सप्तरीमा स्वाइनफ्लु र हङकङफ्लुग्रस्त विपद् क्षेत्र घोषणा, ४ जनाको मृत्यु

4.5k Shares

राजविराज । प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको आकस्मिक बैठकले स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामीको ¥याल परीक्षण गरी उनीहरूमा स्वाइनफ्लु र हङकङफ्लु भएको पुष्टि गरेपछि कञ्चनरुप नगरपालिकालाई विपद् क्षेत्र घोषणा गरिएको हो ।

सो क्षेत्रमा केही दिनदेखि रुघाखोकी र ज्वरोका बिरामीमा ‘एचवानएनवान’ (स्वाइन फ्लु) र ‘एचथ्रिएनटु’ (हङकङ फ्लु) को भाइरस फेला परेको छ । उक्त रोगका कारण कञ्चनरुप नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका पाँचको मृत्यु भएको नगरपालिका प्रमुख वसन्त मिश्रले बताए ।
सो रोगबाट कञ्चनरुप नगरपालिका–४ की ६० वर्षीया भालसरदेवी सरदारको विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा र महदेवा गाउँपालिका–१ का ८ वर्षीय बालक महफुल आलमको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । यस्तै कञ्चनरुप नगरपालिका–७ का १४ वर्षीय दिवश बस्नेत, ३ का १४ वर्षीय किशोर राम र ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्यु भएको थियो ।
भदौ २४ देखि तीन दिनसम्म सञ्चालन गरिएको हेल्थ क्याम्पमा जम्मा एक हजार ९२ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । जसमध्ये २४ को रगत, ¥याल परीक्षणका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । रगत परीक्षणका क्रममा कञ्चनरुप नगरपालिका ६० वर्षीय हरिलाल साहलाई स्वाइन फ्लुको संक्रमण फेला परेको उक्त प्रयोगशालाको रिर्पोटमा उल्लेख छ । कञ्चनरुपका १८ तथा हनुमाननगर नगरपालिकाका छ गरी २४ जनामा गरिएको परीक्षणका क्रममा एक जनामा स्वाइनफ्लु र १० जनामा हङकङफ्लु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरञ्जनप्रसाद यादवले बताए । साथै आठ जनाको रिपोर्ट आउन अझै बाँकी रहेको उनले बताए ।
एकपछि अर्को गर्दै लगातार बिरामीको सङ्ख्या थपिँदै गएपछि स्थानीय त्रसित भएको सोही कञ्चनरुप नगरपालिकाका रोहित देवले बताए । यता जिल्ला जनस्वास्थ्य कार्यालयलगायतका सरोकारवालाले भने पाँचै जनाको मृत्युको कारण स्वाइनफ्लु नै भएको अहिले भन्न सक्ने अवस्था नरहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार