दिलबहादुरलाई नेपाल फर्काउन ६७ लाख ब्लडमनी परराष्ट्र मन्त्रीलाई हस्तान्तरण

एक करोड उठ्यो, सहयोग अभियान अन्त्यको घोषणा

168 Shares

काठमाडौं । दुई वर्षदेखि साउदी अरेवियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरको रिहाईका लागि साउदी अरबले तोकेको ब्लडमनी परराष्ट्र मन्त्रीलाई हस्तान्तरण गरिएको छ । दिलबहादुरका लागि अदालतले तोकेको ६७ लाख रुपियाँ ‘दिलबहादुर बचाउन ब्लडमनी संकलन अभियान–२०७५’ मूल समितिले बुधबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई हस्तान्तरण गरेको हो ।

अभियानका संयोजक दिपेश पुन, सचिव जीवन रोकामगर, दिलबहादुरकी पत्नी मनिका बुढाले मन्त्रीमार्फत हस्तान्तरण गरेका ब्लडमनी साउदी अरबमा रहेको नेपाली दूतावास मार्फत मृतक साउदी नागरिकका परिवारलाई हस्तान्तरण गर्न परराष्ट्र मन्त्रालयले बुधबार नै प्रक्रिया सुरु गरेको छ । अभियानले हस्तान्तरण गरेको चेक ग्रहण गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले दिलबहादुरको जीवन रक्षाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
‘एक जना नेपालीको दुःखमा सारा नेपालीले सहयोग गर्नुभएको छ,’ मन्त्री ज्ञवालीले भने, ‘म दिलबहादुरको जीवन रक्षाका लागि अभियान सञ्चालन गर्ने र आर्थिक सहयोग गर्ने सबै नेपालीलाई धन्यवाद दिन्छु ।’ उनले ब्लडमनी रकम साउदी अरब पु¥याएर दिलबहादुरलाई जति सक्यो चाँडो नेपाल ल्याउने बताए ।

यसैबीच दिलबहादुर बचाउन ब्लडमनी संलन अभियान मूल समितिले दिलबहादुरका लागि चालिएको सहयोग अभियान अन्त्य गरिएको घोषणा गरेको छ । बुधबार प्रेस वक्तव्य जारी गरेर सहयोगी सबैलाई धन्यवाद दिंदै अभियान अन्त्य गरिएको घोषणा गरेको हो ।
अभियानको क्रममा एक करोड चार लाख २६ हजार २२३ रुपैयाँ संकलन भएको अभियानले जानकारी गराएको छ । विदेश तथा स्वदेशका विभिन्न संघ संस्थाहरुबाट ५५ लाख ६० हजार २४१, विभिन्न व्यक्तिगत अभियान्ताहरुबाट ३३ लाख ७६ हजार ५९५, व्यक्तिगत सहयोगबाट नौ लाख २२ र गत वर्षको संकलित रकम पाँच लाख ८९ हजार ३६५ रकम संकलित भएको अभियानले सार्वजनिक गरेको छ ।
‘सहयोग अभियानको क्रममा विभिन्न देशमा सहयोग अभियान चलाउनुहुने महानुभावहरु, स्वदेशमा अभियान चलाउनुहुने महानुभावहरु र आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिन चाहन्छौँ’ वक्तव्यमा भनिएको छ, ‘विशेष गरी वैदेशिक रोजगारीको क्रममा आफ्नो गास कटाएर सहयोग गर्नुहुने आदरणीय दिदी–बहिनी तथा दाजुभाईहरुलाई धन्यवाद दिन चाहन्छौँ । यहाँहरुकै साथ र सहयोगले रोजगारीको क्रममा यहाँहरुसँग विदेशमा रहनुभएका दिलबहादुर घर्तीको जीवन रक्षा निश्चित भएको छ ।’ अभियानले संकलित मध्य बचेको रकम विशेष कोष बनाएर राख्ने घोषणा गरेको छ । अभियानले ब्लडमनी अभावमा विदेशका विभिन्न जेलमा रहेको नेपालीहरुको जीवन रक्षाका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

दिलबहादुर कसरी फसे ?
रोजगारीको सिलसिलामा दिलबहादुर घर्तीमगर डिस्टीनी प्लेसमेन्ट सर्भिसेज बानेश्वरबाट २०७२।१०।१८ मा साउदी अरबको रियादस्थित Majid Al Diabahi Contraction & Est. Riyad कम्पनीमा पुगेका थिए । उक्त कम्पनीमा नेपालबाट म्यान पावरले स्काभेटर अप्रेटर चालक भनेर पठाए पनि कम्पनीले मालबाहक ट्रक चालकको जिम्मेवारी दिएपछि सोही काम गर्न उनी बाध्य भए ।
रियादको दोआद्मी भन्ने ठाउँमा कार्यरत रहँदा सवारी चलाउने क्रममा बाटोमा साउदी नागरिक Oteeq bin Dgafa dk Doghaleed ले चलाएको कारठोक्किन आउँदा निज साउदी नागरिकको ज्यान ज्यान गएपछि दिलबहादुर मिति २०७३ जेठ ३० गते जेल परेका थिए तर अदालतले दिल बहादुरको पक्षमा ७५ प्रतिशत गल्ती देखाई २ लाख २५ हजार रियल (नेपालीमा झन्डै ६३ लाख देखी ६५ लाख) नेपाली रुपैया मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने फैसला ग¥यो । त्यसपछि नेपाली दुताबासले दिलबहादुरका पक्षबाट पुनरावेदन गरे पनि अदालतले पुरानै फैसलालाई सदर ग¥यो । र हाल उनी क्षतिपूर्ति रकम तिर्न नसकेर मृत्युको दिन कुर्दै साउदी जेलमा जीवन बिताइरहेका छन् ।

रोल्पाको दुर्गम गाउँमा जन्मिएर रोजीरोटीका लागि विदेश गएका दिलबहादुर जेल परेपछि उनकै सहारामा रहेको परिवारमा बिचल्ली भएको थियो । कमजोर आर्थिक अवस्थाका कारण परिवारले क्षतिपूर्तिवापतको रकम तिर्न सक्ने अवस्था थिएन । त्यसैले दिलबहादुरलाई बचाउन सबैले रकम संकलन गरेर उनलाई नेपाल फर्काउन २०७५ वैशाख २६ गते दिलबहादुर घर्ती बचाउन ब्लडमनी संकलन अभियान २०७५ शुरु गरिएको थियो । यो अभियानका लागि अभियानका संयोजक दिपेश पुन, सचिव जीवन प्रवेश रोकामगर र दिलबहादुरकी श्रीमति मनिका बुढामगरको नाममा राष्ट्रिय वाणिज्य बैंकमा ११९००२८६०७१० नं. को खाता खोलिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार