काठमाडौं । नयाँ मुलुकी ऐन लागू भएकै दिन एक युवाले सिंहदरबार अगाडि शुक्रबार नग्न भएर विरोध गरेका छन् । सिंहदरबार दक्षिण गेट अगाडिको सडकमा नांगै हिँडेका उनलाई प्रहरीले पक्राउ गरेको छ ।
मुलुकी ऐनको विरोधमा निस्केका यी युवा नयाँ मुलुकी ऐनको पहिलो शिकार बनेका छन् । मुलुकी ऐनको विरोधमा सडकमा एक्लै निस्केका यी युवाले नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि विरोध प्रदर्शन गरेका हुन् ।
भित्री बस्त्रसमेत नलगाएका उनले ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छोपेका थिए ।
उनलाई प्रहरीले पक्राउ गरेर लगेको छ । पक्राउ पर्ने युवा जितिन लिम्बु हुन् । कागजले गुप्तांग ढाकेका लिम्बुमाथि अब नयाँ मुलुकी ऐन अनुसार कस्तो कारवाही हुन्छ ? त्यो हेर्न बाँकी छ ।
सार्वजनिक स्थानमा अश्लीलता प्रदर्शन गरेकाले उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डिएसपी काजीकुमार आचार्यले बताए । अहिले लिम्बुलाई सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ ।
मुलुकी ऐन लागू भएकै दिन नाङ्गै प्रदर्शन, कारवाहीको पहिलो शिकार
861
Shares