७० वर्षसम्म अल्मलिएको कम्युनिष्टले अब बाटो बिराउँदैन : सांसद राई

नेपाली कांग्रेस माप्य दुधकोशीका ३ प्रभावशाली नेता नेकपामा प्रवेश

  बुद्धवीर बाहिङ
1.5k Shares

काठमाडौं । सोलु्खुम्बु जिल्ला प्रतिनिधी सभाका सदस्य सांसद हेमकुमार राई ‘सुरवीर’ ले ७० वर्षसम्म अल्मलिएको कम्युनिष्टले अबको दिनमा कहिल्यै बाटो नबिराउने बताएका छन् । काठमाडौंमा बसोबास गर्ने माप्य दुधकोशी गाउँपालिकाका स्थानीयहरुलाई सम्बोधन गर्दै सांसद राईले लामो समयसम्म अस्थिर राजनितिका कारण अल्मलिएको कम्युनिष्ट पार्टी आज आएर एक भएकाले अब पछाडि फर्किएर कहिल्यै हेर्नु नपर्ने बताएका हुन् ।

कम्युनिष्ट विचार बोकेर पनि हिजोका दिनमा एक अर्कामा आरोप प्रत्यारोप लगाएकोमा कसैले कसैप्रति द्धेष नराख्न समेत सांसद राईले आग्रह गरे । ‘लामो समय संघर्षको मैदानमै थियौं, यो समाजलाई कसरी रुपान्तरण गर्ने भन्ने विषयमा नेपालका कम्युनिष्टहरु ७० वर्षसम्म अल्मलिएको थियो’ सांसद राईले भने, ‘तर अब कहिल्यै अल्मलिने छैन, शुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने महान अभियानमा एकताबद्ध भएर लागेका छौं ।’
भौतिक विकास सँगसँगै जनताको आर्थिक स्थिति पनि माथि उठाउन नसके विकास दुई चार जनाको पहुँचभित्र मात्र पर्ने सांसद राईले बताए । हिजो गरेका गल्ती, कमिकमजोरी र कामहरुबाट पाठ सिक्दै आगामि दिनमा एकताबद्ध भएर देश निर्माणमा लाग्न समेत राईले आग्रह गरे ।
माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले सोलुखुम्बु जिल्लाको स्थानीय तहहरुमध्ये विकासको गतिमा थोरै भएपनि माप्य दुधकोशी गाउँपालिका अगाडि रहेको बताए । काठमाडौंमा बसोबास गर्ने गाउँपालिका बासीलाई सम्बोधन गर्दै अध्यक्ष राईले एक वर्षभित्रको विकासको गतिलाई हेर्दा माप्य दुधकोशी गाउँपालिका अबको ४ वर्षभित्र सोलुखुम्बु जिल्लाकै नमूना गाउँपालिकाको रुपमा देख्न सकिने समेत बताए ।
माप्य दुधकोशी गाउँपालिकामा कृषि विकास बैंकको शाखा कार्यालयको लागि आवश्यकीय सबै प्रक्रिया पूरा भैसकेको अध्यक्ष राईले बताए । ‘बैंक स्थापनाको लागि प्राविधिक टोलीले अध्ययन गर्नु पर्ने भएकाले प्राविधिक टोली चाँडै लगेर बैंक सञ्चालन गर्ने छौं’ राईले भने ।
गाउँपालिकामा ल्याण्ड लाईन टेलिफोन लैजानको लागि पनि अन्तिम तयारीमा जुटेको बताए । त्यसैगरी दुधकोशी ४ जलविद्युत आयोजना पनि गाउँपालिका क्षेत्रभित्रै हुने भएकाले त्यसमा निगरानी राख्ने उनले बताए । १ सय २ मेगावाट क्षमता भएको जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई यही भदौं पहिलो हप्तामा हुने भएको समेत उनले बताए ।
नेपाली कांग्रेस माप्य दुधकोशीका ३ प्रभावशाली नेता नेकपामा प्रवेश
माप्य दुधकोशी गाउँपालिकाका ३ जना नेपाली कांग्रेसका क्रियाशील सदस्य पार्टी परित्याग गरि नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका नेतालाई सांसद हेमकुमार राई र गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले खादा लगाएर स्वागत गरेका छन् ।

कार्यक्रममा बोल्दै माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले विभिन्न विचार भएको राजनैतिक पार्टी परित्याग गरी पार्टी प्रवेश गर्ने कार्यक्रम तेस्रो पटक आयोजना गरिएको बताए । ‘साविकको बासा गाविसमा प्रतिपक्षको रुपमा नेपाली कांग्रेसका कार्यकर्ता थिए, तर अब ती साथीहरु पनि नेकपामा प्रवेश गरे, अब बासामा प्रतिपक्ष भेट्न गाह्रो भएको छ’ अध्यक्ष राईले भने, ‘भर्खरै नेकपामा प्रवेश गरेका नवप्रवेशी साथीहरुलार्ई जिम्मेवारी बाँडफाँटमा सम्मानजनक भूमिका दिनेछौं ।’
नेकपा सोलुखुम्बुका नेता ध्रुबशर्मा पराजुलीले नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेकोमा स्वागत गर्दै नव प्रवेशीहरुलाई सम्मान जनक व्यवहार गरिने बताए । कम्युनिष्ट पार्टीमा कसैलाई काखा कसैलाई पाखा गर्ने चलन नभएकाले ढुक्क भएर पार्टीको काममा लाग्न समेत नेता पाराजुलीले आग्रह गरे ।
भौतिक संरचनाको पक्षलाई हेर्दा १ वर्षभित्र माप्य दुधकोशी गाउँपालिकामा भएका विकासले गाउँपालिकालाई नमूना गाउँपालिकाको रुपमा हेर्न सकिने समेत नेता पराजुलीले बताए ।

माप्य दुधकोशी गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष अगमकुमार राईले नेपाली कांग्रेस पार्टी परित्याग गरी आधिकारीक रुपमा नेकपामा प्रवेश गरेकाले आफूले सक्ने सहयोग गर्ने बताए । माप्य दुधकोशी गाउँपालिकाको वडा नं. ५ र जुभिङलाई भौगोलिक रुपमा कर्णालीसँग तुलना गर्दै वडाअध्यक्ष राईले तत्काल त्यस क्षेत्रलाई विकासको कोणबाट पहिलो प्राथमिकतामा राखेर हेर्न आग्रह गरे ।
वडा नं. २ का वडा अध्यक्ष असारमान मगरले ढिलै भए पनि कम्युनिष्ट पार्टी जनप्रेमी पार्टी हो भनेर पार्टी प्रवेश गरेका नवप्रवेशीहरुप्रति खुशी व्यक्त गरे । आफ्नो कार्यक्षेत्रमा जनताको सल्लाह र सु्झाव ग्रहण गर्दै जनताको पक्षमा काम गर्ने समेत वडाअध्यक्ष मगरले प्रतिबद्धता जनाए ।
जति राम्रो काम गर्दा पनि केहि व्यक्तिहरुले नकारात्मक आलोचना गरेको तीतो यथार्थ सुनाए । वडा नं. २ को मुख्य समस्याको रुपमा टेलिफोनको सिग्नल राम्रो नआउने र मोबाईल फोनमा बोलेको स्पष्ट नबुझिने भएकाले तल्काल टावर निर्माणको लागि पहल गरिदिन सांसद हेमकुमार राई र गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईलाई आग्रह गरे ।

३० वर्षभन्दा लामो समय नेपाली कांग्रेसको क्रियाशील सदस्य भएर काम गरेर भर्खरै नेकपामा प्रवेश गरेका नेता महेश राईले नेपालको ९५ प्रतिशत जनता कुनै पार्टीको विचार र सिद्धान्त बुझेर नभई लहडको भरमा पार्टीमा काम गरेको बताए । ‘नेपाली कांग्रेसमा ३० वर्षभन्दा बढि काम गर्दा पनि कम्युनिष्टको जस्तो नैतिकता भएको नेताहरु कहिल्यै भेटिन’ राईले भने, ‘जबकी नेपाली कांग्रेस पार्टिभित्र आफ्नो कुरा राख्नको लागि टेबुल ठोकाठोक गर्नुपर्छ ।’
नेता राईले निर्वाचनको बेला भोट माग्न सोलुखुम्बु जिल्लाको दुरदराजमा भएका गाउँमा पुगेकाले सोही ठाउँमा एक पटक पुग्नु पर्ने सांसदलाई सुझाव दिए । ‘आफू नेकपामा नवप्रवेशी भएपनि पार्टीमा कहिल्यै विभेदको महशुन गरिन’ राईले भने, ‘चार÷चार पटकसम्म वाकुबासीले बलबहादुर केसीलाई जिताउनको लागि महत्वपूर्ण भूमिका खेलेको छ, केसी जितेर गएपछि एउटा सियोसम्म दिएको भए महेशले च्वाट्टै कान काट्छ ।’
चार पटक सांसद, ३ पटक मन्त्री भएका केसीले वाकुबासीको लागि केहि नगरेको राईले आरोप लगाए । ‘२० वर्षसम्म सांसद भएका केसीले हाम्रा लागि केहि गरेनन्, तर एक वर्षभित्रै माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले वाकुमा धेरै विकास गरिदिनु भएको छ’ उनले भने ।

नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका योगेश राई, सचिन राई र असन राईले समाज रुपान्तरणका लागि राजनीतिक पार्टीको आवश्यकता हुने भएकाले स्वतः स्फुर्त रुपमा नेकपामा प्रवेश गरेको बताएका छन् । पार्टी प्रवेश कार्यक्रममा आफ्नो धारणा राख्दै नवप्रवेशी उनीहरुले आउने दिनमा पार्टीले दिएको जुनसुकै जिम्मेवारीमा रहेर काम गर्ने समेत प्रतिबद्धता जनाएका हुन् ।
नवप्रवेशी नेता असन राईले अहिलेसम्मको राजनैतिक युगान्तकारी परिवर्तनमा कम्युनिष्टले खेलेको भूमिका अतुलनीय भएकाले नेकपामा प्रवेश गर्दा खुशी लागेको बताएका छन् । धेरै समय छलफल, सोच र विचार पश्चात नेकपामा प्रवेशको गरेको बताएका हुन् ।
‘नेपाली कांग्रेस व्यक्तिको पार्टी भएर मात्र रह्यो, मेरो विचारमा जनताको पार्टी खोज्दा नेकपालाई पाए, त्यसैले यस पार्टीमा प्रवेश गरेको हुँ’ राईले भने, ‘समाज रुपान्तरणको लागि राजनीतिक पार्टी चाहिने भएकाले स्वतः स्फुर्त रुपमा नेकपामा प्रवेश गरेको हो ।’
असन राई नेपाली कांग्रेसका क्रियाशील सदस्य, शिक्षक महासंघ सोलुखुम्बुको सदस्य तथा बाबुछिरी आधारभूत विद्यालयका प्रधानाध्यापक समेत हुन् । उनी माप्य दुधकोशी गाउँपालिका तथा सोलुृखुम्बु जिल्ला नेपाली कांग्रेसका युवा नेताका रुपमा परिचित छन् ।
अर्का नवप्रवेशी नेता सचिन राईले नेकपामा प्रवेशले आफूलाई खुशीसँगै अप्ठ्यारो महशुस भएको बताएका छन् । राईले नेकपामा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्ने बताएका हुन् ।
‘अहिलेको राजनैतीक परिवेशमा ठीक समयमा नेकपामा प्रवेश गरेको छु’ राईले भने, ‘समाज परिवर्तनको लागि स्वर्णिम युगको पछाडी किन नलाग्ने भन्ने भएर पार्टीमा प्रवेश गरेको हुँ ।’ उनी समाजसेवी तथा नेपाली कांग्रेस माप्य दुधकोशी गाउँपालिकाका प्रभावशाली नेता तथा समाजसेवी हुन् ।
नवप्रवेशी नेता योगेश राईले अहिलेसम्म विभिन्न पार्टीको विचार र सिद्धान्तलाई आफूले नजिकबाट हेरिरहेकाले यो समयमा सबैभन्दा उत्तम र जनताको लोकप्रिय पार्टी भएकाले नेकपामा प्रवेश गरेको बताएका छन् । पार्टीको लागि नवप्रवेशी नेता भएपनि पार्टीले दिएको जिम्मेवारी र भूमिकामा इमान्दारीताका साथ लागि पर्ने बताएका हुन् ।
‘आगामी दिनमा पार्टीमा रहेर देश र जनताको लागि पार्टीको सीपाही भएर आफ्नो भूमिका निर्वाह गर्दछु’ उनले भने, ‘हामीमा अझैपनि जनताको पार्टीलाई चिन्न सकिएन भने भावि पुस्ताले दुःख पाउनेछन् ।’ उनी माप्य दुधकोशी गाउँपालिका नेपाली कांग्रेसका प्रभावशाली नेता तथा समाजसेवी हुन् ।


कस्मिक कम्प्युटर सिस्टमका प्रोर्पाईटर तथा समाजसेवी मानवीर राईले समाजले चाहेको सकारात्मक पक्षमा काम गर्न सबैलाई आग्रह गरेका छन् । काठमाडौंमा बसोबास गर्ने माप्य दुधकोशी गाउँपालिकाबासीलाई स्वागत गर्दै समाजसेवी राईले गाउँको विकास गर्ने जिम्मेवारी हामी सबैको काँधमा रहेको बताउँदै अहिलेसम्म गरेका काम र अनुभवले सभ्य समाजको निर्माण गर्न सकिने बताएका हुन् ।
समाज रुपान्तरण र देश विकासको लागि प्रगतीशील भूमिका निर्वाह गर्न पनि राईले सबैलाई आग्रह गरे । कार्यक्रममा माप्य दुधकोशी गाउँपालिकाबाट काठमाडौंमा आएर बसोबास गरेका स्थानीयको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार