काठमाडौं । पूर्व बेलायती सेना तथा समाजसेवी देब रुम्दाली राई यत्तिबेला संसारको सुन्दर देश स्वीजरल्याण्डको भ्रमणमा छन् । उनी बेलायतमै बस्छन् । समय समयमा नेपाल आउने जाने गर्छन् । केहि समय समाज सेवामा पनि खर्चिन्छन् । अनि केहि समय घुमघाममा । स्वीजरल्याण्ड भ्रमणमा उनका क्यामेराले सुन्दर तस्वीरहरु कदै गरि हामीलाई पठाएका छन् ।
स्वीजरल्याण्ड संसारको सुन्दर देशहरुमध्ये एक हो । स्विटजरल्यान्ड नेपाल जस्तै भूपरिवेष्ठित मुलुक हो । नेपाल जस्तै भौगिलिक स्वरूप भएको पहाडी मुलुक हो । तर नेपालमा जस्तो उपयुक्त हावापानी र उर्वर जमिन छैन । तर पनि नेपालभन्दा कयौं गुणा विकास गरेको छ । अहिले नेपाल र स्वीजरल्याण्डको तुलना पनि गर्न मिल्दैन ।
स्विटजरल्यान्डमा नेपालकै जस्ता अलिक होचा पहाड छन् । उस्तै रुख छन्, तर अलिक मसिना छन् । त्यहाँका पहाडका टुप्पोबाट उभिएर सहर हेर्दा फुल्चोकीको टुप्पाबाट काठमाडौँ उपत्यका हेरेजस्तो भान हुन्छ । हाम्रा पहाडलाई प्रकृतिले निक्कै वास्ता गरे पनि हामीले बेवास्ता गर्छौं, तर स्विटजरल्यान्डका पहाडहरूलाई प्रकृतिले भन्दा पनि त्यहाँका नागरिकले स्नेह गरेर आफ्नै छातीमा सजाएका छन् । चिटिक्क मिलेका ती पहाडहरू आफ्नै जुम्ल्याहा सन्तान जस्तै ठान्छन् स्वीसहरूले । ती पहाडहरू अरु देशका पर्यटकका लागि ठूला देखिए पनि नेपालीका लागि ठूला देखिँदैनन् । विकासका लागि पहाडहरू अवरोधक भए भनेर हामी भन्छौं, तर चौडा र चिल्ला सडक एवं सुन्दर भवन बनाउन अग्ला पहाड बाधक नहुने रहेछ भन्ने स्विटजरल्यान्डले पुष्टि गरेको छ ।
स्विटजरल्यान्डको जनसंख्या ८० लाख छ । नेपाललाई आर्थिक सहयोग गर्ने प्रथम देशहरूको पंक्तिमा स्विटजरल्यान्डको पनि नाम छ । समान भौगोलिक अवस्था मुलुकको अनुभव मात्र पर्याप्त हँुदैन रहेछ, विकास त आफैंले गर्नुपर्नै रहेछ । नेपालमा जस्तो प्राकृतिक स्रोत र साधनको प्रचुरता त्यहाँ छैन, तर गुणस्तर सामग्री, दोषमुक्त यन्त्र र विद्युतीय उपकरण उत्पादन गरेर विश्वको बजार लिएको छ ।
तस्वीरः देब रुम्दाली राई/स्वीजरल्याण्ड ।