विश्वयुद्धमा ज्यान गुमाएका नेपालीहरुको सम्मानमा ‘गोर्खा सिमेट्रिज ट्रष्ट नेपाल’

  बुद्धवीर बाहिङ
210 Shares

काठमाडौ । पहिलो र दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका गोर्खा सैनिकहरुको सम्मानमा ‘गोर्खा सिमेट्रिज ट्रष्ट नेपाल’को स्थापना गरिएको छ । राष्ट्रिय खेलकुद विकास समिति सानका उपनिर्देशक तथा पूर्व गोर्खा सैनिकका छोरा महेन्द्रकुमार राईको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

कार्यसमितिले विश्वयुद्धका साथै विभिन्न युद्धमा ज्यान गुमाएका, अपाङ्ग र जीवित गोर्खा सैनिकहरुको विवरण तयार पार्नेछ । युद्धमा सहादत प्राप्त गोर्खाली सैनिकहरुको चिहान खोज्ने काम समेत समितिले गर्ने अध्यक्ष महेन्द्रकुमार राईले बताए । ‘गोर्खाली सेनाहरुले कुन समय र कालदेखि अरुको निम्ति दिलोज्यान दिएर लड्दै आएका हुन् ? त्यसको लेखाजोखा कसैले गरेनन्’ अध्यक्ष राईले भने, ‘सन् १९१४ देखि १९१८ सम्म भएको पहिलो विश्वयुद्ध र सन् १९३९ देखि १९४५ सम्म भएको दोस्रो विश्वयुद्धमा धेरै गोर्खाली सेनाहरुले लडेका छन्, तर त्यहाँ कयौं गोर्खालीहरुले वीरगती प्राप्त गरे, कयौं अपाङ्ग भए भने कयौं गुमनाम छन् ।’
वीर पुर्खाहरुको विवरण राख्न सन् २००९ मा हङकङमा बस्दै आएका नेपाली भाषीहरुले ‘गोर्खा सिमेट्रिज ट्रष्ट’ नामको संस्था स्थापना गरेका थिए । त्यसै संस्थाको सहयोगीको रुपमा गोर्खालीहरुको मूलथलो नेपालमा पनि संस्थाको स्थापना गरिएको अध्यक्ष राईले बताए । ‘गोर्खा सिमेट्रिज ट्रष्ट नेपाल’ले प्रत्येक वर्ष अप्रिल ५ तारिकका दिन गोर्खाली सेनाको सम्मानमा पुर्खा दिवस (गोर्खा दिवस)लाई पर्वको रुपमा मनाउने योजना बनाएको छ ।
समितिले युद्धमा वीरगती प्राप्त गरेका गोर्खाली सेनाहरुको चिहान, सनाखत हुन नसकेका गोर्खालीहरुको नामावली खोज, अनुसन्धान गरी अभिलेख समेत राख्ने काम गर्नेछ । बेलायत, अमेरिका, हङकङ, सिंगापुर, भारत, बर्मा लगायत अन्य देशमा कार्यरत वा सेवानिवृत भई बसेका गोर्खाली सेना एवं उनको परिवारको खोजी गरी दस्तावेज तयार गर्ने योजना पनि रहेको छ ।

नव गठित ‘गोर्खा सिमेट्रिज ट्रष्ट नेपाल’को उपाध्यक्षमा चन्द्रप्रकाश घर्तिमगर र विनादेवी राई रहेका छन् । महासचिवमा भोजानन्द राई, सचिवमा शान्तामाया परियार, कोषाध्यक्षमा सञ्जु राई रहेका छन् । सदस्यहरुमा सुरेन्द्रकुमार गुरुङ, मणिकुमार सुनुवार, मिनाकुमारी राई, सुलभ मोक्तान, मिलनकुमार राई, संजय तुम्रोक, ध्रुव सुवेदी र आमन्त्रित सदस्य फणिन्द्र पौडेल छन् । संस्थाले सल्लाहकार समेत चयन गरेको छ । नविन सुब्बा, राष्ट्र राई, पवित्रा लिम्बु, अमोद राई, राकेश राई, प्रेमकुमार राई, डा. बाबुराम अधिकारी र मंगल राईलाई सल्लाहकारमा चयन गरिएको अध्यक्ष राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार