स्वपहिचानविहीन कुलुङ जाति

Facebook Debugger

२०६८ को राष्ट्रिय जगणनाअनुसार नेपालमा एकसय २५ जातजातिहरु रहेका छन् । त्यसरी २०६८ को राष्ट्रिय जनगणनामा उल्लेख भएका एकसय २५ जातजातिमध्ये ‘कुलुङ जाति पनि एक हो ।
२०६८ को राष्ट्रिय जगणनामा ‘कुलुङ जाति अलग्गै जातिको रुपमा आएको/उल्लेख भएको भए तानि हालसम्म नेपाल सरकार, राई जातिको नाममा खुलेको राई यायोक्खा नामक गैर सरकारी संस्था (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६), नेपालमा कार्यरत दातृ निकायहरु, नेपालका आदिवासी जनजातिका लागि काम गर्न भनी आएका अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरु, विश्वभरिकै आदिवासीका लागि काम गर्ने संस्था भनी चिनिएको र, नेपालमा पनि कार्यलय रहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), नेपालस्थित् संयुक्त राष्ट्र संघीय मानवअधिकार आयोगको कार्यलय, नेपालकै राष्ट्रिय मानवअधिकार आयोग, नेपालका मानवअधिकारवादीहरु, नेपालकै विभिन्न जातीय संघ–संस्थाहरु, नेपालका सम्पूर्ण आदिवासी जनजातिका महासंघ हौं भन्ने नेपाल आदिवासी जनजाति महासंघ र तिनका हर्ताकर्ताहरु, नेपाल सरकारको मातहतमा रहेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान आदिले भने कुलुङ जातिलाई अलग्गै जाति भनेर मान्दैन/चिन्दैनन् !
यसरी ‘कुलुङ जातिलाई अहिलेसम्म जबरजस्ती राईकरणमा पारिएको छ, राईकरणको घानमा हालिएको छ । यसो हुनुमा राई के हो ? भन्नेबारेमा नेपाल सरकार, राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एक गैर सरकारी संस्था, (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६), नेपालमा कार्यरत अन्तर्राष्ट्रिय दातृ निकायहरु, नेपालका आदिवासी जनजातिका लागि काम गर्न भनी आएका अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरु, विश्वभरिकै आदिवासी जनजातिहरुका लागि काम गर्ने संस्था भनी चिनिएको र, नेपालमा पनि कार्यलय रहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), नेपालस्थित् संयुक्त राष्ट्र संघीय मानवअधिकार आयोगको कार्यलय, नेपालकै राष्ट्रिय मानवअधिकार आयोग, नेपालका मानवअधिकारवादीहरु, नेपालकै विभिन्न जातीय संघ–संस्थाहरु, नेपालका सम्पूर्ण आदिवासी जनजातिका महासंघ हौं भन्ने नेपाल आदिवासी जनजाति महासंघ र तिनका हर्ताकर्ताहरु, नेपाल सरकारको मातहतमा रहेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान आदिलाई सामान्य ज्ञान नहुनु हो ? त्यस्तो होइन । यसमा राजीनीतिले ठूलो भूमिका खेलेको छ । र, नेपालको मूलधार भनिएको राजनीतिमा कुलुङ जातिको पहुँच नहुन मुख्य कारण हो भने, निजामती कर्मचारी, अन्य सरकारी सेवा, प्राध्यापन पेशा, सेना, प्रहरी लगायत क्षेत्रमा कुलुङ जातिको पहुँच नहुनु अन्य कारण मान्नुपर्ने हुन्छ ।
