१२ वर्षे एक्ला साजन भन्छन्, ‘आफ्नो मनभित्र भएको चोट कसैले हेर्न सक्दैन’

आमा, दुई दाजुहरु विदेशिए, उनीसँगै भएकी दिदी पनि विवाह गरी कर्मघर गइन्, त्यसपछि उनी घरमा एक्लै भए 

  बुद्धवीर बाहिङ
385 Shares

काठमाडौं । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. ५ सुनगाभा टोलमा स्थायी घर भएका साजन विश्वकर्मा एक्लै छन् । ३ वर्षअघि बुवा बिते । आमा, दुई दाजुहरु विदेशमा छन् । उनीसँगै एउटी दिदी थिइन् । उनी पनि विवाह गरी कर्मघर गइन् । त्यसपछि उनी घरमा एक्लै भएका हुन् ।
गाउँ नजिकैको विद्यालयमा साजन ५ कक्षामा पढ्छन् । उनी १२ वर्षको भए । उनको एक्लोपन नै साथी भएको छ । ‘धेरै चर्को घाममा साईकल कुदाउँदाखेरी अल्छी लाग्छ, यहाँ आएपछि बिसाउन मन लाग्छ ।’ उनले भने, ‘नखाई बसौं जस्तो लाग्छ, कसैले पकाइदिराखेको भए हुन्थ्यो जस्तो लाग्छ ।’
घर शुन्य छ । बोल्ने मान्छे कोहि छैनन् । सुगुरको पाठो र केहि कुखुरा छन् उनी बाहेक । ‘घरमा कोहि छैनन्, उदास लाग्छ’ उनी भन्छन्, ‘अरुको दाजुभाई दिदीबहिनी आमा छ भनेर मलाई उदास लागेका आउँछ ।’
सानैमा आमाले छोडेर विदेशिएपछि उनी घरमा एक्लिएका हुन् । ‘ममिले त फोनै गर्नु हुन्न, दादाले चाँहि गर्नुहुन्छ, मजाले पढ भन्नुहुन्छ’ उनले भने, ‘एक्लै सुत्दा राती डर लाग्छ, ब्ल्याङकेटले पुरै शरीर छोपेर सुत्छु ।’
उनी भन्छन्, मेरो पनि ममि भए अरुको जस्तै पाकाईदिन्थे । ममिलाई विदेश नजानु भन्दाखेरि गैहाल्नु भयो । दादाहरुसँग कुरा गर्दै हुनुहुन्थ्यो म स्कुल गैहाले । स्कूलबाट घर फर्किएर आउँदा गैहाल्नु भएछ । साथीको ममिले उनीहरुलाई माया गरेको देख्दा मेरो पनि ममि भएको भए त्यसरी नै माया गर्नुहुन्थ्यो भनेर नरमाईलो लाग्छ । सानोमा हुँदा बाबालाई मैले कति धेरै सोध्थे, बाबा ममि कता हुनुहुन्छ भनेर तर बाबाले कहिल्यै भन्नु भएन । बाबाले नी खै कहाँ गएको छ भन्नु हुन्थ्यो । अलि ठूलो भएपछि थाहा पाए ममि त विदेश पो जानु भएको रहेछ ।
ममिलाई भात पकाउने बेलामा र स्कूल जाने बेलामा धेरै सम्झन्छु । मिमि हुँदा भात पकाईदिनु हुन्थ्यो । स्कूल जाने बेलामा पैसा पनि दिनु हुन्थ्यो ।
उनको बाबुको मृत्यु भैसकेको छ । बुवाको धेरै याद आउँछ । पहिले उहाँ भोकै बसेर मलाई खानेकुरा ल्याई दिनुहुन्थ्यो । धेरै खेल्ने कुरा किनिदिनु हुन्थ्यो । ७/८ वर्षसम्म बुवासित बसे । त्यसपछि बुवा खस्नु भयो । अहिले नी बुवा खस्नु भएको छैन जस्तो लाग्छ । कतै हुनुहुन्छ की जस्तो लाग्छ ।
बाबा खस्दा धेरै रोए । बुवा खस्दा कस्तो पीडा हुन्छ मनमा, त्यो कसैले हेर्न सक्दैन । आफ्नो मनभित्र भएको चोट कसैले हेर्न सक्दैन । बुवा हुँदाखेरी अरुको मनको दुःख हेर्न सक्दिनथे । अहिले त अरुको मनको पीडा आमा बुवा नहुँदाखेरी, परिवार नहुँदाखेरी कस्तो लाग्दो रहेछ भन्ने थाहा पाए ।
आमा र दुई दाजु विदेश गएपछि उनी १४ वर्षिया दिदीसँगै बस्थे । उनको दीदिले पनि विवाह गरी उनलाई छोडेर हिडिन् । त्यसपछि उनी एक्लै बसिरहेका छन् ।
पहिले सानो हुँदा त काँचो पकाउथे । अहिले त राम्रो पकाउँछु । मान्छेहरु पनि छक्कै पर्थे सानोमा यत्रो फुच्चेले पनि भात पकाउँछ भनेर ? म ६ वर्षको हुँदा १० वर्षको भए जस्तो लाग्थ्यो । अलि ठूलो हुँदै गए कुरा पनि बुझ्दै गए । अब त एक्लै भए पनि सम्हालिएर बस्न सक्छु ।
सन्दर्भ स्रोतः हेर्ने कथा ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार