रोल्पाको पहिलो पाइलट शिव डाँगी, जसले उडाउँछन् बुद्ध एयरको जहाज

112 Shares

रोल्पा । घरको आर्थिक अवस्था त्यति सहज थिएन । बुबा नेपाली सेनाको हवल्दारबाट निवृत्त भएर गाउँमै खेती किसानी गर्थे । पढाइमा सानैदेखि अवल रहेका उनले जिल्लाकै पहिलो पाइलट बन्ने लक्ष्यका साथ विद्यालयमा कडा मेहेनत गरी अध्ययन गर्ने गर्थे ।
साथीभाइ कोही डाक्टर, कोही इञ्जिनीयर, कोही वकिल, कोही शिक्षक बन्ने कुरा गर्थे तर उनी भने पाइलट बन्ने सपना बुनें । कतिपय साथीले उनको कुरा सुनेर खिल्ली उडाउँथे । जसले जस्तो व्यवहार गरे पनि उनी विचलित भएनन् । निरन्तर आफ्नो लक्ष्य चुम्न कडा मेहेनत गरिरहें । उनी हुन्, शिव डाँगी । रोल्पाकै पहिलो पाइलट । रोल्पा नगरपालिका–२ थलिवाङमा बुबा प्रेमबहादुर डाँगी र आमा शोभा डाँगीबाट २७ वर्षअघि जन्मिएका शिव डाँगी अचेल बुद्ध एयरको पाइलट बनेर नेपाली र भारतीय आकाशमा दिनहुँ जहाज उडाइरहन्छन् ।
कक्षा १० सम्म रोल्पाको तुलसी आवासीय माविमा अध्ययन गरेका उनले उच्च माविस्तरको पढाइ भने काठमाडौबाट पूरा गरे । फिलिपिन्सको मनिलामा सन् २०११ देखि फास्ट एडिएसन एकेडेमीमा पाइलट कोर्ष शुरु गरेका उनले त्यसअघि पनि सोही स्थानमा रहेको एक विद्यालयमा अध्ययन आरम्भ गरेका थिए । झण्डै ३२ लाख खर्च गरेका उनले सो विद्यालय नै बन्द भएपछि केही समय पढाइ रोक्न बाध्य भए । लक्ष्य चुम्ने धोकोका कारण उनी फेरि पाइलट पढाउने अर्को कलेजको खोजी गर्दै जाँदा फास्ट एडिएसन एकेडेमीमा पुगे जहाँबाट उनले पाइलट कोर्ष पूरा गरे ।

फिलिपिन्समा लगातार आठ वर्ष अध्ययन गरेका उनले पढाइ सकेर त्यही जहाज चलाउन शुरु गरे । मातृभूमिको सेवा गर्ने सोचले गत कात्तिकमा नेपाल आएका उनले त्यसयता बुद्ध एयरको जहाज चलाइरहेका छन् । नेपाल तथा भारतका विभिन्न भागमा जहाज चलाउने गरेका उनले लक्ष्य लिएर अगाडि बढे असफल भइँदैन भन्ने पाठ सिकेको बताउनुभयो । नेपाली सेनाबाट निवृत्त बुबा प्रेमबहादुर डाँगीको पेन्सनबाट प्राप्त हुने मासिक १६ हजारले घर खर्च ठिक्क हुन्थ्यो । कक्षा १२ सम्मको अध्ययन छात्रवृत्तिमा गरे पनि फिलिपिन्सको पढाइमा धेरै खर्च लागेको उनको परिवारले जनाएको छ । आमाले रातदिन पसिना बगाएर तरकारी बिक्री गर्थिन् । मासिक ५० हजार बढी तरकारीबाट आम्दानी हुन्थ्यो । छोरा पढाउने आधार नै तरकारी खेती हो, शिवको आमा शोभाले भनिन् ।
छोरो पढाइमा निकै तेज थियो । कुनै कक्षामा पनि दोस्रो भएन शोभाले भनिन् । शुरु शुरुमा छिमेकीले छोरा पाइलट बन्ने कुरामा खिसीट्युउरी गर्थे शोभाले भनिन् । तरकारी बिक्री गरेको पैसाका साथै जग्गासमेत बिक्री गरेर छोरालाई पाइलट बनाएरै छाडँे उनी भनिन् । बैंकबाट ऋण लिएको बाँकी पैसा अहिले छोराले तिरिरहेको छ, शोभाले भनिन् । पुरै कोर्ष पूरा गर्दा रु एक करोड जति खर्च लागेको आमा शोभाले भनिन् । कान्छो छोरा कृष्ण डाँगीले समेत काठमाडाँैमा इञ्जिनीयर पढिरहेका छन् । एक छोरा पाइलट र अर्को छोरा इञ्जिनीयर पढाउने मुख्य आधार तरकारी खेती भएको शोभाको भनाइ छ । तरकारी खेतीबाटै छोरालाई पाइलट, इञ्जिनियर बनाउन सकेकोमा गर्व लाग्छ उनी भनिन् ।
रोल्पा जस्तो दुर्गम जिल्लामा अध्ययन गरेका शिव अहिले रोल्पाकै पहिलो पाइलट बनेर आकाशमा उडिरहेका छन् । मध्यमवर्गीय परिवारमा जन्मेका शिवको सानैदेखि लिएको अविचलित लक्ष्यका कारण सफल भएका छन् । आम्दानीको कुनै भरपर्दो स्रोत नभएको उनको परिवारले तरकारी खेतीबाट आएको आम्दानीबाटै उनलाई पाइलट बनाउन सफल भयो । अहिले शिव डाँगी रोल्पाका एक मात्र पाइलट भनेर हाइहाई भएका छन । उनलाई पढाउने विद्यालय तुलसी आवासीय माविले समेत शिव डाँगीको नाम बारम्वार लिने गर्दछ । दश वर्षे सशस्त्र युद्धबाट देशमै सबभन्दा बढी प्रभावित रोल्पाका अधिकांश युवा पढ्दापढ्दै रोजगारीका लागि खाडी मुलुक जान बाध्य छन् । पढेर देशमै स्वरोजगार बन्ने थोरै युवाको पङ्क्तिमा उभिन सफल भएका छन् शिव डाँगी । जिल्लामा झण्डै ४५ हजार युवा खाडी मुलुकमा रहेको बताइन्छ । जिल्ला प्रशासन कार्यालयको अभिलेखअनुसार दैनिक १६ जना युवाले विदेश जान राहादानी लिने गर्दछन् । दुई लाख २४ हजार ५०६ जनसङ्ख्या रहेको रोल्पामा जनजातिको बाहुल्यता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार