ताइवानमा रेल दुर्घटना, छानबिनको आदेश

7 Shares

यिलान । ताइवान, ताइवानका राष्ट्रपति चाइ इङ–वेनले आइतबार भएको रेल दुर्घटनाको बारेमा तत्काल छानबिन गर्न आदेश दिनुभएको छ । ताइवानमा विगत २७ वर्षकै सबैभन्दा भयानक मानिएको उक्त रेल दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।

ताइवानको पूर्वी तटीय क्षेत्रमा पुयुमा एक्सप्रेस दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा अरु एकसय ८७ जना घाइते भएका थिए ।

अधिकारीहरुले रेलमा यात्रारत केहीको सनाखत अझै हुन नसकेको बताएका छन् । दुर्घटनास्थलबाट यात्रीको विस्तृत विवरण खोजतलास गर्ने कार्य अझै भइरहेको बताइएको छ ।

दुर्घटनाग्रस्त पुयुमा एक्सप्रेसका डब्बालाई हटाउन ठुल्ठूला क्रेनको प्रयोग गरिएको छ । रेलका सबै आठवटा डब्बा रेलको लिकबाट बाहिर उछिट्टिएका थिए । वर्षाका कारण उद्धार कार्यमा समस्या रहेको रेल अधिकारीहरुले जनाएका छन् ।

उक्त क्षेत्रमा रेलसेवा आंशिक रुपमा शुरु भएको छ । ताइवानका राष्ट्रपतिले सोमबार बिहानै दुर्घटनास्थलको स्थलगत अवलोकन गरेको छ ।

उहाँले दुर्घटनाको कारण तत्काल पत्ता लगाउन आदेश दिइएको संवाददाताहरुलाई बताए ।

स्थानीय टेलिभिजनले प्रसारण गरेको भिडियो फुटेजमा रेल दुर्घटना भएलगत्तै यात्रुहरुले झ्याल फुटाएर बाहिर निस्किएको देखिएको थियो ।

यात्रुहरुले रेल दुर्घटना हुनुअघि जोडले हल्लिएको र तीव्र गतिमा रहेको बताएका छन् । “रेल दुईपटक रोकिएको थियो र त्यसैबेला हामीले रेलमा केही समस्या भएकाले मर्मत आवश्यक छ भनेर जानकारी दिएका थियौं,” एक जना यात्रु चिउले बताए ।

“हामीले रेलको गति अति बढी रहेको अनुभव गरेका थियौं, त्यसपछि ठूलो आवाज आयो र हामी आफ्ना सिटबाट उडेका थियौं,” उहाँले भन्नुभयो । उहाँले त्यसबखत धेरै यात्रु सुतिरहेका थिए ।

यो रेल दुर्घटना सन् १९९१ यताकै सबैभन्दा डरलाग्दो हो । त्यसबखत पश्चिमी ताइवानको मियाओलीमा दुईवटा रेल जुधेर भएको दुर्घटनामा ३० जना यात्रुको मृत्यु हुनुका साथै एकसय १२ जना घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार