उहिलेका सुमेरु अहिलेका सुमेरु

  शिवप्रसाद ढुंगाना
84 Shares

सानो हुँदा श्रीस्वस्थानी व्रत कथा खुब पढिन्थे गाउँघरतिर । यो कथा पढ्न अक्षर फुटाउने भए देखिन् अहिलेको एसइइसम्म पढ्नेकै प्रायः हरेक पौष शुक्ल पूर्णिमादेखि माघ शुक्लसम्म कथा बाचन गर्ने जिम्मा हुन्छ । छरछिमेकमा पनि पुगेर कथा बाचनमा साथ दिएका अनूभव आफैंसँग पनि छन् । ऊ बेला कथा पढ्दा कहावत त कन्ठ हुन्थे तर, यसका अर्थमा मेरो चासो थिएन । आजकल विभिन्न घटनाक्रमसँग ती कहावत् दाँजेर हेर्दा अर्थपूर्ण लाग्छन् ।
ती धेरै कहावत् मध्ये यतिबेला श्रीमहादेवका दुई सुपुत्र गणेश र कुमारले वर माग्न सुमेरु पर्वत घुम्ने प्रतियोगितामा सहभागी भएको कहावत् हालै नव गठित नेकपामा नेतृत्व छनौटमा देखिएको नौटंकीसँग खुब मिल्छ । गणेश–कुमारको सुमेरु पर्वत घुमाइपछि प्राप्त उपलब्धी बारे विद्वान पाठक वर्ग जानकार नै हुनुहुन्छ ।
अहिले गणेश–कुमार जस्तै फरक फरक पात्रको सुमेरु घुमाइ र आउने उपलब्धी भने ठ्याक्कै मिल्ने वाला छन् । वरदान लिन सुमेरु घुम्न गएका कुमार साँच्चिकै पहाड घुम्न गएका थिए । पहाडका विषेशता र यसको संरचनासँग साक्षत्कार गरेर फर्किए ।
तर, बनावटी रुपमा कहलिएका महादेव स्वयं सुमेरु बन्दा गणेश एक फन्को लगाएर वर पाएको घटना नेकपाका जिल्ला–जिल्लाका नेतृत्व चयनसँग मेल खान्छ । अझ ओखलढुंगामा ठ्याकै मिल्ने भनेर चियादेखि सियासँग गरिने बहस थप गरम बन्दै गएको रहेछ । किनकी कुमारजस्ता स्वाभिमानि र इमान्दारहरु खाली खुट्टा गाउँघरका सुमेरु घुमेर पार्टी बँचइरहेका छन् । गणेशजस्ता सर्वशक्तिमान् व्यक्तित्व तथाकथित श्रीमहादेवलाई सुमेरु मानेर पुजाआजा र भजन किर्तन गर्न मन्दिर वरिपरि फन्को मारिरहेका छन् ।
यही कथित महदेवको वरिपरि फन्को मार्ने नै ‘सुमेरु प्रतिस्पर्धा’मा सर्वोकृष्ठ ठहरिनेमा दुईमत छैन । किनकी माक्र्सवादी दर्शन र श्रमजीवि वर्गको हितमा काम गरेर हैन कि अब यसरी नै फन्को मारेर मात्रै गणेशजस्तो नेता बनिनेवाला छ ।
धेरै सुमेरु घुम्ने यात्रामा छैनन् । सबैतिर दुई चारबाटै कथित ‘गणेश’ र ‘कुमार’ तोकिनेछ । तर, यसरी सुमेरु घुमेर बनेका महान् श्रमजीविका अगुवा, जो सुमेरु घुम्न ‘पुष्प विमान’मा विराजमान छन्, उनीहरुलाई पुजा गर्ने एकाध हुल अहिलेबाटै जस्केलो पर्खेर बसेका पनि छन् । तर, स्वस्थानीमा भएका कहावत् जस्तै गाउँ गाउँमा बनेका महादेवका मन्दिरमा सँगै गणेश कुमारको पुजा गरिदै आएको छ । तर, नेकपाका भावी ‘गणेश’ पुज्न अहिलेसम्म एउटा मन्दिर पनि खडा देखिँदैन, जहाँ श्रीमहादेवका साथमा गणेश विराजमान् हउन ।
सुमेरु घुम्दै गर्दा देखिएका सपना मन्दिरमा आइपुग्दासम्म चकानाचुर हुनेछन्, जब घुमेर वरदानसहित त्यहाँ पुगिन्छ । किनकी उहिलेको जस्तो पुष्प विमान न अहिले चल्नेवाला छ न त खालिखुट्टेहरुले सँधै झुकेर जदौ गर्नेवाला छन् । कारण एउटै छ त्यहाँ वास्तविक सुमेरु घुमेर फर्किएको कुमारमा बनावटी सुमेरु घुमेर वरदान पाएका गणेशभन्दा कयौं गुना इमानमा हुनेछ । हेर्दा शिशुपाल इमानको डरलाग्दो आगोले भत्भति पोल्न आइतबार कुनुपर्ने छैन । मंगलबार पुजिने गणेश आफ्नो बार आइनपुग्दै ती रापले जल्न थालेपछि तथाकथित सुमेरु जल्न सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार