कञ्चनपुरमा कर्फ्यु तालिका फेरियो, छानबिन टोली स्थलगत अनुगमनमा

112 Shares

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा आज बेलुकी ६ बजेदेखि राति १० बजेसम्म र सोमबार बिहान ५ देखि दिउँसो १२ बजेसम्म कर्फ्यु खुलाइएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्युको समय तालिका फेरबदल गरेको जिल्ला सुरक्षा समितिका एक सदस्यले जानकारी दिए ।

फाईल तस्वीर

विगत केही दिनयता कञ्चनपुरकको भीमदत्तनगरमा १३ वर्षीया निर्मला पन्त काण्डपछि आन्दोलन चर्किदै आएको थियो । शुक्रबार राति ८ बजेदेखि स्थिति सामान्यरुपमा ल्याउन र शान्तिसुरक्षा खलबलिन नदिन कर्फ्यु लगाउन थालिएको हो । भीमदत्त नगरपालिकाको ४, ६ र १८ को विभिन्न स्थान तोकेर कर्फ्यु लगाइँदै आएको छ । भीमदत्तनगरमा वातावरण केही सामान्य बनेकाले आइतबार बिहान पनि ५ घण्टा कर्फ्यु हटाइएको थियो । सोमबारसम्म तोकिएको समयसीमा बाहेकको समय भने कर्फ्यु यथावत् रहनेछ ।
छानबिन टोली स्थलगत अनुगमनमा
कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले आज बालिकाको शव भेटिएको उखुबारीको अनुगमन गरेको छ ।
दुई दिनअघि छानविनका लागि आइपुगेको गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको ५ सदस्यीय टोलीले निर्मलाको शव भेटिएको उखुबारी, निर्मला स्कूलको गृहकार्य गर्न गएका साथी रोशनी बमको घर र निर्मलाको घरसमेत अनुगमन गरेको छ ।
टोली आइपुगेकै समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मलाका साथी रोशनी र उनकी दिदी बबिता बमलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । यसअघि प्रहरीले घटनाका वास्तविक हत्यारा लुकाउन मानसिक सन्तुलन गुमाएका भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको आरोप लगाउँदै यहाँका स्थानीयले आन्दोलन चर्काएका थिए ।
आन्दोलनरत पक्षले बमको घरमा बढी अनुसन्धान केन्द्रित हुनुपर्ने र मानसिक सन्तुलन गुमाएका व्यक्तिले बलात्कारी गरी हत्या नगरेको दाबी छ । भीमदत्तनगरमा जिल्ला प्रशासनले स्थिति जटिल बन्न नदिन लगाएको कफ्र्युका बीच छानबिन समिति भने अनुसन्धानमा जुटिरहेको छ । छानबिन समितिसहित स्थानीय प्रशासनले आन्दोलन बन्द गरेर छानबिन सहज बनाउन आग्रहसहित सर्वदलीय/सर्वपक्षीय बैठकसमेत डाकेको थियो ।
सोही घटनाको यथार्थ छानबिनको माग गर्दै प्रदर्शन गर्दा शुक्रबार प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा भीमदत्तनगरपालिका–१८ का १४ वर्षीय सनी खुनाको गोली लागेर मृत्यु भएको थियो । सरकारले शनिबार खुनालाई शहीद घोषणा गर्दै परिवारलाई १० लाख आर्थिक सहायता दिने घोषणापछि आज बिहान महाकाली नदीमा उनको दाहसंस्कार गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार