काठमाडौँ । कीर्तिपुर नगरपालिकामा रहेको टौदहमा नागपञ्चमीका अवसरमा आज मेला लागेको छ ।
कर्कोटक नागको बासस्थानको रूपमा परिचित उक्त दहमा प्रत्येक वर्ष काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट पूजा गर्न आउने भक्तजनको भिड लागेको छ । भक्तजनले दूबो, फूल, अक्षतालगायत सामग्रीले नागलाई पूजा गरी दूधको अर्घ दिने र दूधबाट बनाइने विशेष परिकार तथा बारीमा फलेको नयाँ फल चढाउने गर्छन् । साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी सर्पको पूजा गर्ने दिन हो ।
पानी र वर्षाका देवताका रूपमा पूजा गरिने नागको संझनामा आज दिनभर व्रत बस्ने र सूर्यास्त भएपछि नागको पूजा गरी खीर खाने गरिन्छ ।
नक्सालको नागपोखरी, ललितपुरस्थित धापाखेलको नागदह, भक्तपुरको सिद्धपोखरीलगायत देशका विभिन्न नागदहमा आज मेला लागेको छ ।