नेपालगञ्ज । बादी समुदायका महिला राजनीतिक, सामाजिक क्षेत्रको विकासका साथै तथा रोजगारमूलक व्यवसायमा संलग्न हुने क्रम बढ्दै गएको छ ।
विगतमा समाजबाट हेपिएका सो समुदाय अहिले सामाजिक विकास र रोजगारमूलक गतिविधिमा संलग्न हुँदै गएपछि स्थानीय समाजको पनि उनीहरूमाथिको दृष्टिकोणमा परिवर्तन भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका वडा सदस्य मञ्जु नेपाली बादीले भने, “अरु समुदायजस्तै बादी पनि इज्जतका साथ समाजमा बाँच्न चाहन्छन्, त्यसका लागि यो समुदायलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ ।
“विगतमा जमिन्दारी प्रथाले हामीमाथि शोषण भएको थियो, अहिले हाम्रो समुदाय इज्जतिलो पेशा गरेर जीवन निर्वाहमा जुटेको छ” नाम उल्लेख नगर्ने शर्तमा नेपालगञ्जमा खुद्रा पसल सञ्चालन गर्ने एक बादी महिलाले भने ।
विगतमा सेभ द चिल्ड्रेन, बाँके युनेस्को क्लब, महिला विकास कार्यालय, लुमन्ती संस्था र विभिन्न सरकारी निकायबाट सीप विकास तालिम लिएका त्यस समुदायका सयाँै महिला नेपालगञ्जमा सानादेखि ठूला स्वरोजगारमूलक व्यवसायमा संलग्न भएका छन् । समाजले अहिले उनीहरूलाई हेय र नकारात्मक दृष्टिकोणले व्यवहार गरेको पाइँदैन ।
बाँके मात्र होइन प्रदेश नंं ५, ७ र कर्णाली प्रदेशका सबै बादी समुदायका महिला इज्जतका साथ सरकारी तथा गैरसरकारी निकायमा नोकरी, स्वरोजगारलगायतका इलममा संलग्न छन् ।
यहाँको गगनगञ्जको भगवान तलाउ क्षेत्रमा बसोबास गर्ने र अगैया, कोहलपुर क्षेत्रकाबादी समुदायका सबै घरपरिवारका सदस्य कुनै न कुनै इलममा संलग्न छन् । उनीहरूका सन्तान पनि विद्यालय र कलेज जाने गरेका छन् ।