चौतारा । गए राति मुसलधारे वर्षापछि आएको बाढीेले बाह्रबिसे बजारको पक्की पुल बगाएको छ ।
बाढीले बाह्रबिसे नगरपालिका–३ र ४ को बीचमा रहेको साँदी खोलाको पुल बगाएको हो । पुल बगाएपछि उक्त क्षेत्रमा आवागमन ठप्प भएको छ । बजार क्षेत्रका २२ घरमा बाढी पसेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापाले जानकारी दिए ।
पहिरो पन्छाउन तीन स्काभेटर प्रयोग गरिएको छ । “पहिरो पन्छाउन समय लाग्छ,” प्रहरी निरीक्षक थापाले भन्नुभयो । पुलको ठाउँमा बेलीब्रिज राख्ने तयारी भइरहेको सडक डिभिजन कार्यालय चारिकोटका डिभिजन इन्जिनियर अशोक तिवारीले बताउनुभयो । पुल बगाएपछि खोर्लानीबारीका बासिन्दालाई दैनिक किनमेल गर्न बाधा पुगेको छ । पुल बगेपछि बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिका बासिन्दा प्रभावित बनेका छन् ।