमा क्याप्चर भएकै हुन् । जस्तै त्याङ्बोचेको बुथमा ८५ प्रतिशत मतदान भयो, होइन । जब इतिहासमा २०४८ सालदेखि अहिलेसम्म नभएको भयो । अब त्यहाँको प्रतिनिधित्व प्रतिको आश पनि हो । कसैले क्षेत्रिय रुपमा पनि प्रतिनिधित्व हुन्छ भन्ने आशाले त्यहाँको मतदाताहरुको मतदान गरिदिए, होइन । कसैले चाँहि यो क्षेत्रको समानुपातिकमा हाम्रो अर्को पनि प्रतिनिधी प्राप्त हुन्छ भनेर पनि मतदान गरिदिए । यद्यपी त्यो पछाडि भएन । तर त्यो पनि फ्याक्टर त रह्यो । प्रतिपक्षी राजनैतिक दलहरुले त्यो फ्याक्टर सबैतिर मिलाए, हाम्रोमा मिलेन । जस्तो हाम्रो समानुपातिक उम्मेदवारीका सन्दर्भमा पनि हाम्रो जम्मा एउटा समानुपातिक उम्मेदवारी त्यो पनि सोलुदुधकुण्ड नगरपालिकाबाटै दुवै जना उम्मेदवार, अन्ततः हाम्रो त खाली नै थियो । तर एमाले र माओवादीले सबैतिर मिलायो । दुधकोशी पारीदेखि माथी नाम्चेसम्म नै मिलाएर दिएको अवस्था हो । त्यहाँ पनि आशा थियो । जनतालाई हाम्रो क्षेत्रको पनि यो चोटी त प्रतिनिधित्व हुन्छ, भनेर पनि मतदान भयो । त्यसमा हामी चुकीउँ भन्ने मलाई लाग्छ ।
तपाईकै पार्टीभित्र ठूलो जमात सोलुखुम्बुको क्षेत्र ‘क’ मा विनोद बस्नेतले टिकट नपाएकै कारणले कांग्रेसले पराजय भोग्नु परेको हो भन्छन् नी, हो ?
त्यो मात्रै ठ्याक्कै कारण त होइन होला । त्यो साथीहरुले महशुस गर्ने विषय हो । तर एउटा कुरा चाँही धेरै साथीहरुको, धेरै मतदाताहरुको चै आकांक्षा थियो । यो चोटी बिनोद बस्नेतले पाउँछ, एउटा आङगेलु लड्छ, एउटा चाँही बलबहादुर केसी लड्छन्, भन्ने अलि पहिलेदेखि नै मनस्थिति साथीभाईले बनाएका थिए । र लगातार ७/८ वर्षदेखि म जिल्लामै काम पनि गरिरहेको थिए । म चुनावमा उम्मेदवार हुन्छु भन्दा सबैको आशा थियो एक किसिमको । तर हाम्रो प्रदेशसभा ‘क’ को उम्मेदवार र प्रतिनिधीसभाको उम्मेदवार एउटै साविकको गाविसबाट भयो, होइन । अनि हाम्रोमा त कोहि अरु समानुपातिक पनि खाली त्यो स्थितिले पनि कार्यकर्ता साथीहरुमा र मतदाताहरुमा निराशा छाएकै हो । त्यो सल्टिदा निक्कै ढिला पनि भएको हो ।
मलाई लाग्छ, मलाई पार्टीले उम्मेदवारी दिएको भए, प्रदेश ‘क’ चाँहि जितिन्थ्यो, भन्ने मलाई पनि लाग्छ । अब धेरै साथीहरुले अहिले पनि भनछन्, तलाई दिएको भए यस्तो हुन्थ्यो भन्ने हो । तर धेरैलाई मतदान गर्न अफ्ठ्यारो स्थिति पथ्र्यो । यदि मलाई टिकट दिएको भए । त्यसको असर बलबहादुर दाईमाथी त परेकै हो ।
सोलुखुम्बुको नेपाली कांग्रेसमा फरक धार झन धारिलो हुँदै गएको छ ? अबको त्यो धारिलो हुँदै गएको धारलाई कसरी मिलाउनु हुन्छ ?
