काठमाडौँ, १ असोज । विश्वकर्मा पूजा समाजले बल्खुमा आज विश्वकर्मा पूजा सम्पन्न गरेको छ ।
समाजले प्रत्येक वर्ष असोज १ गते विश्वकर्माको मूर्ति स्थापना गरी विशेष पूजा गर्दै आएको छ । पूजामा भक्ति अनुष्ठान तथा साङ्गीतिक कार्यक्रम समेत गरिएको छ ।
सो अवसरमा नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले समाजले धार्मिक संस्कृतिको संरक्षणका लागि निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो । साहित्यकार कृष्णहरि बरालले यस किसिमको पूजा प्रत्येक टोल टोलमा गर्नुपर्नेमा जोड दिनुभयो ।
समाजका अध्यक्ष पवन मण्डलले समाजमा यान्त्रिक तथा प्राविधिक कार्यको सुरुआत विश्वकर्माले गरेको धार्मिक मान्यता रहेको बताउनुभयो । कुनै पनि अनिष्ट नआओस् भनेर आजको दिन फर्निचर, घर निर्माणका औजार तथा सवारी साधनको पूजा गर्ने परम्परा छ ।
भूमिदान गरिने महाअनुष्ठान
विश्व जागरण महाअभियान ट्रस्टले यही असोज २ देखि १४ गतेसम्म पशुपति वनकालीमा ‘श्रीमद्भागवत पितृमोक्षका लागि भूमिदानसहित महाअनुष्ठान गर्ने भएको छ ।
भूकम्प, विपद् तथा विभिन्न द्वन्द्वबाट अकालमा मृत्युवरण गरेका पितृको उद्धार गरेपछि राष्ट्रिय शान्ति कायम हुने विश्वासका साथ सो अनुष्ठान गर्न लागिएको हो । ट्रस्टका संयोजक विष्णुभक्त तण्डुकारले पितृको मुक्तिका लागि गरिने महाअनुष्ठानबाट सङ्कलित रकम भूकम्पबाट अभिभावक गुमाएका असहाय र टुहुरा बालबालिकाका लागि देवघाटमा निर्माणाधीन आवासीय गुरुकुलमा खर्च गरिने जानकारी दिनुभयो ।
अनुष्ठानमा अकालमा मरेका पितृको सामूहिक मोक्ष विधि गरिने छ । सोह्रश्राद्धको समयावधिभर यस्ता अनुष्ठानमा सहभागी भएमा पारिवारिक सुख, शान्ति तथा समृद्धि कायम हुने विश्वास गरिएको पत्रकार डोलिन्द्र थापाले जानकारी दिनुभयो ।
संसारको सबैभन्दा ठूलो दान भूमिदान भएको शास्त्रमा उल्लेख छ । उक्त अनुष्ठानमा भूमिदान गराइएका पितृको सम्पूर्ण विवरण देवघाटमा शिलालेख राखी १५ वर्षसम्म वार्षिक पुण्यतिथिमा पितृमोक्ष तर्पण गराइने छ ।