यसरी कुनै जात, जाति वा समुदाय राजनीति, कर्मचारीतन्त्र लगायत पहँुमा हुनु र नहुनुको ज्वलन्त उदाहरण भनेको याक्खा जातिको उदाहरणलाई लिन सकिन्छ । हुन त, सुरुका दिनमा याक्खा जातिकै अगुवाहरु दूर्गाहाङ याक्खा, दूर्गामणि देवान लगायतले पनि राई लेख्दा ठूलो होइन्छ भनेर वा उनीहरु असलियतमा पनि ‘तालुकवाला राई’ अर्थात् ‘जिम्मावाल÷जिम्मुवाल राई’ र राईका जेठो छोरो भएकोले गर्दा पनि आप्mनो नामको पछाडि राई लेखे÷लेखेका थिए । हुन पनि स्थानीयस्तरमा राई, सुब्बा, मुखिया, देवान, गौरुङ, तोहले, थरी, कारबारी, बैदार, सरदार, खरदार आदि पद वा भनौं पदवी पाएका मान्छेहरुको गाऊँघरमा शान अलग्गै थियो, मान अलग्गै थियो ।
तर, यसरी राई लेखेर कथित् ठूलो मान्छे हुँदा इतिहासमा आप्mनो जातीय पहिचान र याक्खा र याक्खाको अस्तित्व नामेट भएर जान्छ भन्ने बुझेपछि तिनै दूर्गाहाङ याक्खा, दूर्गामणि देवान, रामजी कोङरेन (वकिल) हरु लागेर याक्खालाई अलग्गै जातिको रुपमा स्थापित गराए, जाति सूचीमा सूचीकृत गराए । नत्रभने, विसं २०५८ अघिसम्म याक्खा जाति अलग्गै जातिको रुपमा सूचीकृत भएको थिएन । त्यसअघि याक्खालाई राईहरुले तिमीहरु याक्खा पनि होइनौ, लिम्बु पनि होइनौ राई हौ ! भन्थ्यो भने लिम्बुले पनि याक्खालाई तिमीहरु राई पनि होइनौ, याक्खा पनि होइनौ, तिमीहरु लिम्बु हौ ! भन्थ्यो । खैर, यो प्रसंग यही छाडौं ।
यसरी कुलुङ लगायत अन्य किरातीहरु जो विगतमा राई भनेर चिनिन्थे, उनीहरुमध्ये १२ वटा किराती जातिहरुले २०६८ को राष्ट्रिय जनगणनामा आप्mनो अलग्गै जातीय स्वपहिचानले चिनिएका छन्, तापनि उनीहरु बहिस्करणमा परेका छन् । फलतः हरेक अंग्रेजी वर्षको अगष्ट नौ मा मनाइने विश्व आदिवासी दिवसका दिन अरु त अरु आदिवासी जनजाति महासंघ, आइएलओ र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले समेत कुलुङ जाति लगायत राईकरणको मारमा परेका अन्य किरातीहरुलाई बोलाउँदैनन्, कार्यक्रमबारे सूचना दिदैनन् । औपचारिक रुपमा निम्तो दिने त कुरै भएन ।
अब लागांै कुलुङ साँच्चै जाति हो कि होइन ? कुलुङ को हुन् ? कुलुङको बस्ती कहाँ छ ? उनीहरुको उत्पत्ति थलो वा भनौं ऐतिहासिक भूमि छ/छैन ? कुलुङ अन्य जातिसरह स्वतन्त्र जातीय अस्तित्व भएको छुट्टै जाति हुन्हो/इनन् ? कुलुङ जातिमा अरु जातिमा जस्तो छुट्टै जाति हुनका लागि चाहिने जीवन प्रणाली, बन्द समाज, भाषा, भेषभुषा, धर्म, संस्कार, संस्कृति, रहनसहन आदि छ त ? साथै कुलुङको जनसंख्या कति छ ? आदि–इत्यादि बारेमा छोटो जानकारी लिनेतर्फ । जस्तो नेपालको हालसम्मको जातीय बनोटको आधारमा उदाहरण प्रस्तुत गर्नुपर्दा यहाँ बाहुनको उदाहरण लिऊँ । किनभने, बाहुन नेपालको एउटा जात मानिन्छ । बाहुनभित्र निरौला, पाण्डे, घिमिरे, पोखरेल, गौतम आदि थरहरु हुन्छ । त्यस्तै कुलुङ भनेको पनि बाहुन भने जस्तै जाति (जात) हो । माथि उल्लेखित बाहुनको विभिन्न थरहरु भए जस्तै कुलुङको पनि थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होनित्ति, बुक्खो, सोम्फोरु, देउराम, वालाखाम, वार्सी आदि लगायत २ सय ६० भन्दा बढी थर÷उपथरहरु छ । अनि पोखरेल बाहुनको पानी पोखरेल र दूध पोखरेल उपथर भए जस्तै कुलुङको पनि उपथरहरु छ । जस्तो यो पंक्तिकार कुलुङ जातिको लोवात्ती थरको हो भने लोवात्तीभित्र पनि चारवटा उपथरहरु छ ।
कुलुङ जातिको मूल थलो सोलुखुम्बु जिल्लाको उत्तरपूर्र्वी क्षेत्रको बुङ, छेस्खाम, गुदेल, सोताङ, पावै आदि गाविसका विभिन्न स्थानहरु हुन् भने यी ठाउँलाई कुलुङहरु आप्mनो मातृभाषामा “मा कूलू” भन्छन् भने अन्य जात वा जातिले यस क्षेत्रलाई ‘महाकुलुङ’ भनेर चिन्दछन् । कुलुङहरुको बाक्लो बसोवास सोलुखुम्बुको महाकुलुङ क्षेत्रबाहेक संखुवासभा, भोजपुर, सुनसरी, ईलाम र भारतको दार्जीलिङ, सिक्किम लगायतका ठाउँहरुमा छ भने तेह¥थुम, चितवन, धनकुटा, ताप्लेजुङ, पाँचथर, झापा, मोरङ, उदयपुर, सिराहा, कास्की, खोटाङ, काठमाण्डौ, ललितपुर, भक्तपुर, मुस्ताङ लगायत लगभग ४५ जिल्लामा छरिएर रहेका छन् ।
२०६८ को जनगणना अनुसार कुलुङहरुको जनसंख्या केवल २८ हजार ६ सय ३१ भए तापनि कुलुङको जनसंख्या कम्तीमा एकलाख ६० हजार हुन सक्ने, नेपाल किरात कुलुङ भाषा तथा संस्कृति उत्थान संघ (किरात कूलू गूसखोम), केन्द्रीय कार्यसमितिका महासचिव ईन्द्र कुलुङ बताउंँछन् । वास्तवमा राईकरणको मारमा परेका सबै किरातीहरुको तथ्यांङ्क यसरी नै कम देखाइएको छ । जस्तो ते¥हथुम जिल्लाको सम्दु, मोराहाङ, फुलेक, आठराई लगायत क्षेत्रमा कुलुङको जनसंख्या लगभग १४ सयको हाराहारी छ । तर, २०५८ र २०६८ को राष्ट्रिय जनगणनामा एक जना पनि कुलुङ उल्लेख छैन ।
अरु जातिको जस्तै कुलुङ जातिको पनि आफ्नै मातृभाषा छ । जसलाई उनीहरु ‘कूलू रीङ’ भन्छन् । जहाँका कुलुङ भए पनि कूलपितृ आदिमा कुलुङ जातिका मोप/नोक्छोले कुलु रिङमै रिदूम (अरुले मुन्धुम भन्छन्) फलाक्छन् । २०५८/०५९ (यले दोङ ५०६१) मा चन्द्रसिंह कुलुङ, टंक सोम्फोरु, प्रकाश लोवात्ती कुलुङ (यो पंक्तिकार), पत्तिबहादुर सोम्फोरु, मेखबहादुर कुलुङ, सूर्यबहादुर कुलुङ, इन्दिरा कुलुङ, पाण्डु राजित्ति लगायत अन्य कुलुङहरुको सक्रियतामा भाषाविद्हरु अमृत योन्जन तामाङ र डा. माधव पोखरेलको सहयोगमा कुलुङ भाषाको स्वरवर्ण र व्यन्जनवर्ण पहिचान गरिएको थियो । कुलुङ भाषामा २१ वटा व्यन्जनवर्ण र १२ वटा स्वरवर्ण पहिचान गरिएको छ । कुलुङ भाषामा दीर्घ नभएकोले लिपिवद्ध गरिदा दीर्घलाई ह«स्व मान्ने र दीर्घ जनाउदा विसर्ग (:) दिने वा : चिन्ह प्रयोग गर्ने व्यवस्था छ ।

कुलुङ जातिको अरु जातिको भन्दा भिन्न र आफ्नै प्रकारको संस्कार–संस्कृतिहरु छन् । जन्मदेखि मृत्युसम्ममा आफ्नै जातिका पुर्खाले मूख्य भूमिका खेल्छन् । जहाँ सुकैका कुलुङहरुले पनि मृत्युपछि मृतकलाई मृत्युसंस्कार गर्दा महा कुलुङको पोम्लालुङमा पठाउनुपर्छ । मृतकलाई यसरी स्वर्ग अर्थात् पोम्लालुङ पठाउँदा पुग्नुअघि मृतकलाई पानी पिउन दिने ठाऊँ छ । यो ठाऊँलाई ‘पोम्ला काउ’ भनिन्छ । यो ‘पोम्ला काउ’ भन्ने ठाऊँ सोलुखुम्बु जिल्लाको बुङ गासिमा पर्छ । यसरी मृत्युपछि आफन्तलाई पठाइने कुलुङहरुको स्वर्ग अर्थात् ‘पोम्लालुङ’ हालको सोलुखुम्बु जिल्लाको गुदेल गाविसमा पर्छ । जुन स्थललाई कुलुङहरु पवित्र स्थल मान्छन् । विवाहमा चेली पक्षकाले ज्वाइँ पक्षलाई सुक्तुलू (चुल्हा) मा दी (जाँड) र हाङ्मुवा (रक्सी) चढाउँदै वागदत्ता दिएर सम्पूर्ण रुपमा सुम्पने गरिन्छ । सामान्यतया कुलुङहरु २ पटक विवाह गर्दछन् । पहिलो विहेसम्म चेलीको मृत्यू भइहालेमा माइतीले नै काजक्रिया गर्नुपर्छ । दोश्रो विवाह छिन्ती विवाह हो जसलाई ‘दाप्लो कुइम’ भनिन्छ । कुलुङ जातिको आफ्नै जातीय पहिरन र गरगहनाहरु छ भने आफ्नै मौलिक बाजागाजाहरु पनि छ ।
कुलुङहरु जन्म संस्कार गर्दा बालबालिका (बच्चा) जन्मेपछि जन्म दिने आमा (सुत्केरी) आफैले नाइटो काट्ने, भांग्रे सिस्नोको धागोले बाँध्ने, बच्चालाई भांग्राकै कपडाले बेरेर राख्ने, स्थान र समय अनुसार ५/७ दिनमा कटुस, उत्तिसको काँचो बोक्रा र हरियो पात मिसाएर कुटेको धुलोले बच्चा र सुत्केरीलाई नुहाई दिने गरिन्छ । र, यसरी नुहाएपछि चोखो भएको मानिन्छ ।
मृत्यु संस्कारमा भने अकालमा मरेकाहरुलाई खाडल खनेर, घरभन्दा टाढा जंगल, ओढार आदिमा काँडा बिच्छ्याएर, लासलाई नाँगै घोप्टो पारेर राखिन्छ र, फेरि लासमाथिबाट पनि काँडा, सिस्नो आदिले छोपेर पुरिन्छ । यस्तो मृत्यूलाई कुलुङहरु “हिल्सी” भन्छन् । बच्चा जन्माउन नसकेका सुत्केरीहरुलाई सिस्नो पनि काँडासंगै राखेर सत्गद् गर्ने चलन छ । अहिलेसम्म कुलुङहरुको संस्कारको बारेमा बाहिर चर्चामा नआएको विशिष्ट भनौं वा अनौठो प्रचलन के छ भने कथंकदाचित् घरमा कोही नभएको बेला महिला सुत्केरी भइन् र, उनले जन्माएको बच्चा आवाज ननिकाली म¥यो भने सुत्केरी आफैले बलेसीमा गाडेर सत्गद् गर्न सक्छे । निश्चय नै यो एउटा अनौठो मात्रै नभएर संसारमै अन्य जातिमा नभएको मौलिक संस्कार हुन सक्छ । (तर, हाल यो प्रचलन लोप हुंदै गएको छ) स्वाभाविक रुपमा मृत्यु भएकाहरुलाई भने घु¥यान वा घर नजिकैको बारीमा गाडिन्छ । यसरी गाड्दा मृतकको खुट्टा अलिकति खुम्च्याउने चलन छ ।
कुलुङहरु मृत्युमा सेतो लुगा लगाउने, नुन बार्ने, कांसा–तामा, मासु–मंस बार्ने गर्दैनन् । अझ, मूलथलोका कुलुङहरु मान्छे मरेकै दिन घरमा जे छ, त्यसैले चोखिन्छन् । तर, मूलथलो छाडेका कुलुङहरु भने अन्य जातजातिको देखासिकी र, त्यसो नगर्दा बहिस्कृत हुनु पर्ने डरले नुन नबारे पनि ३–४ दिन बार्ने, कपाल काट्ने, बर्खन्त गर्ने, बर्खन्तमा रांगा, सुगुर मार्ने (स्मरण रहोस्, कुलुङ जातिमा मृतकलाई चढाउंँदा/बिदा दिंदा सिङ भएको जनावर चल्दैन ।) गर्छन् ।

कुलुङ जातिको चाडपर्वहरुमध्ये तोस, देदाम, नागी, मोबो वा साप्लोपा, साइपोम÷साइपोको आदि प्रमुख हुन् भने साह«ै अनिकाल प¥यो, दुःख, बिमार भयो भने देदाम गर्ने चलन छ । यो सा«है खर्चिलो हुन्छ । जोडी सुंगुर, असंख्य कुखुरा, दी र हाङ्मुवा (जाँड रक्सी) आदि इत्यादि चाहिन्छ भने उक्त कार्य गर्दा नोक्छोले सुँगुरलाई ढाडमा तरवार (आजभोलि खुकुरी) ले हानेर मार्नुपर्छ । त्यसरी सुँगुर मार्दा नोक्छोले एकपटकमा जति गहिरो काट्न सक्छ त्यो भन्दा माथिको भाग नोक्छोले आफ्नो घरमा लाने प्रचलन छ । तोस गर्दा योंङ्कुलु भनेर पवित्र ढुंगा राखिन्छ । त्यस्तै नागी गर्दा ‘दी छारी’मा लीप् (घेम्पा) पिँधमा प्वाल पारेर राखिएको हुन्छ, जुन ‘दी’ ले सुक्तुलू (चुल्हो) पुजिन्छ । यो पूजा ठाउँ अनुसार फापर, जौ र कोदोको जाँडले गरिन्छ । यसरी संस्कारगत कुराहरुको हकमा कुरा गर्दा बाहुन–क्षेत्री त के अहिलेसम्म कथित् राई जाति एकै हो भनिएका किरातीहरु, जस्तै बाहिङ, जेरो आदिले समेत कुलुङको घरमा पूजाआजा गर्न मिल्दैन । कुलुङ जातिकै नोक्छो वा पूर्खा चाहिन्छ । कुलुङको सुक्तुलु अर्थात् चुला अरुले छुनसमेत हुंँदैन ।
[email protected]

Published On:  406पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार