६० वर्षदेखि एक्लै बाटो खनिरहेका पासाङ अस्वास्थ्य, बाटो खन्न नसक्दा चिन्तित ! (भिडियोसहित)

Facebook Debugger

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको बाटो ६० वर्षदेखि निरन्तर रुपमा एक्लै खनिरहेका पासाङ शेर्पा ‘खुम्बुका सरकार’ अस्वास्थ्य भएका छन् । केहि वर्षदेखि बेलाबेलामा बिरामी हुँदै आएका शेर्पालाई केहि महिना अघिदेखि झनै बिरामीले च्यापेपछि उनी अस्वास्थ्य भएका हुन् ।

अस्वास्थ्य भएकोमा उनलाई पटक्कै चिन्ता छैन । चिन्ता छ त बाटो खन्न नसक्दा । ८० वर्ष पुगेका पासाङलाई उमेर ढल्किँदै गएपछि बाटो बनाउन नसकिने भयो भनेर धेरै चिन्ता लागेको छ । ७ वर्ष अघिसम्म ढुङ्गा उचाल्दै आएका उनलाई अब चन्दा बाकससमेत बोक्न नसक्दा धेरै चिन्ता लागेको छ । ‘अब त यो चन्दा बाकस पनि बोक्न सक्दिनँ ? अनि कसले दिन्छ पैसा ? अनि कसरी बनाउने बाटो ? साह्रै चिन्ता लागिरहेको छ,’ उनले भने । रोगव्याधि लागेर नथलिए आपूmले बनाउदै गरेको बाटोमामै खट्दाखट्दै मर्ने उनको इच्छा थियो । तर उनको इच्छा अनुसार शरीरले साथ दिएन । ‘मैले बाटोमै रगत, पसिना बगाएँ, जीवन पनि यही बिताएँ, अरुको घरमा भन्दा यही बाटोमा मर्न पाए मलाई आनन्द हुनेथ्यो, मेरा शुभचिन्तकहरुले श्रद्धा व्यक्त गर्नेछन्,’ गहभरि आँसु पार्दै शेर्पाले अन्तिम इच्छा सुनाए ।
को हुन पासाङ शेर्पा उर्फ ‘खुम्बुका सरकार’ ?
उनले भौतिक सम्पत्ति, सुखसयल र आनन्दको जिन्दगी रोजेनन् । बाटो निर्माण गरेर अरुलाई हिँडडुल गर्न सहज बनाउन सके मनले शान्ति पाउँछ भन्दै अरुको उपकारको बाटो रोजे । सायद भौतिक सुखलाई नै परम सुख ठानी धनदौलतको पछाडि लागेको भए उनी यतिबेला भव्य महलमा हुन्थे, उनलाई चाहिने सम्पत्ती पनि जोड्थे होला । तर उनी यतिबेला बाटो हिँड्ने बटुवाहरुसँग हातमा चन्दा बाकस बोकेर खुम्बुपासाङल्हामु गाउँपालिकास्थित नाम्चे र क्याङजुमाबीचको सगरमाथा जाने बाटो खनिरहेका छन् । त्यो पनि एक्लै ६० वर्षदेखि निरन्तर रुपमा । उनी अहिले चन्दा बाकस समेत आफैले बोक्न सक्दैनन्, तर उनकी कान्छी श्रीमतीलाई चन्दा बाकस बोकाएर अझै बाटो बनाउने काममा अस्वास्थ्यताका बाबजुत पनि निरन्तर लागिरहेका छन् ।
उनको नाममा सानो छाप्रोसमेत छैन, डेरामै जिन्दगी कटाएर सिङ्गो जीवन नै बाटो बनाउने काममा सुम्पेका उनी हुन्, ८० वर्षीय पासाङ शेर्पा । न कुनै संस्था न उनका सहयोगी साथीहरु नै । तैपनि एक्लैले यति लामो बाटो निर्माण गरेका छन् की यसको कुनै मापन नै छैन । पाखुरामा बलको तेज चढ्दै गर्दादेखि नै कुटो, कोदालो, गैँती र घन बोकेर बाटो बनाउन निस्केका पासाङ जीवनको उत्तराद्र्धमा आइपुग्दासमेत बाटो बनाएर थाकेका छैनन् । आफ्नो घर गृहस्थी सबै त्यागेर सिङ्गो जीवन नै बिग्रे भत्केको बाटो निर्माणमा लागेका उनको बाटोमै देह अन्त होस् भन्ने अभिलाषा छ ।

वि.सं. २०१५ सालदेखि नै विश्वको सवोच्च शिखर सगरमाथा क्षेत्रको बाटो निर्माण गर्न थालेका शेर्पाले अनवरत रुपमा आजसम्म निरन्तरता दिइरहेका छन् । बाटो निर्माण गर्न थालेको ६० वर्षको अवधिमा उनले सगरमाथा क्षेत्रमा ओहोरदोहोर गर्ने मूलबाटोहरु दिङ्बोचे तथा फेरिचेदेखि पाङ्बोचे, तेङ्बोचे हँुदै नाम्चेको खोङमाडाँडा नजिकसम्म ल्याइसकेका छन् । बाटोसँगै जिन्दगीलाई साटेका शेर्पाले आफू जन्मेको ठाउँमा बाटो बनाएका भने होइनन् । उनको जन्म सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका काँकुस्थित मूलखर्कमा भएपनि उनले सगरमाथा क्षेत्रका पर्यटकीय पदमार्गहरुको निर्माण गरेका हुन् ।
अरु केही नभए पनि उनी चन्दा बाकस सधैँ आफ्नै साथमा बोक्छन् । आफूले गर्ने काम र सहयोगको याचना समेटिएको कागजात पनि त्यही हुन्छ । पासाङले अरुलाई सहयोग गर्नुहोस् भनेर भनिरहनुपर्दैन । नयाँ पर्यटकका लागि उनीसँगै भएको कागज काफी हुन्छ, भने पुरानाहरु पासाङ बाटो निर्माण गर्ने समाजसेवी हुन् भन्नेमा चिरपरिचित छन् ।
पर्यटकलाई चन्दा माग्दै बाटो बनाउँदै आएका उनलाई खुम्बुवासी ‘खुम्बुका सरकार’ भनेर सम्बोधन गर्छन् । हुन पनि सरकारको उपस्थितिबिना नै सगरमाथा आवतजावत गर्ने पर्यटकलाई स्वेच्छिक चन्दा मागेकै भरमा उनले यस क्षेत्रमा ७० किलोमिटरभन्दा बढी बाटो निर्माण गरिसकेका छन् । उच्च हिमाली क्षेत्रमा बाटो बनाउनु पर्ने भएकाले अत्याधिक चिसो, माइनस १ भन्दा माथि तापक्रमको सामना गर्दै उनले निरन्तर बाटो बनाइरहे । अझ आश्चर्य लाग्दो कुरा त के छ, भने, यस क्षेत्रमा पर्यटकहरु मुश्किलले एक दिनमा २ किलोमिटरभन्दा बढि हिड्न सक्दैनन् । तर पासाङ भने यही उच्च हिमाली क्षेत्रमा हातमा गैती लिएर ६० वर्ष पहिलेदेखि निरन्तर बाटो खनिरहेका छन् ।
सुरुमा पर्यटक भरिया भएर कालापत्थर ट्रेकिङमा जाँदा बाटोघाटो बिग्रिएको, भत्किएको र धेरै पर्यटक लडेर खुट्टा मर्किने भाँच्नेलगायतको समस्या देखेपछि उनलाई बाटो बनाउने चाहना बढेको रहेछ । त्यसको वर्षदिनपछि उनले एउटा जुक्ति निकाले । त्यो जुक्ति पर्यटकलाई पैसा माग्दै त्यही बाटो बनाउने थियो । यसका लागि उनले सगरमाथा राष्ट्रिय निकुञ्जसँग अनुमति मागे र स्वीकृति पत्र पनि बनाउन लगाए ।

सगरमाथा पदमार्गमा पर्ने दिङ्बोचेबाट बाटो निर्माण गर्न थालेका उनलाई जीवन नै बाटो बनाएर बिताउँछु भन्ने लागेको थिएन । ‘बाटो निर्माण गर्दै जाँदा प्रशंसक र पर्यटकको स्याबासीले गर्दा यो क्षेत्र त्यागेर जान मनै लागेन, बाटो बनाउने मोहका कारण आज म बाटोमै मर्ने अवस्थामा पुगेको छु,’ पासाङले भने । उनले बनाएका बाटोहरु पुनर्निर्माण गर्नुपर्ने तरिकाले बनाएनन् । सिजनमा प्रायः व्यस्त रहने यस क्षेत्रको बाटोमा ओहोरदोहोर हुन मिल्ने गरी बनाएका छन् । जस्तोसुकै अप्ठ्यारो बाटोमा पनि उनले कम्तीमा चार फुट चौडा बाटो निर्माण गरेका छन् । शेर्पा भन्छन्, ‘दिङ्बुचे र फेरिचेदेखि यता यहाँ (नाम्चेको खोङ्मडाँडा)सम्म मेरो पसिना र रगत बगेको छ ।’ बाटो बनाउँदा सुरुका दिनमा कतिले असहयोग गरेको समेत उनको तीतो अनुभव छ । ‘रकम संकलन गरेर भाग्छ होला भन्दै मलाई कतिले पैसा नै दिएनन्, पछि थोरै रकमबाट धेरै काम भएको प्रत्यक्ष आँखाले देखेपछि उनीहरुले मलाई सहयोग गर्न हौसिए,’ पासाङले भने । पछिल्ला वर्षहरुमा उनले सिजनका बेलामा ६÷७ जना कामदार राखेर बाटो बनाइरहेका छन् । बाटो बनाउने मात्र हैन, बाटो आसपासमा उनले रोपेका ६०० भन्दा बढी बिरुवा पनि उनीभन्दा अग्ला हुन थालेका छन् ।
उनलाई देखेर अचम्मित हुनेहरु धेरै छन् । सुरुका दिनमा उनलाई देख्नेहरु उनीहरुको देशमा पुगेर पाँच÷सातपटक नेपाल आउँदासमेत उनको त्यही कामको निरन्तरता देखेर आश्चर्य मान्ने गरेको उनले बताए । हुन पनि उनको बाटो निर्माण यात्रासँगै ट्रेकिङ गर्न सुरु गरेकाहरुले बूढो भएर ट्रेकिङ पेसा नै छाडिसकेका रहेछन् तर पासाङ भने बाटो बनाएर कहिल्यै थाकेका छैनन् । बरु अझ धेरै वर्ष बाँच्न पाए हुन्थ्यो भन्ने चाहना राख्छन्, पासाङ । ‘मैले बाटो बनाउन सुरु गर्दा ट्रेकिङ सुरु गरेकाहरु कोही बूढो भए, कोही मरिसके, यो बाटोमा देखिन छाडेका छन् । म पनि कुन दिन मर्छु होला अलि बढी बाँच्न पाए बाँकी बाटो निर्माण गर्थें,’ उनले बढी बाँच्ने चाहना व्यक्त गर्दै भने ।
चाउरी अनुहार, कुप्रो शरीर, फुलेका कपाल अनि पावरवाला चश्मा लगाएका उनको बाटो बनाउने शैली विगत चार÷पाँच वर्ष यता बदलिएको छ । आफैँ ढुङ्गा फुटाउने, ढुङ्गा उचाल्ने र गारो लगाउने काममा तल्लिन हँुदै आएका उनको भूमिका चार÷पाँच वर्ष यता अ¥हाउने र रकम जम्मा गर्ने काममा मात्र सीमित हुन थालेको छ । बुढ्यौलीले छुँदै गएपछि शारीरिक अशक्तताका कारण उनको भूमिका साँघुरिएको पासाङ बताउँछन् । ‘दिनको दुई जना कामदार लगाएको छु, अरुले गरेको काम चित्त बुझ्दैन, आफैँले काम गरेजस्तो हँुदैन, ढुङ्गा उचाल्न मन लाग्छ तर सक्दिनँ,’ उनले शरीरले साथ दिन छाडेको दुखेसो गर्दै भने ।
पूरै घर गृहस्थी त्यागेर अविचलित रुपमा बाटो निर्माण गर्ने काममै होमिएका पासाङको जीवन भने त्यति सुखद रहेन । वि.सं. २०१६ मा पहिलो विवाह गरेका उनले २०३६ सालमा माइली विवाह गर्नुपरेको थियो । पहिलो श्रीमतीको देहान्त भएपछि माइली विवाह गरेका उनले माइली श्रीमतीबाट खुसीभन्दा पनि पीडा बढी पाएका रहेछन् । उनको कामप्रति सन्तुष्ट नरहेकाले माइली श्रीमतीले गाली गरिरहने र सन्तानसमेत नभएपछि बीचैमा छाडेर गइन् । फलस्वरुप उनले सात वर्षअघि कान्छी श्रीमतीका रुपमा ल्हमू शेर्पालाई भित्र्याए । खुम्जुङस्थित एउटा घरको कोठामा पासाङलाई उनै ल्हमूले लालनपालन र साथ सहयोग गर्ने गर्छिन् ।

