पोखरा, मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३, स्याङ्बोचेमा असार २२ गते शुक्रबार भएको टिपर दुर्घटनामा परी ज्यान गुमाएका मौसम घर्तीमगर र जीतमाया घर्तीमगरका नाबालक छोरालाई सोमबार लायन्स क्लब अफ पोखरा डायमन्ड भिलेजले रु २० हजार १० आर्थिक सहयोग उपलब्ध गराएको छ ।
महिला मात्रको सो क्लबले एकआपसमा संकलन गरी जुटाएको उक्त रकम सहयोग गरिएको क्लबका संस्थापक अध्यक्ष एवं कार्यक्रम संयोजक कञ्चन थापाले जानकारी दिए ।
लायन्सले आपत्विपत्मा परेका सर्वसाधारणलाई सहयोग गर्दै सामाजिक सेवामा समर्पित रहँदै आएको बताउँदै लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट बी १ का क्षेत्रीय अध्यक्ष शिवराज आचार्यले नाबालकका लागि गरिएको सहयोग सराहनीय भएको बताए ।
नाबालकका लागि गरिएको सहयोगप्रति रोल्पा—पोखरा सम्पर्क समाजका सल्लाहकार आशमान रोक्काले आभार व्यक्त गर्दै नाबालकद्वयको भविष्यप्रति सबै पक्षको सहयोग अपरिहार्य रहेको बताए ।
हस्तान्तरण समारोहमा क्लबका उपाध्यक्ष पद्मा शर्मा, सचिव लक्ष्मी न्यौपाने, कोषाध्यक्ष कविता गुरुङलगायत क्लबका पदाधिकारी एवं सदस्यको उपस्थिति रहेको थियो ।