नेपाली कांग्रेस सोलुखुम्बु संस्थागत रुपमा अगाडि बढ्ने गरी पार्टीका सबै असन्तुष्टिहरुलाई मिलाउने कोशिस भैरहेको छ । मूल विषय पार्टी केन्द्रीय समितिदेखि नै नेपाली कांग्रेस पार्टी संस्थागत रुपमा चल्न सकिरहेको छैन । यद्यपी हाम्रा ल्याब्सेसहरु थुप्रो छन् । जस्तो देश संघीयतामा गइसक्यो । स्थानीय तह बनायौं । स्थानीय तह, प्रदेश र प्रतिनिधीसभाको निर्वाचन भैसक्यो । तर अझै हाम्रो विधान पहिलेकै पुरानो विधान २०१७ सालको संशोधित विधान चलाईरहेका छौं । अबको महासमिति बैठकले नयाँ विधान निर्माण गर्दैछ । त्यसले संस्थागत परिपाटी बसाल्छ, किनभने सामूहिक जिम्मेवारीको कुरा पार्टीमा उठेको छ । अब बन्ने विधान सामूहिक जिम्मेवारीमै जाने प्रयत्न पनि छ । हामी पार्टी सभापतिहरुको भेलाले पनि त्यही खालको एउटा सुझाव पनि पार्टी केन्द्रीय समितिलाई दिदै छौं । सायद त्यस्तै विधान आउँछ होला । अनि त केन्द्रदेखि जिल्लासम्म पार्टीभित्र नेता र कार्यकर्ता एक ढिक्का भएर लाग्न बाध्य हुन्छन् ।
सोलुखुम्बु जिल्लालाई नेपाली कांग्रेसको किल्लाको रुपमा हेरिएको थियो, तर त्यो किल्लालाई भत्काएर गठबन्धनका उम्मेदवारले बाजी मा¥र्यो ? अबको निर्वाचनमा फेरी नेपाली कांग्रेसले आफ्नो पक्षमा जनमत ल्याउन सक्ला ?
म के कुरामा त ढुक्क छु भने हामी अर्को निर्वाचनमा राम्रो गर्न सक्छौं । अहिले पनि म निर्वाचन भैसकेपछि म गाउँगाउँमा घुमेको छु । गाउँका हाम्रा मतदाता, शुभचिन्तक, समर्थकहरु नअत्तालिकन बसेका छन् । उनीहरुले हामीलाई पो भन्दै छन्, नअत्तालिनु है, यस्तो हो निर्वाचन भनेको कहिले हार, कहिले जित हुन्छ । नेताहरु अत्तालिनु हुँदैन, भन्ने उनीहरुको सुभेक्षा हामीलाई छ ।
अब पार्टीको नेतृत्व नयाँ पुस्तामा जाँदै छ । स्थानीय तह, प्रदेश र प्रतिनिधीसभाको निर्वाचनमा पाएको मत परिणामले पनि हामीले थोरै मेहनत गर्दा पनि पुरानो जनमत फर्काउन सकिन्छ भन्ने मलाई पूर्ण विश्वास छ । र अहिले स्थानीय तहका निर्वाचित साथीहरुले जसरी काम गरिरहेका छन्, उनीहरुको भूमिका पनि अहिले सन्तोष जनक देखिएको छैन । धेरै जनमत आर्जन गर्ने गर्ने खालको भूमिका अहिलेको परिस्थितिमा पनि नदेखिँदा त नेपाली कांग्रेसको जनमत कतै बिग्रेला की भन्ने त्यस्तो त्रास त मसँग छैन । म एउटा वैचारिक जमात, बोल्न सक्ने, आफ्नो कुरा राख्न सक्ने एउटा जमात हामीले यो ५ वर्षमा तयार गर्न सक्छौं । र फेरी हिजोको जनमत परिवर्तन हुन सक्छ ।
अन्त्यमा तपाईको शुभचिन्तकहरुलाई के भन्नुहुन्छ ?
हामी लोकतन्त्रबादी हो । निर्वाचनमा विश्वास गर्छौं । हामीले यो ५ वर्षसम्म प्रतिपक्ष भएर एउटा उदाहरणीय प्रतिपक्षको भूमिका निर्वाह गर्नुछ । त्यसका लागि हिजो हामी सत्ता पक्षीय मनस्थितिमा थियौं । अब त्यसो होइन रचनात्मक प्रतिपक्षमा बसेर आफ्नो राजनीति, विचार र सिद्धान्तलाई संरक्षण गर्दै बृहत्तर समाजको विकासमा लाग्नको लागि नआत्तिन सबै साथीभाईलाई हार्दिक अनुरोध गर्दछु ।

Published On:  1178पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार