मृतकका परिवारलाई दावी रकम हस्तान्तरण

14 Shares

ओखलढुंगा । नेपाल लाइफ इन्सुरेन्सले ओखलढुंगाको मोलुङ गाउँपालिका–८ मा पहिरोमा परी ज्यान गुमाएका पीडितका परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । गत भदौ १३ गते राति पहिरोमा परी मृत्यु भएका पूर्णबहादुर राईका छोराछोरीलाई २ लाख ६ हजार ५०० रुपैयाँ प्रदान गरिएको हो ।
मृतक पूर्णबहादुरले गत असारमा १ लाखको जीवन विमा गरेका थिए । उनले पहिलो किस्ता तिरेकाले क्षतिपूर्तिस्वरुप १ लाख, दुर्घटनाबाट मृत्यु भएकाले १ लाख र १ वर्षको बोनस गरी उक्त रकम हस्तान्तरण गरिएको हो । नेपाल लाइफको उपशाखा कार्यालय ओखलढुंगाले पूर्णबहादुरका दुई छोरी उर्मिला, सुशीला र एक छोरा आशीषलाई संयुक्तरुपमा रकम बराबरको चेक प्रदान गरेको उपशाखा प्रमुख छवीलाल मगरातीले बताए ।
उक्त घटनामा उनीसहित उनकी श्रीमती धनकुमारी राई, छोरा अनिश राई र दिदी मित्रमाया राईको मृत्यु भएको थियो । पूर्णबहादुरका १३ वर्षीया छोरी उर्मिला राई, ७ वर्षीया छोरी सुशीला राई र ६ वर्षका छोरा आशीष राई मावली घरमा गएकाले पहिरोबाट जोगिएका थिए ।
चिशंखुगढी गाउँपालिका–७ स्थित मावलीको संरक्षणमा बस्दै आएका पूर्णबहादुरका छोराछोरीलाई उक्त गाउँपालिकाकी उपाध्यक्ष शुष्मा राई र इन्सुरेन्सका उपशाखा प्रमुख छवीलाल मग्रातीले संयुक्तरुपमा चेक हस्तान्तरण गरेका हुन् । रकम पाएपछि पीडित परिवारले राहत महशुस गरेका बताए ।
ओखलढुंगामा सबैभन्दा बढी प्रथम विमा शुल्क जम्मा गर्ने र छिटो छरितो सेवा प्रवाह गर्ने कम्पनीको रुपमा नेपाल लाइफ इन्सुरेन्स परिचित छ । यसले गत आवमा डेढ करोड प्रथम विमा शुल्क संकलन गरेको थियो । यो आवमा जिल्लामा प्रथम विमा शुल्क संकलन दोब्बर बनाउने लक्ष्य लिएको उपशाखा प्रमुख मग्रातीको भनाई छ । यो आर्थिक वर्षमा जिल्लाबाट मृत्यु दावी रकम भुक्तानी लिने पूर्णबहादुरको परिवार पहिलो हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार