काठमाडौं । ‘सबमरिन ड्रोन’ लिएर खुम्बुपासाङल्हामु गाउँपालिकाका जनप्रतिनिधी सशस्त्र प्रहरी बलको विपत व्यवस्थापन शिविर कुरिनटार गएका छन् । नेपालमै पहिलो पटक प्रयोग गर्न लागिएको ‘सबमरिन ड्रोन’को आवश्यकीय तालिमको लागि गाउँपालिका वडा नं. ३ र ४ को वडा अध्यक्ष तथा खुम्बुपासाङल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाको टोली शनिबार (आज) कुरिनटार गएका हुन् ।
गएको साउन १९ गते खुम्जुङ माध्यमिक विद्यालयका ३ विद्यार्थी गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । बेपत्ता ३ विद्यार्थीमध्ये पेम्बानुर्बु शेर्पाको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको थियो । ४ दिनसम्म २ बेपत्ता विद्यार्थी खोज्दा पनि नभेटिएपछि गोताखोर सहितको टोली फर्किएको थियो ।
अहिलेसम्म नेपालमा यस्तो प्रविधिको प्रयोग नगरिएकाले आवश्यक तालिम लिएर मात्र बेपत्ता २ विद्यार्थी खोज्न गोक्यो हिमतालमा जाने गाउँपालिका प्रवक्त्ता लाक्पाछिरी शेर्पाले बताए । ‘पावर रे कम्पनीको सबमरिन ड्रोनलाई हामीले सिंगापुरबाट किनेर ल्याएका हौं’ प्रवक्त्ता शेर्पाले भने, ‘नेपालका लागि नयाँ प्रविधि भएकाले हामी सशस्त्र प्रहरी बल विपत व्यवस्थापन शिविर कुरिनटारमा गएर यसको बारेका छलफल र खोजीकार्यमा कसरी लाग्ने भन्ने योजना बनाउँने छौं ।’
‘सबमरिन ड्रोन’को ५० मिटर गहिराईसम्म गएर फोटो र भिडियो खिचेर ल्याउन सक्ने क्षमता छ । अत्याधुनिक प्रविधियुक्त मानिएको उक्त ड्रोन विश्वको विभिन्न देशमा समुन्द्रभित्रको अध्ययन, अनुसन्धानमा अत्याधिक प्रयोग गरिएको छ ।
‘सबमरिन ड्रोन’लिएर खुम्बुपासाङल्हामु गाउँपालिका जनप्रतिनिधी कुरिनटारमा
210
Shares