अरुको खुसीमा आफ्नो खुसी हुने, अरुलाई सघाउन पाउँदा आत्मा प्रफुल्ल हुने बताउने पासाङ कयौँको स्याबासीको पात्र मात्र बनेका छैनन् उनलाई नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समेत दोसल्ला ओढाएर सम्मान गरिसकेको छ । उनले गरेको कार्यको सराहना गर्दै पर्यटन मन्त्रालयले ६ वर्षअघि १६ हजार नगद र ताम्रपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको पासाङले बताए । भौतिक रुपमा दरिद्र भए पनि प्रशंसा र स्याबासीको ओइरो लाग्दा धनी भएको महसुस हुने उनको अनुभव छ । उनी भन्छन्, ‘मेरो देख्ने सम्पत्ति छ भने सरकारले दिएको ताम्रपत्र मात्र छ, अरु त जीवनभरि बनाएको बाटो नै हो ।’ उनलाई शेर्पा संघ युरोपले पनि सम्मान गरेको छ । उनलाई दुई लाख २० हजार नगदसहित संघले सम्मान गरेको थियो ।
त्यत्तिमात्र होइन उनलाई रिपब्लिक मिडियाले ‘नागरिक नायक’को उपाधिले सम्मान गरिसकेको छ । खुम्बु क्षेत्रमा पदयात्रीका निम्ती सडक बनाउने क्रियाशिल अभियान्ताको रुपमा शेर्पालाई सम्मान गरिएको थियो । ‘धनले धनी मानिसहरु मरेर जाँदा उनका सन्तानले बनाए माने चौतारासम्म हुन्छ, त्यस बाहेक अरु केही हुँदैन, मैले बाटो बनाएँ, म मरेपछि पनि रहन्छ र अरुले राम्रो भन्छन्, मलाई सम्झिदै यो बाटो हिड्छन ।’ शेर्पाले भावुक भएर भने ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस । शेर्पाकोसँग एक वर्ष अगाडि गरिएको कुराकानी । 

६० वर्षदेखि एक्लै बाटो खनिरहेका पासाङ

पासाङ शेर्पाले ६० वर्षदेखि एक्लै सगरमाथा क्षेत्रमा बाटो खनिरहेका छन् ।

Gepostet von Sagarmatha Online am Dienstag, 11. September 2018

Published On:  928पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार