काठमाडौं । गायिका तथा युट्युबर समृद्धि राईलाई महिला प्रहरीबाटै दुर्व्यवहार भएको छ । केहि दिन अघि माइतीघरमा लेन मिचेर कारवाहीमा परेकी राई ट्राफिक प्रहरीले लिएको लाइसेन्स लिन बग्गीखाना पुग्दा उनलाई महिला ट्राफिक प्रहरीले गेटमै रोकेर दुर्व्यवहार गरेका हुन् ।
वानपिस लगाएर बग्गीखाना पुगेकी राईलाई अर्को लुगा लगाएर आउनु भन्दै गेटमा बसेकी प्रहरीले रोकेका थिए । आगन्तुकका लागि नयाँ ड्रेस कोड आएको भन्दै महिला प्रहरीले उनलाई रोकेकी थिइन । वानपिसमा कुनै उच्छृंखल नभएको भन्दै भित्र जान आग्रह गरे पनि ती प्रहरीले उल्टै दुर्व्यवहार गरे । जति आग्रह गर्दा पनि भित्र जान नदिएपछि, ती महिला प्रहरीले कुर्ता सुरुवाल लगाएर आउन भनेका थिए । राईले ती महिला प्रहरीलाई हाँकिमसँग कुरा गराउन आग्रह गरे पनि उनले नजिकैको एक पुरुष दुवाल थरका प्रहरीलाई बोलाए । झन ती प्रहरीले त उनलाई हेपाहा प्रवृत्तिमा ठूलो आवाजमा कराए । उनी निराश भएर फर्किइन् ।
पुनः १ घण्टापछि राई त्यही वानपिसमा रेनकोटको ट्राउजर लगाएर बग्गीखाना पुगे । गेटमा त्यही महिला प्रहरी र दुवाल थरका प्रहरी थिए । उनीहरुले राईलाई चिनेनन् । हाफपाइन्टमा गेटबाट ती महिला प्रहरीकै अगाडिबाट सरासर भित्र छिरिरहेका थिए । उनले भिडियो खिचिन् । भिडियो खिचेको देखेर दुवाल थरका प्रहरीले थर्काउँदै माथि पुर्याए । उनलाई एसपीकहाँ पुर्याइयो । एसपीले ती प्रहरीलाई बोलाएर यत्तिको लुगा त सामान्य हो भनेर सम्झाए । बग्गीखाना प्रवेशमा कुनै ड्रेसको कोड नआएको पनि एसपीले बताए ।
सरकारी कार्यलयमा यस्ता घटनाहरु त बारम्बार भैरहेकै छन् । सेवाग्राहीले दुःख नपाउन भनेर प्रत्येक कार्यालयमा नागरिक बडापत्र राखिएको हुन्छ । तर केहि महिना अगाडिदेखि ‘मुस्कान सेवा’को व्यापक प्रचार गरेको प्रहरीबाटनै यसरी दुव्र्यवहार गरिनु कत्तिको नियम संगत होला । अझ ‘प्रहरी मेरो साथी’ भन्ने नारा लिएर नागरिक माझ आएको प्रहरीको केहि स–साना गतिविधीले ती असल देशभक्त प्रहरीलाई समेत समस्या भएको छ ।