४१ लाखको लागतमा सामुदायिक विद्यालय भवन बनाइँदै

7 Shares

पर्वत । कुस्मा नगरपालिका– १४ स्थित पञ्चकोशी माध्यामिक बिद्यालयको चार कोठे पक्की भवन निर्माण कार्य शुरु भएको छ ।

जिल्ला शिक्षा तथा समन्वय इकाइको रु ३६ लाख तथा बाँकी रकम विद्यालयले सहयोग जुटाउने गरी रु ४१ लाखको लागतमा भवन निर्माण हुन लागेको हो । चारकोठे भवनको निर्माणकार्य पाँच महिनाभित्रमा पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको भवन निर्माण समितिका अध्यक्ष सुनिल थापाले बताए ।

निर्माणाधिन भवन शिलन्यास गर्दै वडाअध्यक्ष भीमप्रसाद गुरुङले विद्यालयको भौतिक संरचनामा सुधार र शैक्षिक गुणस्तरमा वृद्धि गर्दै लाने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद शर्माले विद्यालयले पर्वत जिल्लामै फरक ढंगले यहाँ शैक्षिक सुधारको अभियान शुरु गरे पनि कक्षाकोठा अभावले समस्या भएकामा नयाँ भवनले त्यसको आवश्यकता पूरा गर्ने बताए ।
कुस्मा नगरपालिका र वडा कार्यालयबाट भवन निर्माणका लागि नपुग रु पाँच लाख विनियोजन हुने विश्वास विद्यालयले लिएको उहाँले बताए।

उक्त विद्यालयले दुई वर्ष पहिलेदेखि मन्टेश्वरी र अंग्रेजी माध्यममा पठनपाठन गराउँदै आएको छ भने सबै कक्षाकोठामा सिसी क्यामरा जडान गरी अनुगमन पनि गरेको छ ।
ऐच्छिक बिषयअन्तर्गत कम्युटर बिषयमा १० कक्षासम्म अध्यापन गराउँदै आएको उक्त विद्यालयलाई उत्कृष्ट शैक्षिक अभ्यास थालेकामा यस वर्ष कुस्मा नगरपालिका नगर शिक्षा शाखाले उत्कृष्ट विद्यालयको रुपमा सम्मानसमेत गरेको थियो ।

पहिरो पिडीतलाई सहयोग

बाढी र पहिरोका कारण समस्यामा परेका स्थानीय जलजला गाउँपालिकाका पीडितलाई लायन्स क्लब अफ डिस्ट्रिक्ट ३२५ बी अन्तर्गतका लायन्स क्बलले आर्थिक र खाद्य सामाग्री सहयोग गरेका छन् । लायन्स क्लब अफ डिस्ट्रिक्ट ३२५ बीअन्तर्गका सदस्यबाट रु दुई लाख २४ हजार, कुस्मास्थित लायन्स क्लबबाट रु २५ हजार गरी रु २ लाख ५० हजार पीडितको सामूहिक आवास निर्माणका लागि सहयोग गरिएको हो । त्यसैगरी लायन्स क्लब अफ पोखरा अन्नपूर्णले रु एक लाखभन्दा बढीको खाद्य सामाग्री र त्रिपाल वितरण गरेको छ ।

बाढी पहिरोपीडितका लागि संकलन गरिएको नगद र खाद्य सामाग्री जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ललाई हस्तान्तरण गरिएको छ । अध्यक्ष मल्ललाई लायन्स क्लब अफ डिस्ट्रिक्ट ३२५ बीका चिफ डिस्ट्रिक्ट एड्भाइजर काशीकुमार जोशी, डिस्ट्रिक्ट डिसेवल एड डिर्पाटमेन्ट चिफ सोनाम स्याङपो, सिनियर डिस्ट्रिक्ट एड्भाइजर दिनबन्धु पौडेललगायतले संयुक्तरुपमा हस्तान्तरण गरे थियो ।

गत साउन १ गते राति जलजला गाउँपालिका– ७ र ८ मा गएको बाढी पहिरोमा परी एक जनाको ज्यान गएको थियो भने १४ घर पूर्णरुपमा विस्थापित बनेका थिए । लस्तीखोलामा भएको कटान र अन्य क्षेत्रमा गएको पहिरोका कारण धेरै घरपरिवार जोखिममा छन् । बाढी पहिरोमा परेर घरबारबिहीन भएका आफन्त र स्थानीय निजी विद्यालयमा आश्रय लिएर बस्दै आएका छन् । पहिरो गएको जलजला–८ बेरनेटामा घर बनाउने जमिनसमेत नभएका कारण पीडित सुकुम्वासी दलितका लागि अहिले सुरक्षित स्थान र सामूहिक आवासको आवश्यकता खटकेको छ ।

पुराना चौतारी र पोखरी संरक्षण

कुनै बेला आकाशे पानी संकलन गरेर बस्तुभाउलाई पानी खुवाउने पोखरी ९आहाल० संरक्षण गर्न थालिएको छ ।

लामो समयदेखि मर्मतसम्भारको अभावमा पुरिँदै गएका पोखरी संरक्षणका लागि स्थानीय महाशीला गाउँपालिकाले सक्रियता देखाएको हो । प्राकृतिक स्रोत साधनको उचित संरक्षण गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले यहाँका पुराना पोखरी संरक्षण गर्न थालिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए ।

पानीको स्रोत संरक्षणका लागि उक्त गाउँपालिकाले छ वटा पोखरी पुनःनिर्माण तथा मर्मत गरेको छ । रिचार्ज पोखरी पुनःनिर्माणअन्तर्गत यस वर्ष छ वटा पोखरी संरक्षण गरिएको उहाँले बताए ।
गाउँपालिकाभित्रका विभिन्न वडामा रहेका भकिम्ले, ठुलीपोखरी, डाँडाखर्क, सिठ्यानी, काउले र खोरथापे पोखरी मर्मत तथा पुनःनिर्माण गरिएपछि वस्तुभाउलाई खुवाउन, जलवायु परिवर्तनको असरलाई अनुकूल राख्न, बढ्दो खडेरीको समस्याबाट मुक्त हुन र थोरै जग्गामा सिँचाईलगायत प्राकृतिक सुन्दरताका लागि पनि उत्तिकै महत्वपूर्ण हुने भएकाले गाउँपालिकाले यसका लागि बजेट नै छुट्याएको छ ।
गाउँपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेको रु एक लाख लाख ५० हजारले छ वटा पोखरी मर्मत गरी बाह्रैमास पानी रहने बनाएको छ भने चालु आर्थिक वर्षमा स्थानीय जनसहभागितामा चौतारी तथा पोखरी निर्माणका लागि विशेष अभियान सञ्चालन गर्ने गरी बजेट तथा नीति कार्यक्रममै व्यवस्था गरिएको प्रवक्ता उच्चैले बताए ।

यस्ता पोखरीलाई ढलान नै गरेर पौडी खेल्न वा व्यावसायिक रुपले माछापालन गर्न मिल्नेगरी विकास गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो । सार्वजनिक स्थलमा रहने यस्ता पोखरी पछिल्लो समयमा मोटरबाटो वा अन्य पूर्वाधार निर्माणका कारण लोप हुँदै जान थालेका थिए ।
उहाँका अनुसार गाउँपालिकाका छ वडामा गरी झण्डै दुई दर्जनको संख्यामा साना तथा ठूला पोखरी छन् । तिनीहरुमा आकाशे पानी संकलन हुँदै आएको छ । कतिपय पोखरी लामो समय खडेरी पर्दा सुक्ने समेत गरेका छन् । ती सबै पोखरीलाई उचित संरक्षण गरी बाह्रैमास स्वच्छ पानी अड्ने खालका बनाइने अध्यक्ष पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार