रघुगङ्गा गाउँपालिका अध्यक्षको तलब बालबालिकाको शिक्षामा

161 Shares

म्याग्दी । म्याग्दीका एक स्थानीय तहका अध्यक्षले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गरेका छन् । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राज्यले जनप्रतिनिधिको तलबका रुपमा उपलब्ध गराएको रकम गरिब, विपन्न र अनाथ बालबालिकाको शिक्षामा परिचालन गर्ने उद्देश्यले कोष स्थापना गरेका हुन् ।

आफूले जनप्रतिनिधिको हैसियतमा राज्यबाट पाउने तलब भत्ता कोषमार्फत गरिब, विपन्न र अनाथ बालबालिकाको शिक्षामा परिचालन गर्ने व्यवस्था मिलाउनु भएका म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी ।

गाउँ कार्यपालिकाको बैठकबाट परिवारका सदस्यको हक नलाग्ने गरी कोष स्थापना गर्ने निर्णय गराएका भण्डारीले १३ महिनाको सुविधाबापत पाएको रकम कोषमा जम्मा गरिसकेको जानकारी दिए ।
“म पदमा रहँदासम्म सरकारले उपलब्ध गराउने रकम यही कोषमा जम्मा गरेर पालिकाको आठवटै वडाका गरीब, विपन्न र अनाथ बालबालिकाको शिक्षाका लागि सहयोग गर्ने निर्णय गरेको छु”, अध्यक्ष भण्डारीले भने, “विकट र दुर्गम क्षेत्रका विपन्न बालबालिकाको शिक्षामा पहुँच वृद्धिका लागि सहयोग पुग्ने अपेक्षा गरेको छु ।”
गण्डकी प्रदेश सरकारले गाउँपालिकाको अध्यक्षका लागि मासिक ३० हजार तलब तोकेको छ । पहिलो वर्षको करीब ४ लाख कोषमा जम्मा गरिसकेको भण्डारीले बताए । ५ वर्षको अवधिमा करीब २५ लाख कोषमा जम्मा हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार