खोइँछ भर्ने विधिको रौनक मिथिलका नारीमा

35 Shares

जनकपुरधाम । बडादशैँको अष्टमीका दिन आज मिथिलाका नारीहरूले सौभाग्यवती एवं सन्तानको कामना गर्दै देवी दुर्गा भवानीको ‘खोइँछ’ ९पोल्टा० भर्ने विधि सम्पन्न गरेका छन् ।

नवरात्र शुरु भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले शक्तिपीठमा दुबो, धान, बेसारको गिँड, सिन्दूर, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत खोइँछ भर्ने विधि सम्पन्न गरेका छन् ।

त्यस्तै सो विधिका सन्दर्भमा भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइतमा आउने, नौ दिनसम्म माइतमा बस्ने र दशमीका दिन ससुराली जाने गर्दछिन् भनी खोइँछ भर्ने मान्यता रहेको पनि पाइन्छ ।

पण्डित मिथिलेश ठाकुरका अनुसार यस पटक भगवतीको आगमन डुङ्गा र प्रस्थान हात्तीमा रहेको छ । डुङ्गामा आगमन र हात्तीमा प्रस्थानलाई सुखदको सूचक मानिन्छ । मिथिलाञ्चलको पुरानो परम्परा रहेको यो विधि पूरा गर्न रातिदेखि नै शक्तिपीठ, देवीमन्दिर र देवीको प्रतिमा स्थलमा विवाहित मैथिल महिलाको घुइँचो लागेको थियो ।

प्राध्यापक परमेश्वर कापडी खोइँछ भर्ने परम्परा कोखसँग सम्बन्धित भएकाले भगवती दुर्गाको सान्निध्यले आनन्द, सुख, आरोग्य र जन्म धन्य हुने विश्वासले मैथिल महिलाहरू खोइँछ भर्ने गरेको बताए । भगवतीको उपासना मातृपूजा भएकाले यसबाट शारीरिक, मानसिक र आमाको शक्ति जागृतिसँग सम्बन्धित रहेको पनि उहाँ स्पष्ट गरे ।

खोइँछलाई जनभाषामा खोइँछा पनि भनिन्छ । खोइँछ दिनुलाई समृद्धि, परिपूर्णता, र भावनात्मक शुभाशीषको प्रतीक मानिन्छ । यसको सम्बन्ध आँचलसँग हुन्छ । आँचल महिलाका लागि सबैभन्दा ठूलो निधि हो । आँचल यस्तो अमूल्य हो, जसलाई बाँधिएमा खोइँछ र खोलेमा आँचल हुन्छ । खोइँछमा प्रमुख रूपले प्रदान गरिने धानलाई अन्नपूर्णा देवीको प्रतीक मानिन्छ, जसको अभिप्राय अन्नको अभाव कहिल्यै नहुने, दुबोलाई भगवान् शिव र विष्णुको प्रतीक मानिन्छ । जसको अर्थ ईश्वरको अनुकम्पा सधैँ रहिरहने र बैसारलाई विष्णुको र सिन्दूरलाई सौभाग्यको प्रतीक मानिएको छ ।

त्यसो त मिथिलाञ्चलमा महिलाले माइतबाट ससुराली, ससुरालीबाट माइती, एक स्थानबाट अर्को स्थान जानेबेलामा पनि खोइँछ भर्ने प्रचलन रहेको पाइन्छ । यो विधि कुलदेवता र देवीको मन्दिरमा गरिन्छ । कुलदेवता र देवीको मन्दिरमा खोइँछ भर्नुको अर्थ कुलदेवता र देवीलाई साक्षी राखी सौभाग्यको आराधना र सङ्कल्प गर्नु हो ।

खोइँछ भर्ने प्रचलन अनादिकालदेखि आइरहेको मानिन्छ । माता सीता र सावित्रीले पनि खोइँछ भर्ने विधि गरेको जनधारणा पाइन्छ । प्राचीनकालमा छोरीलाई घरबाट बिदाइ गर्ने बेलामा आमाले आँचलभर खोइँछ भरी बिदा गरेको र छोरीको घरमा अन्नपूर्णाको बास होस् भनी कामना गरेको प्रसङ्ग पनि जनमानसमा पाइन्छ ।

यसैबीच देवी दुर्गाका नवनिर्मित प्रतिमाहरूमा आँखा उघार्ने विधिसमेत सम्पन्न गरिएको छ । मिथिलामा माटोबाट बनाइएका देवी दुर्गाको प्रतिमाको सप्तमीका दिन आँखा उघार्ने विधि बेलको पातको डाँठबाट गर्ने चलन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार