म्याग्दी । जिल्लाका दुईतिहाइ भन्दा बढी भूकम्पपीडितले अझै निजी आवास पुनःनिर्माणका लागि अनुदानको दोस्रो किस्ता लिन आएका छैनन् ।
उक्त एकाइका अनुसार भूकम्पबाट कम प्रभावित १७ जिल्लामा पर्ने म्याग्दीका ७८० ले पहिलो किस्तावापतको रु। ५० हजारका दरले करीब रु चार करोड अनुदान लिएका थिए । हालसम्म २२० ले दोस्रो र १६ ले मात्र तेस्रो किस्तावापतको रकम लिएका छन् ।
प्राधिकरणले २०७५ पुस मसान्तसम्म अन्तिम तथा तेस्रो किस्तावापतको अनुदान वितरण गरिसक्ने लक्ष्य राखे पनि तोकिएको समयमा दोस्रो किस्ताबपतको अनुदान लिन नआएका पीडितलाई के गर्ने भन्ने निर्णय भइसकेको छैन । पहिलो किस्ता रु ५० हजार र दोस्रो किस्ता रु एक लाख ५० हजारका दरले अनुदान वितरण गर्ने व्यवस्था भएको एकाइ प्रमुख शिवराम गेलालले जानकारी दिए ।
विसं२०७३ पुसमा प्राधिकरणका प्राविधिकले स्थलगत सर्वेक्षण गर्ने क्रममा ८६८ निजी घरमा भूकम्पले क्षति गरेको पहिचान गरेको थियो ।
केहीले भने समयमै प्राविधिक सेवा नपाएकाले घर बनाए पनि अनुदान पाउन ढिलाइ भएको अन्नपूर्ण गाउँपालिका–६ घारका हिमबहादुर खड्काले बताए। पुनःनिर्माण प्राधिकरणले बेनी नगरपालिकामा दुई, धौलागिरि, मालिका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा एक–एक प्राविधिक खटाए पनि आफूहरूले सेवा पाउन नसकेको पीडितको गुनासो छ ।
घर बनाउन शुरु गरेका गरीब विपन्न वास्तविक भूकम्पपीडित भने ऋण पाएपनि निर्माण सामग्रीमा भएको मूल्यवृद्धि र दक्ष कामदार अभावका कारण समस्यामा परेको मंगला गाउँपालिका–२ का दधिलाल विश्वकर्माले बताए।
सग्लै घरलाई भत्किएको कागज बनाएर र मापदण्डविपरीत दुई ठाउँमा घर भएकाले समेत पहिलो किस्ता अनुदान बुझेका पुनः निर्माणले गति लिन नसक्नुको प्रमुख कारक बनेको स्थानीयवासीले बताएका छन् ।