काठमाडौं । देशका विभिन्न जिल्लामा मौलिक रुपमा गाइजात्रा पर्व मनाइदै छ । वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको पर्व गाईजात्रा देश व्यापी नेवार समुदायमा धुमधामका साथ मनाइने गरेको छ ।
गाईजात्रा जनैपूर्णिमाको साँझ शुरु भए पनि सर्वसाधरणले मुख्यरुपमा आज मात्र गाईजात्रा निकाल्ने गर्छन् । भत्तपुरमा पनि गाइजात्राको रौनक बढेको छ । गाईजात्रा निकाल्नुअघि आजै बिहान सबेरै दरबारस्क्वायरस्थित तलेजु भवानीको गाईजात्रा निकाल्ने परम्परा छ । आज बिहान कुखुरा नबास्दै तलेजुको गाईजात्रा निकालिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए ।
नेवार समुदायले विशेष पर्वका रुपमा मनाउने गाईजात्रालाई नेपाल भाषामा ‘सापारु’ भनिन्छ । विधिवत् रुपमा गाईलाई नगर परिक्रममा गराएमा मृतात्मा सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वासका साथ यो पर्व मनाउँदै आइएको हो ।
भक्तपुरको गाईजात्रालाई अन्य स्थानको गाईजात्रा भन्दा भिन्न र विशेष खालको जात्राको रुपमा लिइन्छ । भक्तपुरमा यो पर्व श्रावण शुक्ल पूर्णिमाको दिनदेखि आठ रात नौ दिनसम्म मनाइने गरिन्छ । गाईजात्राको मुख्य दिन वर्षदिन भित्र मरेका आफ्ना परिवारका सदस्यको आत्माले मोक्ष प्राप्त गरुन भन्ने उद्देश्यले तःहामचा (बाँसको चारखुट्टे रथलाई कपडाले बेरेर मृत व्यक्तिको तस्बीर र टुप्पामा परालबाट गाईको प्रतिक चित्र राखिएको हुन्छ)लाई काँधमा बोकेर नगर परिक्रमा गराइन्छ । तःहामचासँगै धाँ बाजा, ताःबाजा र धिमाय् बाजाको संयुक्त तालमा नाच्ने घिन्ताङघिसीको नाचले जात्राको रौनक बढाउँछ । जात्राको मुख्य आकर्षण नै यही नाच हो ।
तस्वीर : लोकचन्द्र थापा
गाईजात्रा पर्व देशभर मनाइदै
105
Shares