किराँती चलचित्र ‘फुङलाम’को छायांकन सकियो

  बुद्धवीर बाहिङ
882 Shares

काठमाडौं । किराँती सभ्यातामा आधारित चलचित्र ‘फुङलाम’को छायांकन सकिएको छ । किराँती समुदायको १० औं शताब्दीतिर भएगरेका यथार्थ घटनालाई जीवन्त दिँदै चलचित्रको छायांकन सकिएको हो ।

नेपालमा रहेका आदिवासी किराँती सभ्यताको जीवित प्रमाणको रुपमा रहेको परम्परागत मूल्य र मान्यतालाई चलचित्रको माध्यमबाट उतार्न खोजिएको लेखन, परिकल्पनाकार तथा नायक केशव बाहिङ ‘युप्स’ राईले बताए । ‘किराँती सभ्यताभित्र आमा छोरीको माया, सँस्कार, सँस्कृतिलाई जीवन्त रुपमा चलचित्रमा उतार्न खोजिएको छ’ नायक राईले भने, ‘विशेष गरि किराँत समुदायभित्र १० औं शताब्दी तिरनै तान, चर्खाको सहयोगबाट सुनाखरी, भाङग्रा, कपास, लोक्ताका कच्चापदार्थद्धारा खाडीका कपडाहरु, शिरमा लगाउने चाम्फुरी, पियालक्चो, मोक्ते, किप्सारी, मिन्चा सालामा लगाउने देखी सजाउने बुट्टेदार लत्ता कपडाहरु निर्माण गरिएको ईतिहास अझै जिवित नै छ ।’
नायक राई भन्छन्, ‘तर विडम्बना यत्तिका कला, सीप, क्षमता भएका किराँती समुदाय सानो दायरा भित्रनै रहँदा आज लोपोन्मुख हुँदै गएको छ ।’ ‘किन दशौं शताब्दीको सीप, क्षमता एक्काईशौं शताब्दीसम्म आईपुग्दा पनि घरको बलेसीभन्दा पर पुग्न सकेन ? यहि प्रश्नको खोज नै चलचित्र ‘फुङलाम’ (फूलको बाटो) हो’ राईले भने ।
चलचित्र लेखन, परिकल्पना केशव बाहिङ ‘युप्स’ राई, निर्देशन युवराज (वीरबहादुर) थुलुङले गरेका छन् । चलचित्रमा केशव बाहिङ ‘युप्स’ राई, अनुशा बाहिङ राई, पुर्खाजीत राई, युमा राई, केदार नाछिरिङ राई, हेमकुमारी बाहिङ राई, सुजन बाहिङ राई, विष्णु बाहिङ राईले जीवन्त अभिनय गरेका छन् ।
चलचित्रलाई किराँत राई चलचित्र संघ, नेपाल चलचित्र विकास वोर्ड तथा नेचासल्यान गाउँपालिका वडा नं ५ वडा पालिकाको सहयोगमा निर्माण गरिएको हो । चलचित्रको छायांकनको सम्पूर्ण दृष्य नेचासल्यान गाउँपालिकाको वडा नं ५ साम्बरुमा गरिएको नायक राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार