मनाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्मको आज उद्घाटन गरे।
सो अवसरमा उहाँले कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गरिनुपर्ने बताए। स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने खालको उदाहरणीय काम एग्रो मनाङले गरेको भन्दै प्रधानमन्त्रीले आधुनिक प्रविधिको प्रयोग गरी कृषि क्षेत्रबाट उद्योगतर्फ जान सकिने विचार व्यक्त गरे ।
उहाँले सरकारले यो वर्ष स्याउ कृषकका लागि रु १० करोड अनुदान दिएको र एक लाख स्याउ बिरुवा वितरण गर्ने योजना रहेको बताए ।
अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले सुशासन र विकासको बाटोबाट समृद्ध नेपाल र सुखी नेपाली बनाउने सरकारको लक्ष्य रहेको भन्दै विकट र असुरक्षित स्थानमा विकास गर्न कठिनाइ हुने भएकाले त्यस्ता बस्तीलाई सारेर एकीकृत बस्ती बनाउनुपर्नेमा जोड दिए।
मनाङका प्रतिनिधिसभा सदस्य पाल्देन छोपाङ गुरुङ र उहँका छोरा दुई समराज गुरुङ्ग,युवाराज गुरुङ्गद्धारा स्थापना गरिएको स्याउ बगैँचामा ६८ हजार स्याउका बिरुवा छन् । आगामी वर्ष १० हजार बिरुवा थप्ने समराज गुरुङ्गले.बताए ।

७३५ रोपनी क्षेत्रफलमा स्याउ लगाइएकामा ४२५ रोपनी क्षेत्रफलबाट उत्पादन भएको छ । स्याउ बगैँचा मा रु ३० करोडको लगानी रहेको छ । एग्रो मनाङ्ग प्रालिका अध्यक्ष समराज गुरुङका अनुसार ५५ जना कर्मचारी रहेका छन् । उहाँका अनुसार अत्याधुनिक चिस्याङ केन्द्रमा जुस उद्योगको समेत स्थापना गरिएको छ ।