‘नाछिरिङ भाषा, सँस्कार र सँस्कृति संरक्षणका लागि सोलु काठमाडौं रिदुम मिन्ताम समाज’ : अध्यक्ष नाछिरिङ

Facebook Debugger

सोलु काठमाडौं रिदुम मिन्ताम समाज नाछिरिङहरुको लागि आवश्यकीय संस्था हो । झनै सोलुखुम्बुबाट काठमाडौं आएर बसोबास गर्ने नाछिरिङहरुको लागि आश्रयस्थल नै हो भन्न दुईमत नहोला । समाजले नाछिरिङको भाषा, धर्म, सँस्कार, सँस्कृति र परम्परागत मूल्य एवं मान्यतालाई संरक्षण तथा संवद्र्धन गर्दै भाविपुस्तालाई नाछिरिङ जातिको सुनौलो भविष्य निर्माणको लागि विभिन्न कामहरु पनि गरिरहेको छ । समाज गठन गर्नुको आवश्यकता, काम र लक्ष्यको बारेमा सोलु काठमाडौं रिदुम मिन्ताम समाजको अधयक्ष भिमराज नाछिरिङ राईसँग सगरमाथा अनलाईनका प्रधान सम्पादक बुद्धवीर बाहिङले गरेको कुराकानीको संम्पादित अंश ।
सोलु काठमाडौं रिदुम मिन्ताम समाजको आवश्यकता किन भयो ?
जब काठमाडौं आइसकेपछि हाम्रो नाछिरिङ समुदायको मान्छेहरु मर्दा त्यस्तो कुनै औपचारिकता नै नपु¥याकन बनकालीमा ल्याएर गाडिने । कुनै किसिमको मुन्दुम नभएको, कोहि मान्छे नै नभए जस्तो गरेर ल्याएर कुकुर, बिरालो गाडे जस्तो गाडेर फर्किनु पर्ने अवस्था देखे र यो त भएन भन्ने मनमा लाग्यो । त्यो बेलामा संघ संस्था छ, की छैन, भनेर खोज्दा किरात रदु नाछिरिङ साखाम भन्ने हाम्रो नाछिरिङहरुको संस्था रहेछ । केन्द्रीय संस्था हो । त्यसले सबै ठाउँको, विश्वभरी रहेका नाछिरिङहरुको संगठन हो भन्ने गर्दथे । तर, त्यो एकदमै निष्क्रिय । नाम निशाना नै नभएको जस्तो । कहिल्यै बैठक पनि नराख्ने, कुनै कार्यक्रम पनि नगर्ने । मैले धेरै प्रयास गरे उनीहरुसँग, गृहबहादुर राई, खोटाङका अध्यक्ष हुनुहुदो रहेछ, तर उनी गाउँमै व्यस्त ।

त्यस्तो अवस्था देखिसकेपछि मैले नाछिरिङ समुदायलाई केहि गर्नु पर्छ भन्ने मनमा लाग्यो । तर, म त जागिरे । मैले धेरै खट्नु नसक्ने भएको कारणले गर्दाखेरी सोलुबाट काठमाडौंमा आएर बसोबास गरिरहेका नाछिरिङहरुको मात्रै भए पनि एउटा संस्था बनाउ, जसले कमसेकम जन्मदादेखिको र मृत्युसम्मको संस्कारलाई कसरी लागू गर्न सकिन्छ । अब गाउँमा जक्तिको त सम्भव नै छैन । तैपनि कमसेकम त्यो लगेर खाल्टोमा गाडिराखेर कुनै केहि नाछिरिङको मुन्दुम अनुसारको कुनै संस्कार नै नगरिकन गाड्ने स्थितिलाई अन्त्य गर्नुपर्छ । सोलुबाट आउनेहरु के कति समस्यामा पर्छन्, के हुन्छ ? त्यस्तोलाई हामीले केहि हेर्ने सहयोग गर्ने भन्ने हिसाब किताबले सोलुबाट काठमाडौं आएर अस्थायी वा स्थायी रुपमा बसोबास गर्नेको एउटा संस्था बनाउ भनेर मेरै पहलमा संस्था गठन गरियो । यो कुरा अझ मलाई मेरो आफ्नोभन्दा पनि मेरो श्रीमतीले लौ बुढा हाम्रो त केहि छैन, संस्था पनि छैन, केहि पनि छैन, मर्दाखेरी कोहि मान्छे जम्मा पनि हुँदैनन् ? दुई चार जना मान्छे जम्मा हुन्छन् ? भनेर भनिन्, मलाई पनि त्यो कुराले भित्रि आत्मामै छोयो । अनि मैले महशुस गरे । त्यसपछि साथीहरुसँग सरसल्लाह गरी हामीले संस्थाको स्थापना गरेका हौं । मेरै अध्यक्षतामा तर्दथ समिति २०७० साल माघमा गठन गरियो । अनि २०७१ वैशाखमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरियो । समाजकल्याण परिषदमा पनि दर्ता गरियो ।
पहिलो कार्यकाल सफलतापूर्वक सकिएपछि मैले भने जागिरे मान्छे अलि विश्राम लिन्छु, तपाईहरुलाई म पछाडिबाट सहयोग गर्छु । तपाईहरु नेतृत्व लिनुस भन्नदाखेरी साथीभाईले होइन तपाई हुँनै पर्छ । बरु हामी काम गर्छौं ? तपाईको नेतृत्व हामीलाई चाहिन्छ भने । समुदायको हितको कुरामा, सामाजिक कुरामा मेरो सोच त झन समाजमा सामाजिक कार्यहरु गर्नुपर्छ । सहयोग गर्नुपर्छ भन्ने भावना भएको मान्छे, नाई भन्न सकिन । त्यसपछि संस्था दर्ता गरियो । र अहिलेसम्म क्रियाशील रुपमा सामुदायिक कामहरु गरिरहेका छौं ।
अहिले संस्थाले कस्तो काम गरिरहेको छ समुदायमा ?
काठमाडौं उपत्यकाभित्र मर्दापर्दा भेला भएर सहयोग गर्ने । नाछिरिङहरुको पुर्खामा भएको भाषा, मुन्दुम र सँस्कृति व्यवस्थित गर्दै संरक्षण गर्ने । नाछिरिङ समुदायका असाहयहरुको मृत्युमा आर्थिक सहयोग गर्ने । गाउँबाट काठमाडौं उपचार गर्न आउने नाछिरिङ समुदायका गरीबलाई संस्थाको पहलमा आर्थिक संकलन गरेर सहयोग गर्ने कामहरु गरिरहेका छौं ।
जातिय संस्थामा काम गर्दा अप्ठ्याराहरु के के छन् ?
सामाजिक रुपमा भन्नु पर्दाखेरी जातिय संस्था भन्दा पनि यो पहिचानका लागि हो । नेपालमा हामी नाछिरिङहरु पनि नेपाली छौं, है भन्नका लागि हामी एक जुट भएका हौं । हामीलाई मात्र होइन अन्य धेरै जातिका संस्थाहरुलाई जातिको कुरा गर्यो भनेर अन्य गैरकिरातीहरुले संस्थालाई विभिन्न आरोप लगाएका छन् । हामी के भन्न चाहन्छौं भने जातिय सदभाव विथोल्न खोलिएको संस्था होइन । नेपालको संविधानले व्यवस्था गरेको अधिकारलाई प्रयोग गरेको मात्रै हो । यो जातिय संस्था भन्दा पनि पहिचानका लागि खोलिएको हो ।
हामीलाई लगाइएको जातिय आरोप मेट्न शुरुका दिनमा धेरै अप्ठ्यारो भयो । तर, पछि संस्थाको काम गर्दै जाँदा विशुद्ध संस्कार, सँस्कृतिलाई जोगाउने काम मात्र भएकाले गैर आदिवासी समुदायका मानिसले लगाएको आरोप चिर्न सफल भयौं । अहिले हामी हाम्रो कार्यक्रममा गैर किरात समुदायका मानिसहरुलाई बोलाएर हाम्रो कुरा उहाँहरुलाई सुनाउने उहाँहरुको कुरा हामीले सुन्ने गरेपछि पहिलेको जस्तो बुझाई हाम्रो संस्थाको हटेको छ ।
पछिल्लो समय विभिन्न जातिय संस्थाले उठाएको सूचीकरणको विषयमा तपाईहरुको संस्थागत धारणा के छ ?
नाछिरिङहरु सूचीकरण हुनु पर्छ भनेर हामी लामो समयदेखि सरकार समक्ष माग गर्दै आएका छौं । तर, अझै राज्यले हामीलाई पहिचान दिएको छैन । उसो भए के हामी नेपाली नै होइनौं त ? नेपाली होइनौं भन्दा पनि हामी सबै नाछिरिङसँग नेपाली नागरिकता छ । नागरिक भैसकेपछि हाम्रो पहिचान पनि त राज्यले दिनु पर्यो नी ? होइन । सूचीकरणको विषयमा किरात राई योयोक्खाले जुन भूमिका खेल्नु पर्ने हो त्यो खेल्न सकेन उल्टै हामीलाई राईकरण गरेर हाम्रा यी अमूल्य भाषा, सँस्कार, सँस्कृति र परम्परागत मूल्य मान्यतालाई मेटाउने काम गरेको छ । त्यसैले नाछिरिङलाई मात्र होइन नेपालमा बसोबास गर्ने किराती समुदायका २८ जातिलाई यायोक्खाले सूचीकरण हुन पहल गर्नुको सट्टा अवरोध गरेको छ ।
यायोक्खाले कसरी गर्यो सूचीकरणमा अवरोध ?
तत्कालिन समयमा तत्कालिन राजाले पनि किरात राई यायोक्खालाई नै मान्यता दियो । गैर किरातलाई त्यो भन्दा ठूलो कुरा अरु चाहिएको थिएन । किराती समुदायका हरेक कुराहरुको यायोक्खाबाट नै सिफारिस गराउने मान्यता दियो । जसलाई हामीले सिन्डिकेटको संज्ञा दिएका छौं । तपाईले मलाई देखाइदिनुस त कुलुङ, थुलुङ, नाछिरिङ, बाहिङ, जेरो, खालिङ लगायत अन्य किराती समुदायको भाषा, सँस्कार र सँस्कृतिको उत्थानको लागि यायोक्खाले के गर्यो ? मलाई त केहि गरेको जस्तो लाग्दैन ? यदि सम्पूर्ण किरातीहरुको लागि यायोक्खाले काम गर्नु पर्ने हो नी ? यायोक्खाकै शब्दमा भन्दा अधिकार चाँहि सबै राईहरुको ठेक्का लिने, तर, ती किराती समुदायलाई माथि ल्याउनको लागि व्यवहारिक रुपमा देखिने खालको केहि काम नगर्ने ? मुख्य कुरा त के हो भने यदि यायोक्खाले किराती समुदायका सबै जातजातिलाई माथि उकास्नको लागि समान रुपमा व्यवहार गरेको भए के आज नाछिरिङले संस्था खोल्न आवश्यक थियो ? बाहिङ, कुलुङ, थुलुङ र खालिङ लगायत अन्य किरातीहरुले संस्था खोल्न आवश्यक थियो ?
तपाईहरु नाछिरिङ मात्रै लेख्नु पर्छ, हाम्रो छुट्टै पहिचान हुनुपर्छ भन्ने हो की राई भए पनि ठीकै छ भन्ने हो ? के छ संस्थागत धारणा ?
तपाईले समय सान्दर्भिक प्रश्न गर्नुभयो यस बारेमा हाम्रो संस्थागत धारणा के छ, भने हामी नाछिरिङनै लेख्ने हाम्रो संस्थागत धारणा छ । किन भने हाम्रो भाषा, संस्कार, सँस्कृति, परम्परागत मूल्य मान्यता, लिखित तथा अलिखित इतिहास छ । अनि हामीले किन राई लेख्ने ? राईको भाषा खोइ कहाँ छ ? राईको भाषा अहिलेसम्म क–कसले बोलेका छन् ? किरात राई यायोक्खाले राई भाषामा कहिल्यै बोलेको छ ? यायोक्खाले विभिन्न कार्यक्रम गर्छ किन राई भाषा नबोलेर नेपाली भाषा बोल्छन त ? त्यसैले राईको कुनै भाषा, धर्म, सँस्कार, सँस्कृति छैन । त्यहि भएकाले हामी आफ्नै पहिचान भएको नाछिरिङ जाति लेख्ने पक्षमा छौं र लेखिरहेका पनि छौं ।

संस्थाको आगामी भावी योजनाहरु के के बनाउनु भएको छ ?
रिदुम मिन्ताम नाछिरिम समाजको कमसेकम काठमाडौंमा ‘रिदुमखिम’ निर्माण गर्ने लक्ष्य छ । त्यो ‘रिदुमखिम’भित्र नाछिरिङहरुको विभिन्न सँस्कार र कामकाज गर्न सजिलो हुने भएकाले हामीले भावि योजनामा ‘रिदुमखिम’ निर्माणको लक्ष्य राखेका हौं । यदि ‘रिदुमखिम’ भयो भने नाछिरिङहरुको विवाह, मृत्यु लगायत अन्य सँस्कार गर्न सजिलो हुन्छ । काठमाडौंमा रहेका नाछिरिङहरु पनि जुट्न सजिलो हुन्छ । अर्को कुरा काठमाडौंमा मर्दापर्दा नाछिरिङ सँस्कार अनुसार कार्य गर्न गाह्रो हुने हुनाले काठमाडौंमा बसोबास गर्ने इच्छुकलाई गाउँमा पठाएर नाछिरिङ मुन्दुमको बारेमा प्रशिक्षण गराउने । हाम्रो सँस्कारलाई शहरमा बसेर पनि मुन्दुम अनुसार नै साँस्कृति कार्य गर्न हामीले प्रशिक्षण गराउने पनि सोच बनाएका छौं ।
गैर नाछिरिङ र नाछिरिङ समुदायलाई के भन्नुहुन्छ ?
गैर नाछिरिङ समुदायका कुलुङ, थुलुङ, खालिङ लगायत अन्य जातिहरुलाई हामी सकेसम्म हातेमालो गरेर जाऔं । धेरै कुराहरु हाम्रो साझा मुद्धा छन् । साझा मुद्धाहरुमा हातेमालो गरेर जानुपर्छ, जाऔं । अनि नाछिरिङ समुदायलाई सोलुबाट काठमाडौं आएर बस्नुहुने नाछिरिङहरुलाई सोलु काठमाडौं रिदुम मिन्ताम नाछिरिङ समाजमा आबद्ध भई आफूले सकेको सहयोग गरौं भन्ने आग्रह गर्न चाहन्छु । साथै गैरकिराती जातिका समुदायलाई हाम्रो संस्थालाई शंकाको रुपमा नहेरिदिनुस । किन भने हामी हाम्रो पहिचान, भाषा, धर्म, सँस्कार र सँस्कृतिको संरक्षण एवं संबद्र्धन गर्नका लागि मात्र संस्थाको स्थापना गरिएको हो ।

Published On:  565पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार