काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले सुकुम्बासी समस्या, सडक निर्माणलगायत समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद योगेश भट्टराईले गाउँपालिका र नगरपालिकामा वित्तीय संस्था जान नसकेकाले त्यसको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद भानुभक्त ढकालले देशको विभिन्न स्थानमा देखिएको सुकुम्बासी समस्या समाधानका लागि सरकारसंग आग्रह गरे ।
सांसद मीना सुब्बा, रंगमती शाही, राजेन्द्रप्रसाद गौतम, मैनाकुमारी सुब्बा, यज्ञराज सुनुवारले ठेकेदारले समयमा काम गर्न नसक्दा सार्वसाधारणलाई आवतजावतमा समेत कठिनाइ भइरहेको उल्लेख गर्दै पूर्वाधार निर्माण कार्य तत्काल सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद यशोदा गुरुङ सुवेदीले शून्य समयमा उठेका विषयमा सरकारले जवाफ दिनुपर्ने बताएका छन् ।