सोलुखुम्बु नेकपाको अध्यक्ष राई की शेर्पा बन्लान् ?

  बुद्धवीर बाहिङ
1.3k Shares

सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी सोलुखुम्बुको अध्यक्ष पूर्व एमालेले लिने की माओवादी केन्द्रले लिने भन्ने विषयमा लामो समयदेखि पार्टीभित्र बहस र छलफल भैरहेको छ । तर अझै अध्यक्ष कसले लिने भन्ने टुंगो लागेको छैन । पूर्व एमाले र केन्द्र दुवैले अध्यक्षको दावी गरेपछि अझैसम्म नेकपा सोलुले अध्यक्ष पाउन नसकेको हो ।

पूर्व एमालेबाट अध्यक्षको लागि मानवीर राईलाई अघि सारिएको छ, भने, केन्द्रबाट गोम्बु शेर्पा ‘कज्र्याङ’लाई अघि सारिएको सम्बद्ध नेताहरुले बताए । सोलुखुम्बुमा राजनीतिक पार्टीमध्ये पूर्व एमालेको सांगठनिक संरचना अन्य पार्टीकोभन्दा सक्रिय र चलायमान भएकाले नेकपाको अध्यक्ष पद मानवीर राईले पाउनुपर्ने दावी गरेका छन् । त्यसैगरी केन्द्रले प्रतिनिधी सभा सदस्य केन्द्रको तर्फबाट जीतेकाले जनप्रतिनिधीसँग पार्टीको काम गर्न सहज होस भनेर अध्यक्ष पदको केन्द्रले दावी गरेको नेताहरुको भनाई छ । जिल्लाको राजनीतिमा सक्रिय र थप सुधार गर्नको लागि पूर्व एमालेले अध्यक्ष पद पाउनु पर्ने एकातिर नेताहरुको भनाई छ, भने, अर्कातिर पार्टी एक भएकाले बढि र घटिको कुरामा अल्झिन नहुने तर्क छ । राई र शेर्पा दुवैले यसअघि पूर्व पार्टीको अध्यक्ष पद सम्हालिसकेका छन् । जिल्लाको राजनीतिमा शेर्पाभन्दा राई पुराना राजनीतिकर्मी हुन् ।
नेकपा सोलुखुम्बुको अध्यक्षमा राईलाई ल्याउने की शेर्पालाई भन्ने पार्टीको छलफलले सार्थकता नपाईरहेको बेला कार्यकर्तामा भने दुई पक्षीय बहसले डेरा जमाएको छ । कार्यकर्ता माझ शेर्पालाईभन्दा राईलाई अध्यक्ष बनाउनु पर्ने धारणा बढि छ । राईलाई अध्यक्ष बनाइनु पर्छ भन्ने धारणा आउनु गलत होइन । किनभने पूर्व केन्द्रको भन्दा एमालेको कार्यकर्ता बढि छ । अनि जनता पनि । जिल्लाको आम कार्यकर्तामा जनभावना र नेकपालाई मजबुत बनाएर लैजाने हो भने मानवीर राईलाई अध्यक्ष बनाउनु पर्छ भन्ने चर्को दवाव पार्टीका उपल्लो तहका नेतालाई दिइएको कार्यकर्ताले बताएका छन् । यस्तो चेतावनी दिदादिदै पनि हाम्रो सुझावको वास्ता नगरे पार्टीले जिल्लामा ठूलो क्षति व्यहोर्नु पर्ने उनीहरुको भनाई छ । अर्काथरीको विश्लेषण अनुसार राजनीतिक जेष्ठता, कार्यकर्ता र जनताको भावनालाई कदर गर्ने हो भने राईलाई नै अध्यक्ष दिनु पर्ने उनीहरुको भनाई छ । भने, उनीहरुकै विश्लेषण अनुसार शक्तिको दुरुपयोग गरे राईलेभन्दा शेर्पाले नै अध्यक्षको पद पाउने प्राःय निश्चित जस्तै भएको उनीहरुको तर्क छ । नेकपाको केन्द्रीय सदस्य पनि पूर्व केन्द्र सोलुखुम्बुबाट २ जना मनोनित भएका छन्, भने पूर्व एमाले सोलुखुम्बुबाट कोहि पनि परेका छैनन् । यसले गर्दा पनि अध्यक्षमा राईको भन्दा शेर्पाको बढि संभावना भएको कार्यकर्ताको विश्लेषण छ ।
नेकपा सोलुखुम्बुको अध्यक्षमा कार्यकर्ता र जनताको अपेक्षा अनुसार पार्टीले निर्णय लिन सकेन भने जिल्लाको राजनीतिमा ठूलै पहिरो जाने संकेत कार्यकर्ताहरुले देखाई सकेको बताएका छन् । पार्टी एक भैसकेकाले मेरो र तेरो भन्नु भन्दा कार्यकर्ता र जनताले अपेक्षा गरेको व्यक्तिलाई अध्यक्ष बनाउनु पर्ने आम कार्यकर्ताको भनाई छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सबैलाई मान्य हुने निर्णय लिन समेत जिल्लाका आम कार्यकर्ताले सुझाएका छन् । पछिल्लो समय हरेक क्षेत्रमा व्यक्तिगत स्वार्थका आधारमा निर्णय लिने परिपाटी भएपनि नेकपा सोलुखुम्बुको अध्यक्ष लगायत कार्यसमितिमा सर्वमान्य सिद्धान्तको आधारमा निर्णय लिन कार्यकर्ताले सुझाएका छन् । केहि उत्तेजित कार्यकर्ताको लहैलहैमा नलागी सबैका भावना र चाहनालाई मध्यनजर राख्दै पार्टी एक ढिका हुनेगरी निर्णय गर्न लिन कार्यकर्ताले आग्रह गरेका छन् । जिल्लाको नेता, कार्यकर्ता र जनताको भावना अनुसार जाने हो भने आफूलाई अध्यक्ष बनाउनु पर्ने राईको भनाई छ । ‘युवा अवस्थादेखिनै राजनीतिमा होमिए, अहिलेसम्म सक्रिय रुपमा लागिरहेको छु’ राईले भने, ‘मलाई त कार्यकर्ता लेबलबाट चर्को दवाव आएको छ, तपाई जसरी पनि अध्यक्ष बन्नुपर्छ, होइन भने खुट्टा नकमाई उभिनुस हामी तपाईको साथमा छौं ।’ अध्यक्ष को बन्ने भन्दा पनि अध्यक्षको जिम्मेवारी पूर्व एमाले की केन्द्रले सम्हाल्ने भन्ने विषयमा छलफल भएको शेर्पाले बताए । ‘यदि हाम्रो पक्षमा अध्यक्ष पद आयो भने नेकपा सोलुको अध्यक्ष म नै हुँ’ शेर्पाले भने, ‘जिल्लाको राजनीतिक परिवेशमा छुट्टै पहिचान स्थापित गर्न म सक्षम छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार