सोलुखुम्बु । विभिन्न सामाजिक सञ्जालमा कुल्फीवाला उपनामले भाईरल भएका मनकुमार, बाहिङ राई हुन् । सोलुखुम्बु जिल्लाको साविक सल्यान गाविस वडा नं. ४ र अहिले नेचासल्यान गाउँपालिका वडा नं. २ रीदु बाहिङको स्थायी ठेगाना हो ।
सामान्य परिवारमा आठौं सन्तानको रुपमा जन्मिएका राईले बाल्यकाल अभावै अभावमा बिताएका थिए । शिक्षा, स्वास्थ्य, लत्ताकपडा, पोषणयुक्त खानेकुरा त परै जाओस । मानिसलाई चाहिने आधारभूत आवश्यकता समेत परिपूर्ती गर्न सक्दैनथे उनको परिवारले । त्यसैले होला उनले सानैमा बिरक्तिएर घर छोडे । पढ्ने र परिवारसँगै बस्ने उमेरमा परदेशी जीवन रोजे । वि. सं. २०४९ सालमा घर छोडेर उनी बिरानो शहरमा परदेशिएका थिए ।
उनको ४ दाजु, ३ दिदी, १ बहिनी, बाबुआमा र उनीसित ११ जनाको परिवार हो । बाबुआमा र दुई दाजु बितिसकेका छन् । अहिले २ दाजु, ३ दिदी र १ बहिनी छन् । उनको जेठा दाई पनि धेरै समय अगाडि गाउँ छोडेर परदेशिएका थिए । अहिलेसम्म कुनै अत्तोपत्तो छैन ।
उनको साईला दाई किड्नी फेल भएर बिते । काईला दाई भने गौशालास्थित प्रहरी बिटकै छेउमा मृत अवस्थामा शब भेटिएको थियो । उनको मृत्युबारे अझै सत्यतथ्य खुल्न नसकेको उनका भाञ्जा राजु राईले बताए । ‘काईला मामाको मृत्युभन्दा पनि हत्या भएको हो की भन्ने हामीलाई शंका लागेको छ’ उनका भाञ्जाले भने, ‘त्यो बेला प्रहरीले भनेका थिए, हामी राम्रो अनुसन्धान गर्नेछौं, कसैले मारेको हो की आफै हो भनेर, अनि पोष्टमाटम रिर्पोट पनि हेर्नेछौं ।’
तर प्रहरीले अहिलेसम्म केहि खबर दिएको छैन । ‘जुनबेला मृतकको लाश नै जिम्मा नलिई आन्दोलनमा मामाहरु उत्रिएका थिए’ उनका भाञ्जाले भने, ‘पछि प्रहरीले मृत्युको बारेमा जसरी पनि छानविन गरेर हत्यार पत्ता लगाउने प्रतिबद्धता जनाएपछि लाश जिम्मा लिएर दाह संकार गरिएको थियो ।’
आफ्नै भाञ्जाले पनि कुल्फीवाला भन्दै फेसबुकमा फोटो पोष्ट गरे
मनकुमारको भाञ्ज राजु बाहिङ राई अहिले वैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरियामा छन् । युट्युब, फेसबुक लगायत विभिन्न सामाजिक सञ्जालमा एकाएक भाईरल भएका कुल्फीवाला उपनामले परिचित मनकुमारको समाचार आफ्नै भाञ्जाले लेखे । त्यत्तिबेलासम्म पनि थाहा थिएन उनलाई । कुल्फीवाला मनकुमार आफ्नै कान्छो मामा हो भनेर ।
सानै उमेरमा घर छोडेर हिडेका मनकुमार कता छ भनेर न घरपरिवारलाई थाहा थियो ? न उनको छरछिमेकीलाई नै ? ‘गाउँघरमा त कान्छा मामा मनकुमार भारतमा हुनुहुन्छ रे भनेर हल्ला सुनेको थिए’ उनका भाञ्जा राजु राईले भने, ‘पहिले पहिले त सामाजिक सञ्जालमा भाईरल भएर कुल्फीवाला भन्ने आयो, मैले पनि फोटो पोष्ट, शेयर गरे ।’
तक्मेबुढा, हङकङमा बस्ने कविता गुरुङ र विमला राईले ३३ हजार आर्थिक सहयोग गरेपछि उनि २६ वर्षपछि जन्मभूमि सोलुखुम्बु सल्यान दोदी पुगेका थिए । पहिले घर छोड्दा ५ दिनभन्दा बढि पैदल हिडेर गाडि चढ्ने ठाउँमा पुगिन्थ्यो । तर अहिले उनी काठमाडौंबाट जीप चढेर आफ्नै घरको आँगनमा ओर्लिएका छन् ।
साक्षर मात्र भएका मनकुमारलाई काठमाडौं उपत्यकाभित्र टिक्न निक्कै मुश्किल भयो । उनले धेरै किसिमका काम गरेर विहान बेलुकीको छाक टारेका थिए । बिरानो शहर, गाउँघरको भन्दा फरक समुदाय, दया र माया कुन चराको नाम हो थाहै नभएको काठमाडौंमा उनको पेशाले खान मात्र पुगेको थियो । त्यही बेला उनलाई मुटुको रोगले समात्यो । जसोतसो गरेर उपचार गरे । डाक्टरले शारीरिक व्याम धेरै गर्नुपर्ने सुझाए । त्यसपछि उनले बौद्ध, जोरपाटी, नयाँबस्ती क्षेत्रमा हिडेरै बदाम बेच्न शुरु गरे । जाडो याममा बदाम र गर्मी याममा कुल्फी बेच्न थाले । उनको कुल्फी बेच्ने तरिकाले सबैलाई तान्यो । गीत गाउँदै, नाच्दै कहिले घरको छत माथि त कहिले गल्लीगल्लीमा कुल्फी बेच्दै हिडे । त्यसपछि उनी एकाएक सामाजिक सञ्जालमा भाईरल भए ।
‘तक्मे बुढाले पैसा दिएपछि मामा गाउँ जानु भएछ, हाम्रै घरमा पुगेर आमाको नाम लिनु भएछ’ उनका भाञ्जा राजु राईले भने, ‘त्यसपछि पो बल्ल थाहा भयो कुल्फीवाला मनकुमार राई त मेरो मामा पो रहेछन् ।’
को हुन् कुल्फीवाला उर्फ मनकुमार : आफ्नै भाञ्जाले समेत चिनेन्, कुल्फीवाला भन्दै फेसबुकमा फोटो पोष्ट गरे
3.4k
Shares