राजदूत लक्की शेर्पाः सौभाग्यदेखि दुर्भाग्यसम्म !

श्रीमानले डुबाएका हुन् या आफैं डुबिन् ? किन गरे मानव ओसारपसारको काम ?

2.5k Shares

काठमाडौं । अष्ट्रेलियामा कार्यरत नेपाली राजदूतको नाम हो, लक्की शेर्पा । अंग्रेजीमा ‘लक्की’को अर्थ ‘भाग्यमानी’ हो । तर, राजदूत लक्कीका लागि अहिले दुर्भाग्यका दिन सुरु भएका छन् ।

राजदूत लक्कीले विगतमा नेपालबाटै अष्ट्रेलिया ल्याएका निजी चालकसँग लेनदेन लगायतको विवाद चुलिएपछि राजदूत शेर्पालाई फिर्ता बोलाउन नेपाल सरकारलाई चौतर्फी दबाव बढेको छ । यसैवीच परराष्ट्र मन्त्रालयले यो प्रकरणबारे अष्ट्रेलियास्थित नेपाली दूताबाससँग जवाफ माग्दै पत्राचार गरिसकेको छ । अघिल्लो हप्ता एउटा टेलिभिजन कार्यक्रममा अस्ट्रेलियाबाट टेलिफोनमा प्रस्तुत भएका राजदूतका पूर्वसवारी चालक एवं भान्छे वाङछु शेर्पाले राजदुत लक्की शेर्पा र उनका श्रीमान न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लगाएका छन् ।
आफूसँग करिब ३३ लाख रुपैयाँ लिएर अस्ट्रेलिया ल्याएको र अरु केही मानिसहरुलाई अस्ट्रेलिया ल्याउन पहल गर्ने भन्दै आफूलाई रकम उठाउन परिचालन गरेको आरोप राजदूतका सवारी चालकले लगाएका छन् । पैसा उठाइएका व्यक्तिहरु अस्ट्रेलिया आउन नसकेपछि राजदूत लक्की र उनका श्रीमानले रकम फिर्ता नदिई उल्टै आफू र आफ्नी श्रीमतीलाई फसाइएको वाङछुले आरोप लगाएका छन् ।
अष्ट्रेलिया पठाउने भन्दै पैसा उठाएर फिर्ता नगरेको आरोपमा हाल वाङछुकी श्रीमती काठमाडौंमा जेलमा छिन् । वाङछु भने अष्ट्रेलियाको नेपाली दूताबास छाडेर सिडनीमा बस्दै आएका छन् । वाङछु शेर्पाले आफूलाई दुताबासभित्र श्रम शोषण भएको पनि आरोप लगाएका छन् । उनले आफू अस्ट्रेलियन सरकारको शरणमा गएको बताएका छन् । उनले आफ्नी श्रीमतीलाई नेपालमा रिहाइ गरिदिएर आफू सुरक्षित छु भन्ने प्रत्याभूति दिई आफूमार्फत् लिएको रकम फिर्ता गरेमा आफू स्वदेश र्फकन तयार रहेको पनि बताएका छन् ।
सन् २०१७ को जून ९ तारेखमा लक्की शेर्पासँगै अर्दलीका रुपमा अष्ट्रेलिया आएका वाङछु शेर्पाले करिब ४ महिनासम्म दूताबासमा काम गरे । चार महिनापछि आफू असुरक्षित भएको भन्दै दूताबासबाट बाहिरिएका उनी एक वर्षदेखि अष्ट्रेलियामै शरण लिएर बस्दै आएका छन् । उनीसँग जोडिएको आर्थिक लेनदेन लगायतको विषयमा अहिले नेपाल र अष्ट्रेलिया दुबैतर्फ मुद्दा चलिरहेको छ ।
के भन्छन् वाङछु शेर्पा ?
राजदूतका पूर्वसवारी चालक एवं दूताबासमा भान्छे काम गरेका वाङछु शेर्पाले अष्ट्रेलियाको एमएन टीभीलाई लामो अन्तरवार्ता दिएका छन् । सो अन्तरवार्तामा उल्लेख भएअनुसार वाङछुको भनाइको सार यस्तो छ :
मेरी श्रीमती अहिले काठमाडौंको सेन्ट्रल जेलमा छिन् । हप्तामा एकचोटि उनले मलाई फोन गर्छिन् । बैदेशिक रोजगारीको कागज गर्न लगाएर उनलाई त्यहाँसम्म र्पुयाइएको छ । जेलभित्रको माहोल ठीक छैन । तीन हप्ताजति भो, श्रीमतीले मलाई फोनमा आत्महत्या गर्छु भनिन् । मैले लिएको पैसा फिर्ता गर्छु भनेर सही गरेपछि मेरी श्रीमती जेल परेकी हुन् ।
सन् २०१६ तिर लक्की शेर्पाका श्रीमानसँग सोनामसँग मेरो चिनजान भएको हो । म साङदेन शेर्पाको घरमा रंग लगाउन गएको थिएँ । उनले हातमा सीप भएको मान्छे विदेशमा कमाउन जाँदा राम्रो हुन्छ, मेरो एकजना साथी छ अमेरिका पठाइदिन्छ भनेर उनीसँग चिनजान गराएका हुन् । उनले अमेरिका पठाएको २४ लाख लिन्छन् भने । मैले हुन्छ, अमेरिका जान्छु भनें । यसरी राजदूतका श्रीमानले अमेरिका पठाउने भनेपछि मेरो उनीसँग भेट भयो । उहाँले राष्ट्र संघको कार्यक्रमका लागि मिलाएर जानुपर्छ भन्नुभएको थियो । तर, मेरो अमेरिकाको भिसा लागेन । रिजेक्ट भयो ।
त्यसपछि सोनामले मेरी श्रीमती अष्ट्रेलियाको राजदूत हुँदैछ, तिमीले सँगै गयौ भने अष्ट्रेलियामा ४ वर्ष काम पाउँछौ, पछि १० लाख रुपैयाँ थप्नुपर्छ भने । अमेरिकाको प्रोसेसिङका लागि मैले सुरुमा श्रीमतीको सुन बेचेर २ लाख ५० हजार दिएको थिएँ । सोनाममा भाइ निमा र दाबाले गौशालाको इन्भेस्टमेन बैंकबाट ११ लाख लगे । अहिले उसले तिनीहरु मेरा भाइ होइनन् भन्दैछन् ।
मैले अहिलेसम्म लक्कीको परिवारलाई लगभग ३३ लाख बुझाएको छु । नयाँपाटीको जग्गामा करिब ११ लाख बराबरको खर्च गरेर वाल लगाइदिएको छु । ७ लाख ५० हजार लक्कीकी आमाले लगेकी हुन् । ३३ लाखमध्ये बाँकी रकम लक्कीका श्रीमान सोनामले लगेका हुन् । मैले यो रकम आफन्त र विभिन्न व्यक्तिहरुबाट ऋण लिएर लक्कीको परिवारलाई बुझाएको हुँ ।

लक्की शेर्पाको खण्डन
वाङछु शेर्पाको गम्भीर आरोपको नेपाली दुताबास क्यानबेराले खण्डन गरेको छ । गत बर्ष नोबेम्बरमा दुताबासबाट बाहिरिएका चालक वाङछु शेर्पाले मूल्यवान गहना चोरेर भागेको प्रत्यारोप पनि दुताबासले लगाएको छ । राजदूत शेर्पाले सिड्नीमा प्रत्यक्ष भेटमा र अन्य शहरमा टेलिफोनबाट नेपाली समुदायका नेताहरुसँग आफू निर्दोष भएको स्पष्टीकरण दिएकी छिन । यद्यपि अष्ट्रेलियाको नेपाली समुदायका नेताहरुले भने यो घटनाबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

राजदूत शेर्पाले नेपाली समुदायका विभिन्न व्यक्तिहरुसँग सिड्नीमा पछिल्ला दुई दिन गोप्य तथा बाक्लो भेटघाट गरेकी छिन् । राजदूत शेर्पाले आफूमाथि आफ्ना पूर्वचालक वाङछुले लगाएको आरोप झूठो भएको दाबी गरिन् । राजदूत लक्कीले आफू अष्ट्रेलिया आउनुभन्दा दुईमहिना अघि चप्पल मात्रै लगाएर आफ्नो घरमा आइपुगेका वाङछु शेर्पाकी आमाको आफूले उपचार पनि गरिदिएको बताइन् । राम्रो भान्छे र चालकका रुपमा देखाएको कौशल र इमान्दारिताबाट प्रभावित भएर वाङछुलाई अस्ट्रेलिया ल्याएको लक्कीले सुनाउने गरेकी छिन । तर, वाङछु हेर्दा सोझो तर धोकेबाज रहेछ भन्ने कुरा भागेपछि मात्रै आफूले थाहा पाएको राजदूत शेर्पा बताउँछिन् । तर, टेलिभिजन वार्तामा वाङछुलाई आमाको विषयमा पत्रकारले सोध्दा उनी रोएको दृश्य देख्न सकिन्छ । क्यान्सरबाट पीडित भएर निधन भएकी आमालाई सम्झेर रुँदै वाङछुले भनेका छन्( आमाको विषयमा कुरै नसोध्नोस्, म वौद्ध धर्मावलम्बी हुँ, झूठो बोल्न हुँदैन, मेरी आमाको उपचार त के उनीहरुले आमालाई देखेका पनि थिएनन् ।
कांग्रेस र कम्युनिस्ट दुबै छानबिनको पक्षमा !
राजदूत शेर्पामाथि मानव बेचविखन र श्रम शोषणको आरोप लागेपछि उनीमाथि छानबिन गर्न र उनलाई तत्काल नेपाल फिर्ता बोलाउन दबाव बढेको छ । सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेस दुबै दलका समर्थकहरुले राजदूत शेर्पामाथि छानबिनको माग गरेका छन् । नेपालको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालबाट प्रेस विज्ञप्ति प्रकाशित गरेर ‘विवादित’ राजदूतलाई फिर्ता बोलाउन सरकारलाई दबाव दिएका छन् ।

यसअघि कांग्रेसनिकट अस्ट्रेलियाको जनसम्पर्क समितिका कार्यवाहक सभापति छिरिंग शेर्पाले पनि वक्तव्य प्रकाशित गरी राजदूतलाई फिर्ता बोलाई छानविन गर्न र अस्ट्रेलिया बस्ने नेपालीको कदर गर्न नेपाल सरकारलाई अनुरोध गरेका छन् । तत्कालीन माओवादी पार्टीको कोटाबाट राजदूतमा सिफारिस भएकी शेर्पामाथि गम्भीर आरोप लागिरहँदा अस्ट्रेलियामा क्रियाशील नेपालका सत्तासीन नेपाल कम्युनिस्ट पार्टी निकट संस्था तथा व्यक्तिहरु प्रायः मौन छन् ।
यसैवीच अष्ट्रेलियामा क्रियाशील पूर्वमाओवादी र पूर्वएमाले नजिकका संगठनहरुले बुधबार साँझ एक संयुक्त वक्तव्य प्रकाशित गरेर राजदूत लक्की शेर्पाका बिषयमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । प्रवासी नेपाली मञ्च अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे र नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाका अध्यक्ष माण्डव कार्कीले जारी गरेको वक्तव्यमा विवादास्पद विषयमा निश्पक्ष र वैज्ञानिक छानविन गरी दोषीलाई कानूनबमोजिम कारबाही गर्न भनिएको छ ।
स्रोतका अनुसार राजदूत शेर्पाले विगत दुई वर्षमा आफू सिफारिस भई आएको पार्टी तथा उक्त पार्टीका शुभचिन्तकहरुसँग कहिल्यै पनि निकट सम्बन्ध स्थापित गरिनन् । अस्ट्रेलियामा भएका श्रमजीवी वर्गभन्दा पनि केही मुठ्ठीभर मानिसहरुसँग उठबस गर्नु तथा उनीहरुकै रोडम्याप र स्वार्थमा परिचालित भएबाट अष्ट्रेलियामा रहेका वाम समर्थकहरु नेपालीहरु पनि राजदूत शेर्पाको पक्षमा खुलेर बोलेका छैनन् ।
लक्कीलाई अहिले भाग्यले साथ दिएन
लक्की शेर्पा संखुवासभाका शेर्पा समुदायका पहिला प्राध्यापक श्यामसुन्दर शेर्पाकी छोरी हुन् । धरानमा जन्मिएकी ४३ वर्षीया लक्कीले त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी छिन् । उनी विद्यार्थी कालमा पढाइमा तेज मानिन्थिन् । लक्की सुरुमा एमाले नेतृ थिइन्, पछि माओवादीमा प्रवेश गरिन् र माओवादीकै कोटाबाट अष्ट्रेलियाको राजदूत बनिन् । लक्कीको माइतीतर्फको परिवार वौद्धिक मानिन्छ । श्यामसुन्दरका दुई छोरीहरु छन् । तीमध्ये लक्की जेठी हुन् । कान्छी बहिनी पनि अष्ट्रेलियामा लामो समय बसेकी छिन् । श्यामसुन्दरले काठमाडौंको वानेश्वरमा घर बनाएका छन् । उनीहरुको आर्थिक र सामाजिक स्टाटस दुबै राम्रो छ ।

०६४ सालमा एमालेबाट समानुपातिक सभासद बन्नुपूर्वसम्म उनी एमालेको संगठित सदस्य थिइनन् । उनले आदिवासी जनजाति महासंघको पदाधिकारी भएर काम गरेकी थिइन् । पहिलो संविधानसभाका आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा र सचिव लक्की शेर्पा दुबै एउटै समुदायबाट एमालेका सभासद बनेका थिए । पहिलो संविधानसभापछि लक्की शेर्पाले रामचन्द्र झासँगै एमाले छाडेर माओवादीको टीका लगाएकी थिइन् । दोस्रो संविधानसभामा माओवादीको सीट कम आएकाले लक्की सभासद बन्न पाइनन् । तर, प्रचण्डले उनलाई अष्ट्रेलियाको राजदूत बनाए । लक्कीलाई राजदूत बनाउँदा माओवादीका पुराना नेता कार्यकर्ताहरुले असन्तुष्टि समेत जनाएका थिए । राजनीतिमा आउनुअघि लक्की एबीसी नेपाल नामक गैरसरकारी संस्थामा आवद्ध थिइन् । उनले वातावरणका क्षेत्रमा समेत काम गरेको अनुभव संगालेकी छिन् । देश, विदेशको प्रमण गरेकी छिन् । अवार्डहरु थापेकी छिन् । लक्कीले सामाजिक एवं राजनीतिक जीवनमा क्रियाशील रहेर छवि राम्रो बनाएता पनि उनका श्रीमानले भने अमेरिका मान्छे पठाइदिने भन्दै विगतमा रकम उठाउने गरेको र सोही प्रकरण अहिले वाङछुसम्म आइपुगेको संकेत वाङछुको वयानले गरेको छ ।
यसरी मानिसहरुलाई विदेश पठाउने भन्दै पैसा उठाउने कार्यमा राजदूतका श्रीमानमात्रै संलग्न थिए वा यसमा श्रीमतीको पनि साथ थियो ? योचाहिँ अनुसन्धान हुनै बाँकी छ । सवारी चालक वाङछुले लक्की शेर्पा र उनको परिवारमाथि लगाएको आरोप पुष्टि हुन बाँकी छ । शायद यसबारे अब नेपाल सरकारले अनुसन्धान गर्ला । लक्कीको नाम अनुसार नै अहिलेसम्म उनलाई सामाजिक, राजनीतिक र कूटनीतिक सबै क्षेत्रमा भाइगले साथ दिएको थियो । अब उनको जीवनमा दुर्भाग्य आइलागेको छ । लक्कीका श्रीमान् सोलुखुम्बुका हुन् । उनी लामो समय अमेरिका बसेर नेपाल फर्किएका हुन् । विगतमा उनी शेर्पा संघको महासचिवसम्म बनेका थिए । लक्कीसँग उनको प्रेम विवाह नभएर मागी विवाह भएको हो । एकेडेमिक अध्ययन र क्षमताका हिसाबले उनी श्रीमती लक्कीभन्दा पछाडि नै छन् । आफू लामो समय अमेरिका बसेको हुनाले नेपालमा कतिपयलाई अमेरिका लैजाने आश्वासन उनले दिने गरेको हुनसक्ने सूत्रहरुको दाबी छ ।
अनलाईनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार