सोलुखुम्बुमा बालविवाह घट्दै

Facebook Debugger

बुद्धवीर बाहिङ । सोलुखुम्बु जिल्लामा बालविवाह गर्ने बालबालिकाको संख्या घटेको छ । १० वर्ष अघिदेखि अहिलेसम्मको तथ्यांकलाई हेर्दा जिल्लामा बालविवाह गर्नेको संख्या पहिलेको तुलनामा अहिले घटेको हो ।
५ वर्षको तथ्यांकलाई हेर्दा महाकुलुङ र माप्यदुधकोशी गाउँपालिकामा बालविवाह गर्ने बालबालिकाको संख्या ह्वात्तै बढेको थियो । तर, पछिल्लो समय विभिन्न संघ सस्थाले जनचेतनामूलक कार्यक्रम गरेपछि बालविवाह गर्नेको संख्या घटेको छ । जिल्लाको एकाध ठाउँको घटनालाई छोड्ने हो भने सोलुखुम्बुमा अहिले बालविवाह प्रायः शुन्य जस्तै छ ।
केहि वर्षअघि महाकुलुङ गाउँपालिकामा अधिक मात्रामा बालविवाह भएपछि एक समिति गठन गरी जनचेतनाको साथमा तथ्यांक संकलन समेत गरिएको थियो । समितिले महाकुलुङको प्रत्येक गाउँमा गएर बालविवाह गर्नेको तथ्यांक संकलन गरेको थियो । तथ्याङ् अनुसार वि.सं २०६३ सालदेखि २०७४ साल सम्म १८ वर्ष भन्दा कम उमेरका ९२ जना बालबालिकाले विवाह गरेको पाइएको छ ।
महाकुलुङ गाउँपालिकामा विद्यालय पढ्दै गरेका धेरै विद्यार्थीहरुले बालविवाह गरेका छन् । पढ्दा पढ्दै विद्यार्थीले विवाह गरेपछि गुदेल माध्यमिक विद्यालयले विगत ६ वर्षदेखि २ हजार ५ सय जरिवाना दिँदै आएको छ । जरिवाना शुल्क पनि विद्यार्थीहरुले नै पढ्दा पढ्दै विवाह गर्नेलाई कति जरिवाना गर्ने भनेर चुनाव गरेर तोकेका हुन् । उनीहरु आफैले जरिवाना शुल्क तोकेपछि बालविवाह गर्ने संख्या घटेको छ ।
यता माप्यदुधकोशी गाउँपालिकाको वाप्साखानी मगर गाउँका अधिकांश बालिकाले १५ वर्ष नपुग्दै विवाह गरेको तथ्यांक सार्वजनिक भएपछि स्थानीय संघ सस्थादेखि जिल्लास्थित सरोकारवालाहरुको ध्यानाकर्षण भएको थियो । सरोकारवालाहरुले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी बालबालिकालाई सम्झाएपछि अहिले वाप्सा मगर गाउँमा पनि वालविवाह स्वात्तै घटेको छ ।
दुई वर्षअघि वाप्सा बदबर टोलकी १४ वर्षीया सुष्मा रजानमगरको वाकु–९ लाखुका १६ वर्षीय किशोर हीराकाजी रानामगरसँग विवाह भएपछि वाप्सामा भएका अन्य बालविवाह सार्वजनिक भएको थियो । कानुनी रुपमा दुवैको उमेर नपुगे पनि अभिभावककै सहमतिमा उनीहरुको विवाह भएको हो । यस्ता घटना सोलुखुम्बुमा मात्र होइन नेपालभरनै पाइएको छ । जिल्लामा पहिले अभिभावहरुकै मिलेमतोमा बालविवाह भएको उदाहरणहरु पनि प्रशस्तै थिए । तर, अहिले अभिभावकहरुमा पनि छोराछोरीको उमेर पुगेपछि मात्र विवाह गरिदिनुपर्छ भन्ने चेतना आएको छ ।
वाप्साखानीमा एक सय ५० घर मगर परिवारको छ । ७/८ वर्ष पहिले ९० प्रतिशत बालिकाको विवाह गर्ने उमेर नभई बालविवाह हुने गरेको स्थानीय गोविन्द थापामगरले बताए । ‘कानुनले अवैध मानेको बालविवाह परम्पराकै रुपमा वाप्सामा स्थापित भएको थियो, तर अहिले छैन’ थापामगरले भने, ‘पछिल्लो सात वर्षमा बल्ल एक जना सन्ध्या थापामगरले २१ वर्षमा विवाह गरिन, केटीको पहिलो रजस्वला नहुँदै वाप्साका धेरै बालिकाको विवाह भइसक्थ्यो, त्यो चलन अहिले हटेको छ ।’
१० वर्षको तथ्यांकलाई हेर्दा पनि वाप्साखानीका २४ जनाभन्दा बढीको बालविवाह भएको छ । बालविवाह अन्यत्र विकृति मानिए पनि यस गाउँमा सामान्य जस्तै भएको स्थानीय बताउँछन् । बालविवाहका कारण पढाईलाई बीचैमा छोड्दा धेरैको पढाईले निरन्तरता पाएको छैन । यस गाउँमा विद्यालय उमेरका अधिकांशले बीचैमा पढाई छाडेर विवाह गरेपछि अझै उनीहरुले पढाईलाई निरन्तरता दिन सकेका छैनन् ।
गत फागुन २४ गते महिला दिवसको दिन थुलुङ दूधकोशी गाउँपालिका ४ जुबुमा हुन लागेको बालविवाह प्रहरी, महिला विकास र स्थानीय जनप्रतिनिधिको संयुक्त पहलमा तत्कालका लागि रोकिएको थियो । दुई महिना नपुग्दै सोही ठाउँकै दलित परिवारमा हुन लागेको अर्को बाल विवाहको तयारी अन्तिम चरणमा पुगेको थाहा पाएपछि त्यो विवाह पनि रोकिएको थियो । ती बालबालिका र उनका परिवालाई बालविवाह गर्दा हुने समस्या र कानूनको बारेमा सम्झाएपनि विवाह रोकिएको थियो ।

जिल्लामा बालविवाहका यस्ता छिटफुट घटनाहरु बारम्बार दोहोरिरहेका छन् । कत्तिले अञ्जानमा त कत्तिले जानीजानी बालविवाहलाई प्रोत्साहन गरिरहेका छन् । केहि महिना अगाडी भर्खर ८ पास गरेकी १८ वर्षिया दलित समुदायकी एक किशोरीको मागी विवाह देउसाका एक शिक्षकसँग हुन लागेको खबरले सरोकारवालाहरुलाई नै स्तब्ध बनाएको थियो । शिक्षकले नै बालविवाह गर्छन भने, झन अन्य समुदायका मानिसहरुको अवस्था कस्तो होला ? भन्ने प्रश्न सरोकारवालाहरुको मनमा उब्जीनु स्वभाविकै हो । बालविवाहको एउटा घटना सेलाउन नपाउँदै अर्को घटना बाहिर आउनुले सरोकारवालाहरुलाई समेत स्तब्ध बनाएको छ । जिल्लाको कुनै कुनै गाउँमा बालविवाहको समस्या देखिए पनि अधिकांश क्षेत्रमा पहिलेको तुलनामा धेरै कम भएको तथ्यांकले देखाएको छ ।
केहि समय अगाडि केन्द्रीय बालकल्याण समितिले सार्वजनिक गरेको प्रतिवेदनमा ४ महिनाभित्र १४ जिल्लामा ४० बालविवाह भएको देखाएको छ । त्यो प्रतिवेदनमा बालविवाह गर्ने १४ जिल्लामध्ये सोलुखुम्बुमा पनि एउटा बालविवाह भएको तथ्यांक छ । ती बालविवाहमध्ये अभिभावकद्वारा ३५ प्रतिशत र भागी विवाह ६५ प्रतिशत भएको तथ्यांकमा उल्लेख गरिएको छ । भागी विवाहका घटनालाई हेर्दा विभिन्न सामाजिक सञ्जाल र फेसबुकमार्फत उमेर नपुग्दै विवाह हुने गरेको तथ्यांक सार्वजनिक भएको हो ।
विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार अहिले पनि नेपालमा वार्षिक १३ हजार बालविवाह हुँदै आएका छन् । बाल विवाहका कारण सामाजिक बनावट, विविधता एवं परिवेश र व्यक्ति विशेषमा पनि फरक छ । अभिभावकले गरिबीको कारण आफ्नो जिम्मेवारीबाट मुक्त हुन छोरीको सानै उमेरमा विवाह गरिदिने प्रचलन छ । कहीं छोरीलाई जति पढायो उती दाइजो बढायो भन्ने सोंचले सानैमा विवाह गरिदिँदा कम दाइजो भए पुग्छ भन्ने मान्यता छ । अर्कोतर्फ आफ्ना अग्रजको देखासिकी, रहर, विभिन्न सामाजिक सञ्जालले ल्याएको निकटताको कारण पनि बालबालिका विवाह गर्ने चलन बढेको छ ।
मुलुकी ऐनको पछिल्लो संशोधनमा विवाह गर्न २० वर्ष पूरा गर्नुपर्ने प्रावधान भए पनि हाम्रो समाजमा बालविवाहजस्तो सामाजिक कुप्रथा कायमै छ । बाल विवाह परम्परागत सामाजिक अभ्यास भए पनि अहिले यसलाई कुसंस्कारको रुपमा लिइन्छ । समाज सुधार गर्न र विभिन्न प्रतिबद्धता पूरा गर्न नेपाल सरकारले विभिन्न नीतिगत तथा कानुनी प्रयास गरेको छ, तर एकातर्फ परिवारले सानै उमेरमा विवाह गरिदिने र अर्कोतर्फ उमेर नपुग्दै विद्यालय शिक्षामा रहेका केही बालबालिकाले आफैँ विवाह गर्ने परिपाटीले गर्दा बालविवाहमा उल्लेख्य सुधार आउन सकेको छैन ।

Published On:  272पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार