बुटवल, सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ को बजेटप्रति असन्तुष्टि जनाउँदै आएको विपक्षी दल नेपाली काँग्रेसले बजेटको विनियोजन विधेयकमाथिको छलफलमा भाग नलिई बाहिरिएपछि प्रदेश नं ५ को प्रदेशसभा बैठक विपक्षीको उपस्थितिबिना नै चलेको छ ।
सभामुख पूर्णबहादुर घर्तीले आजको बैठक प्रतिपक्षबिना नै सभाको सञ्चालन गर्नुभएको थियो । विपक्षीको असन्तुष्टिका कारण आज १२ बजेका लागि बोलाइएको बैठक एक घण्टा ढिला शुरु भएको थियो ।
प्रदेशसभा बैठक जारी रहेका बेला नेपाली काँग्रेसका प्रदेशसभा सदस्यहरु संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको कार्यकक्षमा बसेका छन् ।
बैठकको शुरुमा बोल्दै नेकपाका प्रदेशसभा सदस्यहरु भूमिश्वर ढकाल र दधिराम शर्माले बजेट राम्रो र उत्कृष्ट आएको बताउनुभयो । प्रदेशसभाको आजको बैठकमा सत्तापक्षका १० जना प्रदेशसभा सदस्यहरुले धारणा राखेको थियो ।
प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले सत्ता पक्षले बहुमतको आडमा प्रतिपक्षी दललाई अवमूल्यन गरी प्रतिपक्षबिनै संसद् बैठक सञ्चालन गरेर संसदीय अभ्यासको खिल्ली उडाएको आरोप लगाए ।
पार्टी संसदीय दलको आयोजनामा प्रदेशसभामा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “प्रजातन्त्रको गहना भनेकै प्रतिपक्षी हो तर, सत्तापक्षले यसलाई अस्वीकार गरे ।”
उहाँले प्रतिपक्षी दलले सबै जिल्ला र निर्वाचन क्षेत्रलाई समावेशी र समानुपातिक तरिकाले बजेट विनियोजनको माग राख्दा सरकारले बेवास्ता र उपेक्षा गरेको आरोप लगाए ।
नेता पोखरेलले यही अवस्थामा प्रदेश सरकार अघि बढे सदन र सडकमा विरोध गर्ने बताए । काँग्रेसले विनियोजन विधेयकमा पनि ठूलो ठूलो रकम ठाउँ र कार्यक्रम नै उल्लेख नगरी राखिएको भन्दै विरोध गरेको छ । उहाँले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका लागि छुट्याइएको बजेटको अपारदर्शी ढंगले ल्याइएको समेत आरोप लगाए ।
विपक्षी दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर हमालले सरकारले पटकपटक आफूहरुलाई झुक्याउने काम गरेको गुनासो गरे। उहाँले सरकारले प्रस्तुत गरेको बजेट कतै पोका बजेटका रुपमा आएको छ भने कतै साना साना आयोजनालाई खुद्रा बजेट छुट्याइएको छ भने।
नेता हमालले सरकारले स्थायी राजधानी तोक्ने विषयमा आफूहरुले पटकपटक ध्यानाकर्षण गराउँदासमेत वास्ता नगरेकामा आपत्ति जनाउँदै भन्नुभयो, “कति समयसम्म सुकुम्बासीजस्तो भएर बस्ने रु”