‘कान्छो आरोही’को नाम गिनिज बुकमा लेखाउँछु : आरोही नर्बिन मगर (भिडियोसहित)

  बुद्धवीर बाहिङ
1k Shares

काठमाडौं । सगरमाथा आरोही नर्बिन मगरले सातै महादेशको सबैभन्दा अग्लो हिमाल आरोहण गरेर ‘कान्छो आरोही’को नाम गिनिज बुकमा राख्न अभियान थालेका छन् । काठमाडौंमा एक कार्यक्रमबीच आरोही मगरले विश्वको सर्वोच्च शिखर सगरमाथा, अफ्रिकाको किलिमाञ्जरो र युरोपको सबैभन्दा अग्लो हिमाल एल्बुरस गरी तीन हिमालको सफल आरोहण गरिसकेको बताउँदै बाँकी चार महादेशको हिमाल पनि चढेर ‘कान्छो आरोही’को नाम गिनिज बुकमा लेखाउने बताएका हुन् ।

‘सुरक्षित भविष्यको लागि हिमाल बचाउँ’ भन्ने उद्देश्य लिएर विश्वको सर्वोच्च शिखर सगरमाथा सफल रुपमा आरोहण गरेपछि सातै महादेशको अग्लो हिमाल आरोहण गरेर विश्व कीर्तिमानी राख्न अभियान शुरु गरेका हुन् । आरोही मगरले एक सय ६ दिनमा तीन वटा महादेशको अग्लो हिमाल सफल आरोहण गरेका छन् । ‘तीन वटा हिमाल चढ्दा भएको पैसा पनि सकियो, अन्य चार महादेशका हिमाल चढ्न आर्थिक अभावका कारण सबैले सहयोग गर्न आग्रह गर्दछु’ आरोही मगरले भने, ‘मेरो व्यत्तिगत, सामुदायका लागि भन्दा पनि नेपालको लागि सात महादेशको हिमाल चढ्दै छु, त्यसैले सबैले आफूले सकेको सहयोग गर्न अनुरोध गर्दछु ।’
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य लाक्पा शेर्पाले हिमाल शेर्पाले मात्रै चढ्दैनन् भन्ने सन्देश संसारभरका मानिसलाई दिनको लागि पनि आरोही मगरलाई सहयोग गर्ने बताएका छन् । शेर्पाले आफू उपप्रधान तथा स्वास्थ्य मन्त्रीको सचिवालयमा भएकाले सरकारी स्तरबाट सकिने सहयोग गर्ने बताएका हुन् ।

‘आदिवासी जनजातिलाई चै राज्यसत्ता भनेको नेपालको सन्दर्भमा एका देशको कथा जस्तो रहेछ’ केन्द्रीय सदस्य शेर्पाले भने, ‘मैले मन्त्रालयमा परोपकारका कुराहरु, गर्नै पर्ने अति आवश्यकीय कुराहरु गर्दा पनि कर्मचारीले झुलाएको देख्दा म आफै छक्क परेको छु ।’
किरात खालिङ राई उत्थान संघका केन्द्रीय अध्यक्ष अर्जुन खालिङले आरोही नर्बिन मगरको अभियानमा विभिन्न समुदायको व्यक्तिहरु सहभागी भएकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा अभियान चलाउनु पर्ने बताएका छन् । अहिलेको समयमा भरपर्दो माध्यमको रुपमा विभिन्न सामाजिक सञ्जालको सदुपयोग गर्दै सञ्चार माध्यम र पत्रकारहरुलाई भरपुर उपयोग गर्नुपर्ने बताएका हुन् ।

पर्यटन व्यवसायी दिलकुमार राईले आरोही मगरको अभियान सिंगो देशको लागि सुवर्ण अवसर भएको बताएका छन् । पारिवारिक स्थिति कमजोर भएपनि उच्च संकल्पका साथ लागेकाले उनले देखेका सपना साकार हुँदै गएको व्यवसायी राईले बताए ।

पत्रकार लाक्पा जी शेर्पाले बोलेर भन्दा पनि गरेर देखाउनु पर्ने बताएका छन् । मगरको अभियान सिंगो देशको अभियान भन्दै राजनीतिक पहुँचको आधारमा राज्य संरचना चल्ने सँस्कार भएकाले कति सम्म राज्यको पहुँचमा पुग्छौं भन्ने प्रश्न पनि शेर्पाले गरे ।

लोक गायिका विमला मगरले कलाकारिताको क्षेत्रबाट आफूले सकेको सहयोग गर्ने बताए । देश विदेशमा रहेका आफन्तहरुलाई सम्पर्क गरेर मगरको यो महान अभियानमा सहयोग गर्नुपर्ने पनि गायिका मगरले बताए ।

समाजसेवी निरु गाहामगरले नर्बिन मगरको महान अभियानमा साना तिन कुरामा नअल्झिई एक ढिका भएर लाग्नुपर्ने बताएका छन् । काम गर्दै जाँदा हरेक कुराको अनुभव गरिने भएकाले यो अभियानले पक्कै नर्बिनको सपना पूरा हुने समेत गाहामगरले बताए ।

आरोही नर्बिन मगरलाई सहयोग गर्ने उद्देश्यले महेश रानामगरको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको छ । समितिको सहसंयोजकमा पर्यटन व्यवसायी दिलकुमार राई, सचिवमा पत्रकार प्रकाश खालिङ, कोषाध्यक्षमा समाजसेवी जुनु पुनमगर रहेका छन् । सदस्यहरुमा गायिक बिमला मगर, पत्रकार पीटी लोप्चन, लाक्पा जी शेर्पा, बुद्धवीर बाहिङ, सप्तरंगी सुनौलो ग्रुप र श्याम रानामगर रहेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार