खोटाङमा गिट्टी कुटेर वार्षिक ५ लाख कमाई

168 Shares

खोटाङ । “घरको काम गरेर बचेको समय सदुपयोग गर्दा पनि दैनिक हजार रुपैया कमाइ हुन्छ ।” उनले भने, “मेरो जेठा छोरा विदेशमा छ, उसले भन्दा बढी मैले कमाउने रहेछु ।” पाँच वर्षदेखि गिट्टी कुट्दै आएकी खोटाङ खाल्लेकी ४७ वर्षीया पूर्णमाया बस्नेतको भनाइ हो यो । दिनभर गिट्टी कुट्नमै व्यस्त रहनुहुने खाल्लेकी पूर्णमायाको तीन छोरी र दुई छोरा छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ स्थित दिक्तेल-खानीडाँडा सडक आसपासमा गिट्टी कुटिरहेको भेटिनुहुने पूर्णमायाँलाई उनको ५१ वर्षीय श्रीमान टेकबहादुर खड्काले सघाउँदै आएका छन् । खड्का दम्पतीले गिट्टी कुटेरै वार्षिक पाँच लाखसम्म कमाउने बताउछन् ।
कमाएको पैसा छोराछोरीको पढाइ तथा माछा मासु खाएको खर्च कटाएर बचतसमेत गर्ने गर्दछन् । खड्का दम्पतीसँगै उक्त क्षेत्रमा ६०/७० अन्य महिला दिनहुँ गिट्टी कुटिरहेका भेटिन्छन् । सबैको कमाइ राम्रै हुने गरेको पाइएको छ । ओखलढुङ्गाकी निर्मण थापा दूधे बालक च्यापेर सोही ठाउँमा दिनहुँ गिट्टी कुट्छन् । उनि भन्छन्, “बच्चाको हेरचाह गर्दै काम गर्दा पनि दैनिक एक हजार कमाइ हुन्छ ।” कम्तीमा चार दिन गिट्टी कुट्दा एक ट्र्याक्टर तयार हुन्छ । एक ट्र्याक्टरलाई ठेकेदारले चार हजार दिन्छन् । आफ्नो जग्गामा खानी भएकाले ढुङ्गाको समेत दुई हजार जोडेर लिन्छन् । तयार भएको गिट्टी खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा खपत हुन्छ । दिक्तेल बजारमा धमाधम पक्की घर तथा सरकारी भवन निर्माण भइरहेकाले उनीहरुले तयार पारेको गिट्टीले राम्रो मूल्य पाएको छ ।
हेर्दा गिट्टी उत्पादन गर्ने उद्योगजस्तै देखिने उक्त क्षेत्रमा छिटफुटबाहेक अधिकांश सोही गाउँका महिलाले काम गर्ने गरेका छन् । दिनभर सरकारी कार्यालय तथा अन्य काममा व्यस्त रहने पुरुषले बिहान/बेलुका उनीहरुका लागि खानीबाट ढुङ्गा निकाली दिने गरेका छन् । गिट्टी कुटेर कमाएको पैसा विशेषगरी छोराछोरीको पढाइमा लगानी गर्ने गरेको वडाध्यक्ष डिल्लीकुमार राईले बताए । “गिट्टी कुट्ने अधिकांश महिलाको श्रीमान् विदेशमा छन् ।” उनले भने, “उनीहरुले कमाएको पैसा घर खर्च गर्छन् र श्रीमान्ले कमाएको पैसा बचत गर्छन् ।” गिट्टी कुट्ने महिला सबैको घर जस्ताले छाएको छ । कतिपयले अन्यत्र घरघडेरीसमेत जोडेको स्थानीयवासी बताउँछन् ।
गिट्टी कुट्ने महिला आफूले गरेको कामप्रति गर्व गर्छन् । उनीहरु लजाउँदैनन् । एक महिलाले भनिन्, “आफ्नो खाएर काम गर्नु के को लजाउनु ! आफू त सानैदेखि दुःख गरेको मान्छे । समयको सदुपयोग पनि हुने कमाइ पनि हुने । अरुको चोर्नु, अरुलाई ढाट्न पो लजाउनु पर्छ ।” धन कमाउन विदेश नै जानुपर्छ भन्ने सोच बनाएकाका लागि खाल्लेका ती महिला उदाहरणीय बनेका छन् । उनीहरुले बिना लगानी विदेशमा १२ घण्टा खट्ने कतिपय पुरुषले भन्दा बढी आम्दानी गर्दै आएका छन् । खाल्लेमा उत्पादन हुने गिट्टी अन्य ठाउँको भन्दा गुणस्तरीय भएकाले पनि अधिक मात्रामा खपत हुने गरेको प्राविधिको ठहर छ । मझुवागढीभन्दा केही तल्लो भागमा पर्ने खाल्लेमा ढुङ्गैढुङ्गा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार